काठमाडौं । २०७४ को निर्वाचनमा दैलेख जिल्लाभरि एउटा मात्रै वडा सदस्य जितेको नेकपा (माओवादी केन्द्र)ले यो स्थानीय तहको निर्वाचनमा जिल्लाको नौमुले गाउँपालिका अध्यक्ष जितेको छ ।
माओवादी केन्द्रका छविराम सुवेदीले अध्यक्षमा ३ हजार २ सय मत प्राप्त गरि जीत हासिल गरेका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ भोट प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। उनले २८३४ मत प्राप्त गरे । उनकी निकटतम् प्रतिष्पर्धी काँग्रेसकी अमृता सिंहले २४०५ भोट पाएकी छन् ।
२०७४ मा नौमुलेमा अध्यक्ष र उपाध्यक्ष दुबै नेपाली काग्रेसले जितेको थियो । कांग्रेसका बहालवाला अध्यक्ष र उपाध्यक्षलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले हराएको हो ।
अघिल्लो निर्वाचनमा मओवादी केन्द्रले नौमुले गाउँपालिकाको वडा नं. ३ मा वडा सदस्य मात्रै जितेको थियो। जिल्लाभरिमा यमबहादुर कठायतले मात्रै वडा सदस्य जितेका थिए।
२०६४ को संविधानसभा निर्वाचनमा देशका अधिकांश भागमा माओवादीले जित्दासमेत दैलेखमा जित्न सकेको थिएन। २०७४ को संघीय निर्वाचनमा एमालेसँग तालमेल गरेर माओवादीका धर्म रेग्मीले प्रदेशसभा जितेका थिए । उनी एमाले प्रवेश गरेपछि उनको पद गइसकेको छ।