विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । निर्वाचन प्रचारको समय ४ दिनमात्रै बाँकी छँदा दलहरुले चुनावी अभियान तीब्र पारेका हुन् । कानेपोखरीमा नेकपा एमाले, नेकपा माओेवादी केन्द्र र नेपाली कांग्रेस मुख्य प्रतिस्पिर्धी दलहरु हुन् । यसबाहेक राप्रपाले पनि आफ्नो छुट्टै उम्मेद्वारी दिएको छ ।
एमालेबाहेकका गठबन्धन दल मिलेर जाने प्रयास अन्तिममा असफल भएको थियो । यसअघिको निर्वाचनमा एमालेले अध्यक्ष, उपाध्यक्ष तथा ५ वटा वडामा जित निकालेको थियो । कांग्रेसले भने १ नम्बर र ३ नम्बर वडामा जितेको थियो । माओवादी केन्द्रले अध्यक्ष पदमा दोस्रो स्थान ल्याएको भएपनि कुनै पदमा जित निकाल्न सकेको थिएन ।
यसअघिको निर्वाचनमा एमालेका ताराबहादुर काफ्लेले ६ हजार ६ सय मत ल्याएका थिए भने माओवादी केन्द्रका सूर्यबहादुर धिमाललले ४ हजार ६ सय मत ल्याएका थिए । कांग्रेसका उम्मेद्वार केदारबहादुर थापाले ४ हजार ३ सय मत ल्याएका थिए ।
माओवादीबाट ७६ वर्षे सूर्य धिमाल
‘उमेरले म त्यहाँ फुटबल खेल्न जाने होइन, ज्ञान र योजना लिएर जाने हो । फुटबल खेल्न त सक्दिन होला । तर, सक्रियताको हिसावले म एभरग्रिन हो,’ अध्यक्षका उम्मेद्वार ७६ वर्षे सूर्य धिमाल भन्छन् । गाउँपालिकामा अघिल्लो निर्वाचनमा पनि उम्मेदवार भएका उनी एमालेबाट उम्मेद्वार तारा काफ्लेको निकटतम् प्रतिद्वन्द्वी भएका थिए ।
धिमालले यसपटक एमालेबाट निवर्तमान गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम र कांग्रेसका सञ्जय भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन् । यसअघिको निर्वाचनमा दोस्रो मत ल्याएका उनलाई यो पटक चुनाब जित्ने आत्मविश्वास छ । त्यसको आधारबारे सोधिएको प्रश्नमा उनी भन्छन्, ‘अन्य पार्टीका साथीहरुको पनि मलाई सहयोग हुन्छ ।’ चुनावमा जिते के गर्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘म शासक होइन, जनताको सेवक बन्न जाने हो ।’
२०२४ सालदेखि २०३१ सालदेखि विराटनगर नगरपालिकामा वैदार हुँदै मुखिया काम गरेका धिमाल विराटनगरमा २०३१÷३२ सालमा गासस बनेका थिए । २०३८ सालमा तत्कालिन मोरङको बयरवन ७ मा आएर वडाध्यक्ष बनेका उनी । त्यसपछि तत्कालिन बयरवन गाउँ पञ्चायतको उपप्रधानपञ्च पनि बने । त्यसबेला उनले खरायो चिन्हमा चुनाव लडेका कारण उनलाई अहिले पनि पुराना पुस्ताले खरायो बाबै भन्छन् । त्यसबेला उनले प्रतिपष्धी सबैको भन्दा धेरै ३ हजार ७ सय मत पाएका थिए ।
उपप्रधानपञ्चको पद सकिएसँगै चुपचाप बसेका उनी माक्र्सवाद अध्ययनमा लागे । पछि किराँत राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य बनेका उनले किराँत र लिम्बुवानको अन्तरविरोध भएपछि धिमाल राष्ट्रिय मुक्ति मोर्चा गठन गरे । त्यसबेला उनी सो मोर्चाको केन्द्रीय उपाध्यक्ष बने । मोर्चाको काम गर्दैगर्दा माओवादी नेता गोपाल किराँतीसँग भेट भएपछि माओवादी आन्दोलनमा लागेका उनी अहिलेसम्म त्यही पार्टीको राजनीतिमा छन् ।
बुढ्यौली उमेरमा जाँगरका साथ चुनाबी मैदानमा ओर्लिएका धिमाल हिजोको भन्दा पार्टी सदस्यता संख्या बढेको छ, एमालेले ५ वर्ष जितेर पनि उल्लेखनीय काम गर्न नसकेको र काँग्रेसको अवस्था झनै नाजुक रहेकोले चुनाबी जित्ने अवस्थामा रहेको दावी गर्छन् । सादा जीवन, स्वच्छ छवि र स्थानीयस्तरमा लोकप्रिय रहेका धिमाललाई पार्टीको मात्रै नभएर स्वतन्त्र मानिसहरुले पनि मत हाल्ने स्थानीय शिक्षक चन्द्र अधिकारीको भनाइ छ ।
एमालेबाट राजमती इङ्नाम
साधरण पढलेख भएकी एमालेकी उम्मेद्वार राजमती इङ्नाम यसअघिको कानेपोखरी गाउँपालिकाकी उपाध्यक्ष हुन् । कानेपोखरीमा यसअघि एमालेले अध्यक्ष, उपाध्यक्षसहित ५ वटा वडामा जितेको थियो । इङ्नाम कानेपोखरी ६ की स्थायी बासिन्दा हुन् ।
अध्यक्ष ताराबहादुर काफ्लेले फेरि दोहोर्याउने चाहना राखेको भएपनि इङ्नामलाई अन्तिममा एमाले नेतृ शिवमाया तुम्बाहाम्फेको पहलमा उम्मेद्वार बनाइएको चर्चा छ । यसअघिको उपाध्यक्ष पदमा रहँदा उनले गरेको अनुगमनलगायतका काममा धेरैको असन्तुष्टि रहेको चर्चा हुने गरेको छ ।
आदिवासी जनजाति लिम्बू समुदायबाट उम्मेद्वार बनेकी इङ्नामले सोही मत र एमालेको सांगठनिक बलमा चुनाव जित्ने सो पार्टीले जनाएको छ । यद्यपि, एमालेमा ताराबहादुर काफ्लेको टिम चुनाव प्रचारमा मौन बसेको कारण सो पक्षको भोट इङ्नामलाई नै नजाने कतिपयको विश्लेषण छ ।
कांग्रेसबाट सञ्जय भट्टराई
विराटनगरमा घर भएपनि पुख्र्यौली थलो कानेपोखरी ४ का सञ्जय भट्टराई नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका छन् । उनलाई कानेपोखरीका स्थानीयले ‘पाहुना’ उम्मेद्वार भन्ने टिप्पणी गरिरहेका छन् । पटकपटक जुवा खालबाट पक्राउ परेका उनलाई कांग्रेसका नेतासुनिल शर्माको जोडबलमा उम्मेद्वार बनाइएको हो ।
स्थानीय कांग्रेसका अधिकांश नेता कार्यकर्ता गठबन्धन बनाएर जानुपर्छ भन्ने लाइनमा हुँदा भट्टराईले भने एक्लै लड्ने अड्डी लिएका थिए । सुनिल शर्मा र मोरङ क्षेत्र नम्बर ३ ९क०का प्रदेश सांसद सूर्यमाराज राईको ब्याकअपमा चुनावमा उठेका उनलाई धेरै कांग्रेसीले मन पराउँदैनन् ।
विगतको नेतृत्वमाथि आरोपै आरोप
२०७४ को स्थानिय तहमा एमालेका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएर आएपछि उनीहरू माथि ९ आरोप लागेको छ । त्यसैलाई विपक्षी दलहरुले चुनाबी मुद्दा बनाएका छन् । उनीहरूमाथि आर्थिक वर्ष ०७५÷०७६ सम्ममा ४ करोड १३ लाख ५५ हजार रुपैयाँ रकम गैरकानूनी तरिकाले खर्च गरेको आरोप छ । उक्त रकम भ्रष्टाचार गरेको हुनसक्ने आशङ्का गरिएको छ ।
आर्थिक वर्ष ०७६÷०७७ र ०७७÷७८ को बेरुजु रकम समावेश गर्दा कानेपाखरीमा झण्डै १० करोड रकम अनियमितता भएको हुनसक्ने आशंका गरिएको छ । करारमा कर्मचारी भर्ना गर्दा वा रोजगारी तथा शीपमुलक तालिमको अवसर आउँदा आफन्त, नातागोता र कार्यकर्तालाई मात्रै प्राथमिकता दिने, गरिव तथा विपन्न समुदायलाई पाखा लगाउने गरिएको आरोप छ ।
कोरोना काल ९लकडाउन०मा राहत वितरण, माक्स्क वितरणमा व्यापक असमानता गरि कार्यकर्तालाई मात्रै वितरण गरिएको स्थानीयको भनाई छ । कृषि अनुदान कार्यकर्तालाई मात्रै बाँडिएकोदेखि पावर टिलर, हाते ट्याक्टरलगायतका अनुदानका कार्यक्रम पनि जनप्रतिनिधि, आफन्त र कार्यकर्तालाई बाँडिएको आरोप छ । विकासका नाममा टुक्रे योजना राखी कार्यकर्तालाई व्यापक भ्रष्टाचारमा समावेश गराएकोदेखि जहिले पनि उपभोक्ता समिति निर्माण गर्दा कार्यकर्तालाई मात्रै समावेश गरेर समिति निर्माण गरिएको आरोप छ । चिसाङ खोलाको गिटी बालुवा अमानतमा दिई अनियमितता गरी लाखौं हिनामिना गरिएकको अर्को आरोप रहेको छ ।