उपमहानगरको चुनाबी मुद्दाः इटहरीमा डुबान र धरानमा खानेपानी

इटहरी । प्रदेश १ मा दुई वटा उपमहानगरपालिका रहेको सुनसरीको इटहरी डुबानले र धरान खानेपानी समस्याले नगरबासी आजित छन् । दुबै उपहानगरमा यीनै दुई विषयलाई दलहरुले चुनाव लड्ने मुख्य एजेण्डा बनाएका छन् ।

‘हाम्रो जिल्लाका दुई उपमहानगर एउटा बाढीले, अर्को खानेपानी समस्याले सताइएको छ,’ इटहरीका स्थानीयबासी पदम निरौलाले भने ‘त्यसैले यहाँको हरेक चुनावमा इटहरीमा बाढी र धरानमा खानेपानी चुनावी एजेण्डा बन्छ ।

धरानको खानेपानी समस्या समाधानका लागि गम्भीर भएको छनक दिन कुनैपनि दलहरु सजग हुन्छन् । तर, हरेक चुनावमा एजेण्डा बन्ने खानेपानी समस्याले अहिलेसम्म निकास पाएको छैन ।

सन् २०१२ मा एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा खानेपानी परियोजना धरानमा सुरु भयो । परियोजना सम्पन्न भएपछि २०७७ फागुन १९ गते खानेपानी संस्थानलाई खानेपानी बोर्डमा गाभियो । बोर्डका अध्यक्ष धरान उपमहानगरपालिकाका प्रमुख हुने व्यवस्था छ ।

खानेपानी समस्या झेलिरहेको धरानमा दलका नेताहरुले यसैलाई देखाएर भोट मागिरहेका छन् । धारामा पानी नआउँदा धरानवासी स्थानीय ट्यांकरबाट पानी किनेर पिउन बाध्य छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै दल र तिनका नेताहरुले खानेपानीसमस्या देख्न थालेको सर्वसाधारण बताउँछन् ।

इटहरीका राजनीतिक दलका उम्मेदवारहरुले बाढीपीडितको समस्या समाधान गर्ने संकल्प गर्दै घर–घरमा मत मागिरहेका छन् । स्थानीयबासी भने आफ्ना समस्या समाधान गर्ने संकल्प गर्नेमध्ये पूरा गर्ने विश्वासिलो व्यक्तिको खोजी गरि रहेका छन् । ‘मत माग्न आउने सबैले समस्या समाधान गर्छु नै भनिरहेका छन् तर हामी छलफलकै क्रममा छौ,’ गैरीगाउँकी लक्ष्मीकुमारी चौधरीले भनिन्, ‘हेरौ अब हाम्रा माग पूरा गर्ने जसले विश्वास दिलाउँछ, उसैलाई मत दिनेछौं ।’ उनीहरुको एउटै माग छ, विगतको नियती व्यहोर्नु नपरोस् ।

गैरीगाउँमा २०६५ सालदेखि ऐलानी जग्गा ओगटेर बस्न थालेका बग्रेल्ती घरपरिवार छन् । ‘अघिल्लो वर्ष पनि हामीलाई ऐलानी जग्गाको लालपुर्जा दिने भनेर वडा कार्यालयमा सबै प्रक्रिया पूरा गरियो, अहिलेसम्म पाएको छैन,’ स्थानीय इन्द्रा रसाइलीले भनिन, ‘हाम्रो त आसैआशमा जिवन वित्ला जस्तो भइसक्यो ।’ उनका अनुसार अब भने राजनीतिक दलसँग आफ्ना माग पूरा गर्ने आधार खोजेर अनि मात्र मतदान गरिनेछ ।

गैरीगाउँसँगै वडा नं. ३, ९ र १० को बुढी खोला नदीको तटीय क्षेत्रमा बसोबास गर्नेलाई हरेक राजनीतिक दलले भोट बैंकको रुपमा प्रयोग गर्ने गर्छन् । ‘चुनाव आएका बेला नेताहरुले संसार नै देखाउँछन् । तर, यसपटक भने हामी सचेत हुनेछौँ,’ उनले भनिन् ।

चार वर्षअघि आएको बाढी पीडित सय घर परिवारलाई ऐलानी वा सरकारी जग्गा खोजी गरेर व्यवस्थित कार्यपालिकाको निर्णय पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । इटहरीमा वर्षेनी आकाशबाट परेको पानीको निकास नहुँदा वस्तीका घरहरुमा पानी प्रवेश गरेर क्षति गर्ने गरेको छ । अर्कातिर अविरल रुपमा परेको वर्षासँगै आएको बाढी बुढी र टेङ्ग्रा खोलाको पानी ओभरफ्लो भएर वस्तीमा प्रवेश गर्ने गरेको छ ।

इटहरीमा बाढी रोकथामका निम्ति प्रभावकारी काम नहुँदा वर्षेनी स्थानीयले समस्या झेल्दै आएका छन् । यहाँ पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, तेह्रथुम, धनकुटा लगायतका स्थानबाट बसाई सर्नेले घर निर्माण गरेका छन् । नयाँ प्लटिङ् गरेको स्थानमा घर निर्माण गरेसँगै सबैतिर सडक विस्तार गरिएको छ। तर, सडक विस्तार गर्दा व्यवस्थित ढल निकास छैन ।

इटहरीमा खोला कटान तथा डुबान नियन्त्रण सम्बन्धि कुनै पनि काम नभएको भने होइन । वर्षेनी मोटो रकम खर्च हुने गरेको छ । तर, पनि परिणममुखी नतिजा भने आउन सकेको छैन । राजनीतिक दलहरुले इटहरी नगरलाई बाढी तथा डुबानको जोखिमबाट मुक्त गर्न नगर क्षेत्र भएर बग्ने शेरा र टेङ्ग्रा खोलालाई स्थायी रुपमा डाइसर्भन गरी व्यवस्थित गर्ने पनि उल्लेख गर्छन् ।

शुक्रबार, २३ बैशाख, २०७९, दिउँसोको ०३:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर