विराटनगरमा नागेश र शिल्पाको विजय निश्चित

विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्धन तर्फका मेयरका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्की विजयी हुने निश्चित भएको छ ।

महानगरमा खसेको ८९ हजार ६८९ मतमध्ये अब गन्न बाँकी मतभन्दा धेरैको अग्रता दुबै उम्मेदवारले कायम गरिसकेकोले उनीहरुको जित निश्चित भएको हो ।

अबको गणना उनीहरुको मतान्तर कति कायम हुने भन्ने यकिन गर्नको लागि हुनेछ । कुल ७ हजार १६२ मत गणना हुन बाँकी रहँदा मेयरका उम्मेदवार कोइरालाले ७ हजार १८५ मतको अग्रता कायम गरेका छन् । उनले २७ हजार २६४ मत प्राप्त गर्दा एमालेका सागर थापाले २० हजार ७९ मत मात्र प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा एमालेकी कार्कीको मतान्तर १० हजार ३७९ रहेको छ । उनले २३ हजार ६३१ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका अमरेन्द्र यादवले १३ हजार २४३ मत प्राप्त गरेका छन् ।

महानगरको मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ८१७९ र राप्रपाका प्रल्हाद साहले ४९३५ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा राप्रपाकी विन्दा लुईटेलले ६०३५ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४८२८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विराटनगर महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर काँग्रेस र उपमेयर जसपाले लिनेगरि गठबन्धन भएको थियो । तर, वडा तहको तालमेल नमिल्दा माओवादी र एकीकृत समाजवादी गठबन्धनमै थिएनन् भने उपमेयरमा काँग्रेसको मत नजाँदा गठबन्धनका उम्मेदवार धेरै पछि परेका छन् ।

कांग्रेसको धेरै मत एमाले उम्मेदवार कार्कीले पाएको देखिएको मतगणनामा बसेका दलका प्रतिनिधिहरु बताउँछन् । मतदाता शिक्षाको अभाबको कारण उपमेयरमा करिब ३८ प्रतिशत र मेयरमा २३ प्रतिशतभन्दा धेरै मत बदर भएको छ । अहिलेसम्मको गणनामा मेयरमा १९ हजार ८७६ मत र उपमेयरमा ३१ हजार ३८९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जेष्ठ ६, २०७९, साँझको ०७:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर