स्थानीय निर्वाचन : मोरङ केराबारीमा तिलक थापा मगरको पक्षमा जनमत बढ्दै

केराबारी । केराबारी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार तिलक थापामगरको पक्षमा नागरिक समाज उभिएको छ । तिलक थापा मगरले भ्रष्ट्राचारको अन्त्य, सुशासन, प्राकृतिक स्रोत साधन दोहनको अन्त्य र दुव्र्यसनी मुक्त सभ्य समाज निर्माण जस्ता प्रमुख मुद्दा लिएका छन् ।

उक्त एजेण्डामा मगरलाई नागरिक समाजले साथ दिएका हुन् । केराबारीमा प्राकृतिक स्रोत साधनको दोहन अत्याधिक हुने गरेको छ । यस विषयलाई नागरिक समाजका अगुवाले गम्भीरतापूर्वक लिएका छन् । त्यही कारण पनि मगरले स्थानीय तहको निर्वाचन जित्नुपर्ने उनीहरुको तर्क छ । ‘पार्टी जुनसुकै होस्, प्राकृतिक स्रोतको दोहन रोक्ने भन्दै अगाडि आउने उम्मेद्वारलाई हामी सहयोग गर्छौं,’ नाम नबताउने शर्तमा एक व्यवसायीले भने, ‘यहाँ चरम दोहन छ ।’

गाउँपालिकाका अध्यक्षका उम्मेदवार तिलक थापामगरको पक्षमा नागरिक समाजले घोषित अघोषित रुपमा वकालत गर्न थालेपछि केराबारीमा उनको जनमत पनि देखिन थालेको छ । वडावडामा भएको चुनावी प्रचारप्रसार र घर दैलो कार्यक्रममा मगरको पक्षमा जनलहर नै देखिएको छ ।

केराबारीमा सबैभन्दा मौलाएको भनेकै प्राकृतिक स्रोतको दोहन हो, प्रशासनिक रूपमा भ्रष्ट्राचार, ढिलासुस्ती र वेथिति हो । जनता यसको विपक्षमा छन् ।

को हुन तिलक थापामगर ?

मोरङको साविक भोगटेनी ६ साग्माका थापा मगर २०३२ साल साउनमा जन्मिएका हुन् । आरुबोटे प्राथमिक विद्यालयबाट पढाई सुरु गरेका मगरले २०४७ सालमा प्रथम श्रेणी (फस्र्ट डिभिजन) मा एसएलसी उतिर्ण गरेका थिए । उनले हात्तीसार क्याम्पसमा विज्ञान(साईन्स) र ईन्जिनियरिङ क्याम्पस धरानमा आईएसी पढे । त्यसैगरी उनले त्रिभुवन विश्वविद्यालयबाट विएड तथा राजनीति शास्त्रमा मास्टर गरेका छन् ।

विद्यार्थी कालमा वामपन्थी आन्दोलनबाट प्रभावित तिलक बामपन्थी राजनीतिमा होमिएका थिए । ईन्जिनियरिङ क्याम्पस पढ्दा नै उनले एमाले निकट अनेरास्ववियुका क्याम्पस ईकाई अध्यक्ष भएर विद्यार्थी राजनीति प्रारम्भ गरेका थिए ।

२०५९ साल देखि तत्कालिन नेकपा माओवादीमा पूर्णकालिन भएर आन्दोलनमा होमिएका उनी २०६० साल मंसिर १५ गते केराबारीको भलुवाबाट पक्राउ परेका थिए । उनी २०६१ साल कात्तिकमा रिहा भएका हुन् ।

वृहत शान्ति सम्झौता पछि उनी राजनीति सँगसँगै समाज सेवामा समय व्यतित गर्दै आएका छन् । विभिन्न सामाजिक संघसंस्थाको अगुवाई गरेका तिलक थापामगर अहिले पनि खदम क्याम्पस संचालन तथा व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हुन् ।

केराबारीमा उनी अध्ययनशील, वौद्धिक व्यक्तित्व, प्रष्ट वक्ताका रूपमा परिचित छन् । केराबारी गाउँपालिकामा उनले अध्यक्ष पदमा उम्मेद्वारी दिएपछि उनको चर्चा परिचर्चा सँगसँगै वौद्धिक व्यक्तित्व माझ जनमत बन्दै गएको छ ।

त्रिपक्षीय प्रतिस्पर्धा हुँदै

यसपटक केराबारीमा कसले चुनाव जित्छ भनेर अडकलबाजी सुरु भएको छ । केराबारी गाउँपालिकामा यस पटक एक जना स्वतन्त्रसहित छ वटा राजनीतिक दलले अध्यक्षको पदमा उम्मेदवारी दिएका छन् । केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले नेपाली काँग्रेसको तर्फबाट पुनः अध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेकपा एमालेबाट सुमन मिरिङ मगर र नेकपा माओवादी केन्द्रका युवा नेता तिलक थापामगरले अध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन् ।

अध्यक्षकै पदमा राष्ट्रिय जनमुक्ति पार्टीका फिपराज लिम्बू, राप्रपा तर्फबाट टंकबहादुर बस्नेत, मंगोल नेसनल अर्गनाईजेसनका अध्यक्ष अनु मगर र स्वतन्त्र उम्मेदवार अशोक सापकोटाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदका लागि दावेदारहरु धेरै भएता पनि चुनावी प्रतिष्पर्धामा तीनवटा दलको विशेष प्रतिष्पर्धा हुने देखिन्छ । एक पटक गाउँपालिकाको सत्ता अभ्यास गरिसकेका रोहितबहादुर कार्कीले यसपटक जसपा र नेकपा(एस)लाई साथ लिएर चुनाव जित्ने तयारीमा लागेका छन् । उता नेकपा एमालेका युवा नेता सुमन मिरिङ मगर भने एमालेको संगठनको बलमा चुनाव जित्ने अपेक्षा गरेका छन् ।

त्यसैगरी माओवादी केन्द्रका तिलक थापामगर यस पटक जनताको समर्थन पाउने र त्यसैको बलमा चुनाव जित्ने दौडमा छन् । मुख्य तीनवटा दलका अध्यक्षका उम्मेदवारहरु आफूलाई जिताउन जनता समक्ष भोट मागिरहेका छन् । आआफ्ना उम्मेद्वारहरुलाई जिताउन कार्यकर्ता पनि लागि परेका छन् ।

शुक्रबार, २३ बैशाख, २०७९, साँझको ०७:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर