झापाको दमकमा गठबन्धनको अग्रता बढ्यो

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा गठबन्धनबाट मेयर पदमा राप्रपाका उमेदवार राम थापाको अग्रता कायमै छ ।

वडा नम्बर ७ को मतगणना जारी रहँदा थापाले धेरै मत पाएका छन् । ७ को गणना सुरु हुनु अगाडिसम्म १३७ मतले अगाडि रहेका थापाले ७ को करिब दुईतिहाई मत मत गणना हुँदा ५६६ मतले अगाडि पुगेका छन् । ७ मा खसेको ३३५० मतमध्ये अहिलेसम्म २१२८ मतको गणना सकिएको छ ।

अहिलेसम्म थापाले १३८८० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार गिता अधिकारीले १३३१४ मत प्राप्त गरेकी छन् । उपमेयरमा यसअघि पछाडि परेकी गठबन्धनबाट उम्मेदवार रहेकी रेगिना भट्टराई पनि ७ नम्बर वडाको गणना थालेपछि १७० मतले अगाडि बढेकी छन् । उनले १३३३७ मत प्राप्त गर्दा एमाले उम्मेदवार अम्बिका खनालले १३१६७ मत प्राप्त गरेकी छन् ।

वडा नं. ७ मा अधिक मतले अग्रता लिंदै वडा नम्बर ५ मा मतान्तर सन्तुलित खेर ६ मा अग्रता लिने भएकोले आफ्नो जित निश्चित रहेको थापाको दावी छ । एमालेले भने ७ मा पछाडि परेपनि ५ बाट त्यसलाई सन्तुलनमा राखेर अगाडि बढ्ने र ६ बाट चुनाब जित्ने दावी गरेको छ ।

नेपाली कांग्रेसका नगरसभापति प्रकाश प्रसाईंका अनुसार अब बाँकी रहेका वडामध्ये ५ मा एमालेका उमेदवारले केही मतले अग्रता लिन सक्छन् । तर, वडा नम्बर ६ बजार क्षेत्रको भएकोले त्यहाँ गठबन्धनका उमेदवारलाई नै धेरै मत आउने भएकोले जित निश्चित रहेको उनको दावी छ ।

अहिले गणना भइहरेको दमक ७ यसअघि पनि राप्रपाले जितेको वडा हो । त्यहाँ यो पटक पनि निवर्तमान वडाध्यक्ष भीम पौडेल नै उमेदवार छन् । अहिलेसम्म परिणा घोषणा भएका वडाहरुमा १, २, ३, ८ र ९ मा एमाले विजयी भएको छ भने वडा नम्बर १० र ४ मा काँग्रेस विजयी भएको छ ।

दमकको ५ नम्बर वडा एमालेका अध्यक्ष केपी ओलीको वडा हो । त्यहाँ ४३४९ र वडा नम्बर ६ मा २७५४ मत खसेको छ । दमक नगरपालिकामा जम्मा ३९७३६ मत खसेको छ । अब गणना हुन बाँकी मत ८३२५ मत गणना हुन बाँकी छ ।

ओलीको गृहनगर भएका कारण पनि दमकको चुनावलाई महत्वसाथ हेरिएको छ । नगरपालिकाको प्रमुख पदमा एमालेकी गीता अधिकारी र उप–प्रमुख पदमा अम्बिका खनालको टक्कर परिरहेको छ ।

जेष्ठ ५, २०७९, दिउँसोको १२:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर