विराटनगरमा गठबन्धनका सबै दल असफल

मेयर जितेपनि काँग्रेसलाई वडामा धक्का, एमालेको प्रगति, माओवादी र जसपा कमजोर

विराटनगर । विराटनगरको अन्तिम मतपरिणाम आइसकेको छ । मतपरिणामको अवस्था गठबन्धन असफल मात्र भएको छैन, गठबन्धनमा आबद्ध सबै दलहरुको उपस्थिति कमजोर बनेको छ ।

विराटनगरको नेपाली कांग्रेसले एक्लै लड्ने भनेर घोषणा गरिरहँदा महानगरपालिकामा केन्द्रबाटै गठबन्धन गर्ने नेताहरुले सहमति गरेका थिए । तर, सहमति अनुसार गठबन्धनको मेयर काँग्रेसले जित्दा उपमेयर हारेको छ भने गठबन्धनका दलहरुले विगतमा जितेका वडाहरु पनि गुमाएका छन् ।

प्रमुख पदमा गठबन्धन दलको तर्फबाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका नागेश कोइरालाले प्रतिस्पर्धी एमालेका सागर थापाभन्दा ८ हजार ७१५ मतको फराकिलो अन्तरले पराजित गर्दा गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका जसपाका अमरेन्द्र यादव भने एमालेकी शिल्पा कार्कीसँग ११ हजार ४६१ मतको फराकिलो अन्तरले पराजित भए ।

गठबन्धनका मेयर कोइरालाले ३० हजार १७० मत प्राप्त उपमेयर यादवले भने आधाभन्दा कम अर्थात १४ हजार २१९ मत मात्र प्राप्त गरे । मेयरमा एमालेका उम्मेदवार थापाले २१ हजार ४५५ मत प्राप्त गर्दा उपप्रमुखमा कार्कीले २५ हजार ६८० मत पाइन् ।

गठबन्धन दलहरुले वडामा तालमेल गर्न नसक्दा प्रमुख र उपप्रमुखमा बागी उम्मेद्वारको सामना गर्नुपर्यो । वडामा तालमेल नभएकोले यसअघि वडामा उल्लेख्य सिट जितेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी आधाभन्दा कम सिटमा खुम्चिनुपर्यो । यसअघि ७ वडा जितेको काँग्रेसले ६ वडा मात्र जितेको छ भने ६ वटा जितेको जसपाले ३ वडा जित्दा १ वडा जितेको माओवादी शुन्य बनेको छ । यसअघि ३ मात्र वडा जितेको एमालेले उपमेयरसहित ९ वडा जितेको छ ।

एमालेले १, २, ३, ४, ८, १०, ११, १४ र १९ नम्बर वडामा वडाध्यक्ष जितेको छ । नेपाली काङ्ग्रेसले ५, ६, ७, ९, १५ र १६ जितेको छ भने महानगरको वडा नम्बर १२ र १७ मा जसपा, १३ मा राप्रपा र १८ मा स्वतन्त्रका वडाध्यक्षले जितेका छन् ।

२०७४ को निर्वाचनमा विराटनगरमा काँग्रेसले एक्लै मेयर र उपमेयरसहित ७ वटा वडा जितेको थियो । त्यसबेला काँग्रेसले १, ३, ४, ७, ८, ९ र १६ नम्बर वडा जितेको थियो । एमालेले ३ वटा मात्र २, ५ र ११ नम्बर वडा जितेको थियो भने १२, १३, १४, १५, १७ र १८ गरि ६ वटा वडा जसपाले जित्दा माओवादी केन्द्रले ६ नम्बर वडा तथा स्वतन्त्रले १९ र १० नम्बर वडा जितेको थियो ।

महानगरको मेयर जितेका कोइराला गठबन्धनलाई जनताले म्यान्डेट नदिएको बताउँछन् । ‘गठबन्धन पार्टीको बीचमा भएको हो । जनताको बीचमा गठबन्धन भएको थिएन’, उनले भने, ‘हाम्रोतर्फबाट छलकपट नभएपनि जनताले व्यक्ति वा पार्टी रुचाएनन ।’ उनले यस्तो दावी गरिरहँदा वडामा काँग्रेस पराजित हुनुको कारणको जवाफ भने उनसँग छैन ।

जनता समाजवादी पार्टीका नेता जयराम यादव भने गठबन्धनमा आबद्ध दलहरु नै इमान्दार नभएको आरोप लगाउँछन् । माओवादी केन्द्रले नमिता न्यौपानेलाई आन्तरिक सहमति दिएर उठाएको र कांग्रेसले पनि गठबन्धनका उपमेयरको उम्मेद्वारलाई भोट नमागेको कारण गठबन्धन सफल नभएको उनको तर्क छ । ‘दक्षिणी बेल्टबाट जति हामीले मेयरमा मद्दत गर्यौं, माथिल्लो बेल्टबाट उपमेयरमा धेरै मतदान गरेको देखिएन’ उनले भने, ‘कट्टरपन्थी कांग्रसीहरुले छाता चिन्हलाई साम्प्रदायीक हिसाबले लिएर उम्मेदवार नै नभएको रुखमै भोट हाले ।’

माओवादी केन्द्र विराटनगरका सहइन्चार्ज भोगेन्द्र यादव भने आफूहरुले आफ्ना समर्थकलाई गठबन्धनबारे जानकारी दिएपनि अन्तै बुद्धि लगाएको बताउँछन् । ‘हामीले गठबन्धन भएअनुसार मत हाल्नु भनेका थियौं । जनताले आफ्नो बुद्धि लगाए होला,’ उनले भने ।

जेष्ठ ८, २०७९, बिहानको ११:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर