विराटनगर । उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेमा प्रहरीको गोली लागेका युवाको मृत्यु भएको छ ।
कटारी १० स्थित जनता कालिका मावि मतदान केन्द्रमा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय एक व्यक्तिको मृत्यु भएको हो ।
मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्दै बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको प्रदेश १ का प्रहरी प्रवक्ता नविन राज राईले जानकारी दिएका छन् । प्रहरीले यसअघि गोली लागेर दुई जना घाइते भएको जानकारी दिएकोमा १९ वर्षीय नविन कटुवालको मृत्यु भएको पुष्टि गरेको हो ।
उनको छातिमा गोली लागेको छ भने प्रहरीले चलाएको गोली लागेर घरमा बसिरहेका स्थानीय १३ वर्षीय बालक मन श्रेष्ठ पनि घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । ढुंगाले लागेर प्रहरी जवान विष्णु तामाङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले घटनास्थल भौगोलिक विकट क्षेत्रमा रहेकाले थप जानकारी आइनसकेको बताउ । मृतक कटुवाल नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट कटारीको मेयर पदमा स्वतन्त्र उमेदवारी दिएका गौरबहादुर कटुवालका भतिज हुन्। उनी पनि विल्पवकै कार्यकर्ता भएको बताइएको छ ।
विप्लव नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले भने आफ्नो पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागि मृत्यु भएको बताए । ममतदान सकिएर मतपेटका शिलबन्दी गर्नेक्रममा ५०–६० जनाको समूहले मतपेटिका लुट्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त भएर गोली चलाउनु परेको प्रजिअ यादवले बताए ।
प्रहरीले एसएलआरबाट ४ राउण्ड र थ्रिनटथ्री राईफलबाट ४ राउण्ड गरी जम्मा ८ राउण्ड फायर गरेको बताएको छ ।