विराटनगर । छिटपुटबाहेक गर्मी छल्ने गरी बनाइएका होचा फुसका छाना भएका घर । घरको बारमा रूख, कतै सूर्य कतै हसिया हथौडा, छाता तथा लालटिन, कलम अंकित झण्डा । कच्ची सडकमा धुलो उडाउँदै गुड्ने मोटर र टेम्पोमा पनि पार्टीका झण्डा । विराटनगर महानगरपालिका १४ महतटोल पुग्दा अहिले चुनावका यस्तो चहल पहल देखिन्छ ।
गर्मीका कारण विराटनगरको दक्षिण भेगको बस्तीमा उम्मेदवार त देखिएका छैनन्, तर यस बस्तीका मान्छेलाई भने गर्मीले छेकेको छैन । महत बस्ती भनेर चिनने यहाँ १ सयदेखि १५० घर परिवारका सुकुमबासीको बसोबास रहेको छ । बस्तीको बिचमा ६७ वर्षे सौदागर महतो घरको खाटमा बसेका छन् । गाउँमा चुनाव आएछ, तपाईंहरुलार्ई चुनाव कत्तिको लागेको छ ? जिज्ञासा नसकिदै उनीले भने, ‘विकास गर्ने होइनन्, जति भोट दिएपनि हाम्रा दुःख हामीसँगै हुने हुन्, भोट मात्रै लिन्छन्, काम गर्ने होइनन् ।
नेताले झुट मात्र बोल्छन् ।’ यहाँको महत टोलमा वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्बासीको एउटै माग रहेको छ । धनीपूर्जा । ‘७ धुरमा घर बनाएको छु । तीन छोरा रहेका छन् । यहाँ बसेको वर्षौ भइसक्यो,’ उनले भने, ‘चुनाव आयो नेताले सुकुम्बासी व्यवस्थापन गर्ने भनेर घोषण पत्रमा राखेका हुन्छन् । तर, त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेका छैन । अहिले पनि प्रमुख दलहरूले चुनावी घोषणा पत्रमा सुकुमबासी धनी पूर्जा वितरण गर्नेदेखि सुकुम्बासीको व्यवस्थापन उल्लेखछ त । कार्यन्वयन गर्छन् भन्ने हामीलाई लागेको छैन ।’ यहाँको सुकुमबासीलाई धनीपूर्जा दिने ग्यारेन्टि गर्ने र डुवान मुक्त वडा बनाउने दलका उम्मेदवारलाई भोट दिने महतटोलबासीको योजना रहेको उनले सुनाए ।
‘महतटोलको यो बाटो गएको चुनावमा पनि यस्तै थियो, अहिले पनि उस्तै छ । अहिलेसम्म पिच हुन सकेको छैन । विराटनगरको उत्तरी क्षेत्रको प्रायः सबै वडा पिच भइसकेको छ । विकासले पछिपरेको दक्षिण क्षेत्रको विराटनगर १४ को त्यो पनि महतटोल होला,’ ग्राभेल सडक देखाउँदै ७० वर्षे जगनाथ महतोले भने, ‘सबै भोट माग्न आउँछन्, काम चाँहि गर्दैनन् । उधारोमा भोट दिँदा हाम्रो बस्ती सँधै पछि प¥यो ।’
यो त्यही संसदीय क्षेत्र हो, जहाँ माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डलले चुनाव लडेर जितेका थिए । मोरङको क्षेत्र नं. ५ विराटनगर १४ नं. वडा पर्छ । ०७४ मा मण्डलले चुनाव जिते । प्रभावशाली नेताको चुनाव क्षेत्र भएर पनि गाउँको विकासमा त्यो प्रतिबिम्बित देखिदैन । ‘प्रदेशको राजधानी सहर रहेको विराटनगरको दक्षिण भेगको अहिलेलाई यो बाटो नै हाम्रो लाइफलाइन हो, बिरामी भए यहीबाट एम्बुलेन्स गुडाउने हो । तर, अरु बेलै यो बाटो हिड्दा सञ्चै मान्छे पनि बिरामी पर्ने अवस्था छ,’ ६० वर्षे पृथीलाल महतोले भने, ‘हामी जसले यो बाटो पिच गरिदिन्छ, उसैलाई भोट दिन्छौँ ।’
विराटनर महानगरपालिको नेतृत्व गर्न अहिले सत्तारूढ गठबन्धन काँग्रेसबाट नागेश कोइराला मेयर, उपप्रमुख जसपाबाट अरमेन्द्र यादव, एमालेबाट मेयर सागर थापा, उपमेयरबाट शिल्पा कार्की, मेयर पदका स्वतन्त्र उम्मेदवार उमेश यादव र नमिता न्यौपाने उठेकी छिन् ।