मतदाता शिक्षामा यस पटक पनि खेलाँची,मत बदरको जोखिम उच्च

विराटनगर । २०७४ को निर्वाचनमा अत्यधिक मत बदर भएको विराटनगर महानगरमा यसपटक पनि त्यही जोखिम उच्च देखिएको छ । खासगरी दलहरुबीचको गठबन्धनले फरक चिन्हमा मतदान गर्ने अवस्थामा अधिक मत बदर हुने जोखिम बढेको हो ।

यसअघि पनि अन्तिम अवस्थामा दलहरुबीच गठबन्धन हुँदा अत्यधिक मत बदर भएको थियो । निर्वाचन आयोग र दलहरुले मतदाता शिक्षामा ध्यान नदिँदा प्रत्येक निर्वाचनमा ठूलो संख्यामा मत बदर हुने गरेको छ ।

२०७४ मा विराटनगरमा प्रमुख पदमा मात्रै २४.१० प्रतिशत र उपप्रमुखमा ४१.७७ प्रतिशत मत बदर भएको थियो । महानगरका १ लाख १३ हजार ७६१ मतदातामध्ये ७०.९६ प्रतिशत अर्थात ८० हजार ७२४ ले मतदान गरेका थिए ।

अघिल्लो चुनावमा यति धेरै मत बिग्रँदा पनि मत बदर घटाउन भने कसैले ध्यान दिएका छैनन् । निर्वाचन आउन अब एक हप्ता पनि बाँकी छैन । यस पटकको चुनावमा पनि उम्मेदवार तथा निर्वाचन आयोगले पनि बदर मत घटाउने कुनै कार्यक्रम गरेका छैनन् । उम्मेदवारहरू आएर चुनाव चिन्ह चिनाए पनि भोट हाल्ने तरिका भने कसैले नसिकाएको विराटनगर १५ कि अन्जना शर्मा बताउँछिन् ।

‘यसपटक मतपत्र समेत लामो रहेछ’ शर्माले भनिन् ‘पट्याउँदासमेत छाप अन्यत्र लागेर बिग्रन्छ भन्छन् । तर, सिकाउन भने कोही आउँदैनन् ।’ पहिलोपटक मतदान गर्नेलाई अझ धेरै समस्या हुने उनको भनाइ छ ।

गत चुनावमा मतदातालाई बुझाउन नसकेको कारण महानगरमा बनेका दुई गठबन्धनलाई मतदाताले माया गरे पनि धेरै मत बदर भएकैले उनीहरूले पराजय भोग्नु परेको थियो । अहिले पनि गठबन्धनकै धेरै मत बदर हुने अनुमान गरिएको छ । गठबन्धनका उम्मेदवार तथा नेताहरूले आ–आफ्नो चुनाव चिन्ह देखाएपनि मत हाल्दा बिग्रनसक्छ भनेर नसिकाएको विराटनगरकै प्रदीप साह बताउँछन् ।

२०७४ सालको निर्वाचनमा एमाले–लोकतान्त्रिक र संघीय समाजवादी फोरम–माओवादीबीच गठबन्धन भएको थियो । अलग–अलग चुनाव चिन्हमा मतदान गर्नु परेका कारणले धेरै मत बिग्रिएको थियो ।

गठबन्धन मात्रै होइन एकल उम्मेदवारी दिएकालेसमेत कार्यकर्ता खटाएर मतदानको तरिका सिकाएका छैनन् । मतदानको दिन आउन लाग्दासमेत मतदाता शिक्षामा कार्यकर्ता परिचालन गर्न नसकेका दलहरू मतदाता शिक्षामा ध्यान दिने बताउँछन् । घरदैलो सकिएकोले अब मतदाता शिक्षामा ध्यान दिने एमाले मोरङका सचिव रुपेश खतिवडा बताउँछन् ।

गत वर्ष मत धेरै बदर भएकाले प्रचारमा भन्दा मतदाता शिक्षालाई पहिला प्राथमिकता दिएको उपमेयर पदकी स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने बताउँछिन् । निर्वाचन आयोगले पनि मतदाता शिक्षालाई प्राथमिकता दिएको छैन । आयोग पनि मतदातामा चेतना आएको भन्दै आफू पन्छिन खोजिरहेको छ । सामाजिक संजाल तथा मिडियाबाट सिकाइरहेको निर्वाचन कार्यालय प्रदेश १ का सचिव लेवन काश्यप अधिकारी बताउँछन् ।

गत चुनावमा माओवादी–संघीय समाजवादी फोरमका प्रमुखका उम्मेदवार उमेश यादव र उपप्रमुखका उम्मेदवार नमिता न्यौपानेलाई सबैभन्दा धेरै क्षति पुगेको थियो । माओवादीका कार्यकर्ताले हँसिया हथौडामा ७ छाप लगाएर प्रमुखमा मशाललाई पनि र फोरम कार्यकर्ताले ७ छाप मसालमा लगाएर उपप्रमुखमा हँसिया हथौडामा पनि छाप हान्दा धेरै मत बदर भएको थियो ।

मतदाता शिक्षाको अभाव र दलहरूबीचको गठबन्धनको कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा धेरै मत बदर भएको स्थानीय अगुवाहरू बताउँछन् । उपप्रमुखमा ४७ हजार ९ मत सदर भएकोमा ३३ हजार ७ सय १५ मत बदर भएको थियो । यस्तै उम्मेदवार नभएको चिन्हमा छाप हानेको कारण पनि धेरै मत बदर भएको थियो । त्यसबेला विजेताले पाएको भन्दा धेरै मत बदर भएको थियो ।

सोमबार, २६ बैशाख, २०७९, दिउँसोको १२:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर