धरान । सुनसरीको धरान उपमहानगरपालिकामा लौरो चुनाबचिन्ह लिएर मेयर पदको उम्मेदवार बनेका हर्क साम्पाङले गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै अग्रता लिएका छन् ।
निर्वाचन आयोगको आधारिक तथ्यांक अनुसार साम्पाङले ९२९५ मत प्राप्त गर्दा काँग्रेसका उम्मेदवारसँगको अग्रता बढाउँदै लगेका छन् । मतगणनाको सुरुवातदेखि पाँचौ दिनसम्म अग्रता कायम गरेका नेपाली काँग्रेसका उम्मेदवार किशोर राई साम्पाङभन्दा २७० मतले पछाडि परेका छन् । उनले ९०२५ मत पाएका छन् । एमालेका उम्मेदवार मञ्जु भण्डारीको मत ७२८८ छ ।
उपमेयरमा भने माओवादी केन्द्रका उम्मेदवार आइन्द्रबिक्रम बेघाको लगातारको अग्रता कायमै छ । उनले १०१७९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार पदम लिम्बू ४४४ मतले पछाडि रहेर ९७३५ मत प्राप्त गरेका छन् ।
धरानको अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १८, १९ र २० नम्बर वडाको मतगणना सकिएको छ । ११ र १२ को गणना भइरहेको छ । १३, १४, १५, १६ र १७ को गणना हुन बाँकी छ । धरानमा ६२ हजार ८९७ मत खसेको छ ।