डा.शेखरको खस्किएको कद

 श्रीमन्त भट्टराई

मैले आफ्नो पत्रकारिताका जीवनमा नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालासित नजिक भएर साक्षात्कार गर्न पाइँन । यसप्रति मलाई अफसोस छ । पत्रकारका रूपमा मात्र होइन, एक सर्वसाधारणका रूपमा पनि कोइरालालाई प्रत्यक्ष भेट्न सकिएन । यो पनि दुःखकै कुरा हो । जीवनभर उग्र कम्युनिष्टविरोधी धारका नेताको पहिचान बनाएका कोइरालाले आफ्ना जीवनका अन्तमा छाती फराकिलो पारेर अग्रसरता नलिएको भए नेपालमा शान्तिप्रक्रिया सम्भव हुने थिएन । अहिलेसम्म जनयुद्ध चलिरहेकै हुन्थ्यो होला । त्यस्ता कोइरालासित मैले साक्षात्कार गर्न नपाउँदा मेरो व्यक्तिगत जीवन अधूरो र अपूरो भएको मेरो अनुभव छ ।
गिरिजाबाबु चुनावी अभियानमा आफ्नो निर्वाचन क्षेत्रमा कसरी सहभागी हुन्थे ? मलाई यो कुरा जान्न तीव्र्र उत्सुकता भयो । अनि केही पुराना काङ्ग्रेस र ज्येष्ठ नागरिकहरूसित मैले यो जिज्ञासा राखेँ ।

उनीहरूले दिएको जवाफको सार यस्तो थियो, ‘२०४८ सालको आम निर्वाचनयता २०५६ सम्मको चुनावसम्म गिरिजाबाबु मोरङको १ र सुनसरीको ५ नम्बर गरी दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवार भइरहे । उनी आफ्ना दुबै निर्वाचन क्षेत्रमा प्रचार प्रचार–प्रसार गर्न जम्मा २ दिनका लागि विराटनगर आउँथे रे । पहिलो दिन बिहान ६ बजे नै घरबाट लावालस्कर लिएर हिँड्थे र मोरङको क्षेत्र नम्बर १ का सबै गाउँ घुमिसकेर, ती ठाउँमा भाषण गरिसकेर राति ९–१० बजे कोइराला निवास फर्कन्थे रे । यही क्रम सुनसरीको क्षेत्र नम्बर ५–का गाउँमा पनि हुन्थ्यो रे । उनी दोस्रो दिन पनि बिहान ६ बजे नै घरबाट हिँडेर सुनसरी–५ का सबै गाउँका चुनावी सभा भ्याएर राति ९ बजेपछि मात्र कोइराला निवास आइपुग्थे रे ।’

त्यसपछि कोइराला देश दौडाहामा निस्कँदा रहेछन् । त्यस बेलाका वृद्ध गिरिजाबाबुको यस्तो चुनावी दौडधूपका कुरा सुनेर मलाई एकपटक डा. शेखर कोइरालातिर हेर्न मनलाग्यो । आफ्ना प्रशंसकबाट गिरिजाबाबुको राजनीतिक उत्तराधिकारीको संज्ञा पाएका डा.शेखर भने यति बेला देशदौडाहामा छैनन् । लामो समयदेखि आफ्नै निवासमा छन् । झट्ट हेर्दा उनी देशका केवल २ वटा पालिकामा सीमित देखिन्छन्– विराटनगर महानगरपालिका र बुढीगङ्गा गाउँपालिका । उनी यिनै दुई पालिकामा मात्र केन्द्रित भएको अनुभव भइरहेको छ ।

डा.कोइरालाले आफूलाई पार्टीको राष्ट्रिय नेताका रूपमा स्थापित गर्ने हो भने उनी यतिबेला विराटनगर र बुढीगङ्गाका टोल–टोल चाहर्न छाडेर देश दौडाहामा निस्कनुपर्ने थियोे । जिल्ला–जिल्लाका पालिका–पालिकामा पुगेर गठबन्धनको विजयका लागि जोसिला भाषण गर्नुपर्ने थियो । कहाँ–कहाँ बिग्रिएको छ, त्यो पत्ता लगाएर त्यसको समाधान खोज्नुपर्ने थियो । तर, कोइरालाबाट यसो भएको समाचार पढ्न पाइएन । उनको चासो विराटनगर र बुढीगङ्गामै सीमित भएको देखियो । सायद, अरू जिल्ला र पालिकामा उनलाई कसैले डाकेनन् होला । यसो हो भने यो पनि दुःखको कुरा हो ।

दोस्रो कुरा, टिकट वितरणका बेला पनि शेखरको व्यक्तित्व राष्ट्रिय स्तरको देखिएन । उनले पार्टी सभापतिका पदमा चुनाव लड्दा ४० प्रतिशतमत पाएका थिए । यो मत चानचुने र सानो थिएन । यत्रो मत पाएका कोइरालाले देशभरिका पालिकामध्ये कम्तीमा ४० प्रतिशत सिटमा आफ्ना समर्थकलाई टिकट दिलाउन सक्नुपथ्र्यो । तर, उनी खुम्चिएर विराटनगर महानगरपालिकामा मात्र सीमित हुनपुगे । संसदीय समितिमा उनले केवल नागेशका लागि लबिङ गरेको समाचार पढ्न पाइयो । अरू जिल्लाका अरू पालिकासित उनको मतलव देखिएन । खालि विराटनगरमा नागेश मात्र उनका चासोमा परे । के उनको हैसियत विराटनगर र नागेशमात्र हो त ?
अन्ततः टिकट त नागेशले नै पाए । तर, केही दिनअघि विराटनगर आइपुगेका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले नागेशलाई कसले टिकट दिएको भन्ने भेद पनि खोलिदिए ।

देउवाको भनाइ थियो, ‘यस पटक मैले नागेशलाई न्याय गरेको छु । यसअघि प्रदेश सांसद र मेयरका दुई चुनावमा टिकट दिन पाएको थिइँन । यस पटक दिएँ र न्याय गरेँ ।’ यसरी नागेशलाई शेखरले होइन, आफूले टिकट दिएको भन्ने रहस्य देउवाले सार्वजनिक मञ्चबाटै खोलिदिए ।

आफूलाई राष्ट्रिय नेता दाबी गर्ने शेखरजस्ता व्यक्तित्वले यसरी जिल्ला र त्यो जिल्लाको पनि २ वटा पालिकामा आफ्नो राजनीतिक व्यक्तित्व खुम्च्याएका छन् । यसबाट उनको राजनीतिक आकार स्पष्ट भएको छ । समग्रमा उनको राजनीतिक कद खस्किएको सिद्ध भएको छ ।

मङ्गलबार, २७ बैशाख, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर