विराटनगर । स्थानीय तहको निर्वाचनको मिति नजिक आइरहँदा प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकामा राजनीतिक दलहरु चुनाबी प्रचारसँगै जीत निकाल्ने रणनीति कार्यान्वयनमा व्यस्त छन् ।
विगतको निर्वाचनमा नेपाली काँग्रेसले मेयर र उपमेयरसहित बहुमत जनप्रतिनिधि जितेको विराटनगरमा यसपटक गठबन्धन बनाएर चुनाबी मैदानमा छ । अघिल्लो निर्वाचनमा गठबन्धन गरेर निर्वाचन लडेको नेकपा एमाले भने एक्लै मैदानमा उत्रिएको छ ।
२०७४ सालको निर्वाचनमा काँग्रेस एक्लै चुनाब लड्दा एमाले र मधेसी जनअधिकार फोरम लोकतात्रिकले गठबन्धन बनाएर लडेका थिए । यस्तै मधेसी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रको पनि गठबन्धन थियो । निर्वाचनमा काँग्रेसले भारी मतान्तरले बाजी मारेको थियो ।
यस पटक भने एमालेबाहेक ती गठबन्धनका सबै शक्ति काँग्रेस नेतृत्वको गठबन्धनमा छन् । त्यसबेला एमालेसँग गठबन्धन गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक काँग्रेसमा विलय भइसकेको छ भने माओवादी केन्द्र र मधेसी जनअधिकार फोरम(हाल जनता समाजवादी पार्टी) गठबन्धनमै छन् ।
महानगरमा गठबन्धनबाट काँग्रेसका नागेश कोइराला मेयरमा र जसपाका अमरेन्द्र यादव उपमेयरमा उम्मेदवार बनेका छन् । नेकपा एमालेले भने मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाएको छ ।
महानगरमा गठबन्धनको विगतको मत विश्लेषण गर्दा एमाले प्रतिष्पर्धामै आउने अवस्था देखिदैन । गठबन्धनका नेताहरुले पनि त्यस्तै दावी गरिरहेका छन् । तर, तल्लो तहसम्म भिजेका थापालाई उम्मेदवार बनाएको एमाले भने गठबन्धनभित्रको असन्तुष्टि र काँग्रेसकै मत पाएर निर्वाचन जित्ने दावी गरिरहेको छ ।
अघिल्लो निर्वाचनको परिणाम विश्लेषण गर्दा मेयरका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत पाएका थिए भने एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए । वडाहरुमा पार्टीहरुले पाएको मत भने मेयरमा करिब ७ हजार लोकप्रिय मत पराजुलीले पाएका थिए । किनकि काँग्रेसका वडाध्यक्षहरुको मत १६ हजार ७६६ थियो ।
वडाध्यक्षमा एमालेको १६ हजार २१८, संघीय समाजवादी फोरमको १० हजार ९३२, माओवादी केन्द्रको ८ हजार, राप्रपाको ४ हजार २९१ र फोरम लोकतान्त्रिकको ४ हजार ४५२ मत थियो । वडाध्यक्षहरुको मतको आधारमा काँग्रेस, माओवादी र जसपा गठबन्धनको मत ४० हजार १५० पुग्ने देखिन्छ । जुन एमालेले पाएको मतभन्दा दोब्बर बढि अर्थात २३ हजार ९३२ हो ।
यहि मतको विश्लेषणका आधारमा गठबन्धनभित्र केहि समस्या नभएपनि चुनाब जित्न समस्या नरहेको काँग्रेसले दावी गर्दै आएको छ । शुक्रबार साँझ गठबन्धनका उम्मेदवारको पत्रकारसँगको साक्षात्कार कार्यक्रममा पनि नेताहरुले गठबन्धनभित्रको केहि समस्या रहेपनि चुनाब जित्न कुनै समस्या नरहेको बताए ।
त्यसो त पछिल्लो दिनमा गठबन्धनभित्रको समस्या समाधानको लागि पनि काँग्रेसले प्रयास गरिरहेको छ । काँग्रेस नेता डा.शेखर कोइरालाले वडा तहमा गठबन्धन नभएको भन्दै असन्तुष्ट माओवादी नेताहरुलाई बोलाएर समस्या समाधानको पहल गरेका थिए । मेयरको दाबी गरेर टिकट नपाएपछि असन्तुष्ट रहेका काँग्रेसका नेताहरु पनि विस्तारै मेयर कोइरालाको समर्थन र चुनाबी अभियानमा सक्रिय हुन थालेको देखिएको छ ।
मेयरको दावी गरेपनि टिकट नपाएपछि असन्तुष्ट रहेको भनिएका काँग्रेस केन्द्रीय सदस्यहरु डा. डिला संग्रौला, अमृत अर्याल र भीम पराजुलीले एउटै मञ्चबाट विराटनगरमा काँग्रेस र गठबन्धन एकढिक्का भएकोले जित निश्चित भइसकेको दावी गरे । विराटनगरका निवर्तमान मेयरसमेत रहेका पराजुलीले कांग्रेस एक्लै लड्दा पनि जित्ने ठाउँमा गठबन्धन भएकोले चुनाव जित्न नसके कहिले जित्ने भन्ने प्रश्न गरे । उनले गठबन्धनभित्र कुनै समस्या भएर समाधान गरेर सच्चिएर अगाडि बढ्नुपर्ने बताए । अर्का नेता अर्यालले गठबन्धन प्रदेश र संघीय निर्वाचनसम्मै रहने बताउँदै यसप्रति सबै इमान्दार हुनुपर्ने बताए । उनले विराटनगरमा विजय भन्नेभन्दा पनि कति मत अन्तरले जित्ने भन्ने चासो रहेको दावी गरे ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले गठबन्धनप्रति आफूहरु पूर्ण जिम्मेवार रहेको बताउँदै मोरङमा काँग्रेसको कारण गठबन्धन सफल हुन न सकेको भएपनि महानगरमा जिताउन लागिपरेको बताए । अझै पनि समय भएकाले वडाहरूमा पनि तालमेल मिलाउनुपर्नेमा उनको जोड थियो ।
जसपाका केन्द्रीय सदस्य जयराम यादवले विपक्षीहरूले गठबन्धनका विरुद्ध अनावश्यक हल्ला गरेको भन्दै गठबन्धनको शानदार जित हुने दाबी गरे । मेयरमा नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवको उम्मेदवारीले समुदायबीचको अन्तरघुलनलाई पनि बलियो बनाएकोले जीतको यो पनि आधार भएको उनको दावी छ ।
नेकपा माओवादी केन्द्रका विराटनगर इन्चार्ज भोगेन्द्र यादवले माओवादी गठबन्धनका विरुद्धमा नरहेको बताउँदै गठबन्धनलाई मानेर माओवादीले मेयर र उपमेयरमा उम्मेदवारी नदिएको स्पष्ट पारे । उनले वडाहरुमा भने गठबन्धन नहुँदा समस्या भएको र स्वतन्त्र उम्मेदवारको दबाब रहेकोले यसतर्फ काँग्रेस सचेत हुनुपर्ने बताए ।
शुक्रबारको कार्यक्रमबाट काँग्रेस र गठबन्धन एक छ भन्ने सन्देश दिन खोजिएको भएपनि अन्तरिक समस्या पनि त्यहाँ पोखिएको थियो । यद्यपी त्यसलाई चुनाबसम्म पुग्दा समाधन गर्ने गठबन्धन एकढिक्का हुने दावी नेताहरुले गरेका छन् ।
खासगरी काँग्रेसमा गठबन्धनको विरुद्ध अभिव्यक्ति दिँदै आएका नेता डा.शेखर कोइरालाको कारण पनि विराटनगरमा गठबन्धन एकीकृत हुन नसकेको हो । यद्यपी पछिल्लो समय उनले गठबन्धनको पक्षमा आफूलाई उभ्याएका छन् । त्यहि भएर उनले माओवादी नेताहरुलाई बोलाएर गठबन्धन बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।
विराटनगरमा गठबन्धनभित्रको एकता मात्र नभएर बागी उम्मेदवारको चुनौति पनि छ । जसपाबाट विद्रोह गरेर मेयरमा उम्मेदवारी दिएका उमेश यादव र माओवादी केन्द्रबाट विद्रोह गरेर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपाने पनि गठबन्धनको लागि चुनौति बनेका छन् । उनीहरु दुबै अघिल्लो निर्वाचनमा सोहि पदमा उम्मेदवार बन्दा यादवले तेस्रो र न्यौपानेले दोस्रो मत पाएका थिए ।
दुबैले लालटिन चिन्ह लिएर चुनाबी मैदानमा छन् । यादवले महानगरमा मधेशी समुदायका मतदाताको मत काट्ने र न्यौपानेले पहाडी समुदायको मत काट्ने भएकोले उनीहरु गठबन्धनको लागि चुनौतिका रुपमा देखिएका छन् । यी दुई उम्मेदवारकै कारण महानगरमा एमालेले चुनाब जित्ने दावी गर्न सकेको हो ।
विराटनगरमा अघिल्लो चुनाबको तुलनामा १९ हजार ३८१ मतदाता थपिएका छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार मतदाताको संख्या १ लाख ३३ हजार १४२ छ ।