विराटनगर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट विराटनगरले पाँचौं मेयर पाउँदैछ । विराटनगरमा हालसम्म २ पटक कम्युनिष्ट र २ पटक कांग्रेसले मेयर जितेका छन् ।
२०४३ सालमा वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठ मेयर बनेका थिए भने २०४८ सालमा भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार अशोक कोइराला विजयी बने । २०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल मेयरमा निर्वाचित भएको २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसका भीम पराजुली विजयी बने ।
विगत हेर्दा कम्युनिष्ट र कांग्रेसले विराटनगरमा आलोपालो नेतृत्व गरेका छन् । उम्मेदवारहरू मात्र नभएर पार्टी पनि दोहोरिएको छैन । विराटनगरले पाँचौं मेयर २ सातापछि पाउनेछ । विराटनगरलाई नेपाली काँग्रेसले आफ्नो गढको रुपमा दावी गरेपनि विगत हेर्दा त्यस्तो देखिन्न ।
दोस्रो जनआन्दोलनपछि भएको तीन केन्द्रीय निर्वाचनमा पनि विराटनगरमा काँग्रेसको कमजोर उपस्थिति रहेको देखिन्छ । २०६४ सालको संविधानसभा निर्वाचनमा विराटनगर जोडिएको निर्वाचन क्षेत्र नं. ५, ६ र ७ तीन वटैमा काँग्रेस पराजित भएको थियो । त्यसबेला तीनवटै क्षेत्र तत्कालिन मधेशी जनअधिकार फोरमले जितेको थियो ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा विराटनगरसँग जोडिएको निर्वाचन क्षेत्र नं. ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डल निर्वाचित हुँदा ६ मा काँग्रेसका महेश आचार्य र ७ मा काँग्रेसकै डा.शेखर कोइराला निर्वाचित भएका थिए । चार वर्षपछि भएको स्थानीय तह निर्वाचनमा २०७४ मा काँग्रेसबाट मेयर र उपमेयर दुबैमा भीम पराजुली र ईन्दिरा कार्कीले बाजी मारे ।
तर, स्थानीय तह निर्वाचन भएको ६ महिनापछि भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने काँग्रेसको उपस्थिति कमजोर देखिएको महानगरसँग जोडिएका निर्वाचन क्षेत्र नं. ४, ५ र ६ तीनवटैमा काँग्रेस पारजित भयो । ४ माओवादीका अमनलाल मोदी, ५ मा माओवादीकै शिवकुमार मण्डल र ६ मा एमालेका लालबाबु पण्डित निर्वाचित भए । एकैसाथ भएको प्रदेशसभा निर्वाचनमा पनि विराटनगर जोडिएको क्षेत्रबाट काँग्रेसबाट केदार कार्की मात्र निर्वाचित भए । अन्य २ क्षेत्रमा एमालेका जीवन घिमिरे र मधेसी जनअधिकार फोरमका जयराम यादव निर्वाचित भए ।
विगतको निर्वाचनको परिणामको तुलनात्मक अध्ययन गर्दा काँग्रेसले दावी गरेजस्तो विराटनगरमा उसको सहज जीत हुने अवस्था देखिन्न । यद्यपी २०७४ को निर्वाचनमा एकल मेयर र उपमेयरसहित बहुमत वडा जितेको, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक काँग्रेसमै समाहित भएको र बामपन्थी शक्ति विभाजित भएको अवस्थाको लाभ काँग्रेसलाई छ । त्यसमाथि यसपटक गठबन्धनबाट काँग्रेस चुनाबी मैदानमा उत्रिएको छ ।
यद्यपी २०७४ मा निर्वाचित भएका भीम पराजुलीको नेतृत्वमा विराटनगरमा उल्लेखनीय काम नभएकोले नागरिक तहमा भने काँग्रेस आलोचित छ । मेयरका उम्मेदवार नागेश कोइरालाले आफ्नो संकल्प पत्रमै महानगरको अनावश्यक खर्च कटौती गर्नेदेखि अन्य सुधारका विषय राखेर पराजुली नेतृत्वको अप्रत्यक्ष आलोचना गरेका छन् ।
२०७४ को निर्वाचनमा महानगरमा काँग्रेसका वडाध्यक्षहरुले १७ हजार हाराहारी मात्र मत प्राप्त गरेका थिए । तर, मेयरका उम्मेदवार पराजुलीले २३ हजार बढि मत प्राप्त गर्नु उनको व्यक्तिगत प्रभावको कारण थियो । अहिलेको मेयरका उम्मेदवार नागेश कोइरालाको व्यक्तिगत क्रेज भने २०७४ मा भीम पराजुलीको जस्तो छैन ।
विराटनगरमा गठबन्धन भएर उपमेयरमा जनता समाजवादी पार्टीका अमेरन्द्र यादव उम्मेदवार बनेका छन् । नेपाली काँग्रेसमा गठबन्धनको विरुद्ध अभिव्यक्ति दिँदै आएका डा.शेखर कोइरालाको गृहनगर विराटनगर काँग्रेसको नेतृत्व पनि गठबन्धनको पक्षमा थिएन । केन्द्रबाट गठबन्धन बनेको भएपनि चुनाबी अभियानमा त्यसको अनुभूति देखिएको छैन ।
काँग्रेसले गठबन्धनको आवश्यकता नदेखेको भन्दै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले खुलेर सहयोग गरेको छैन । अर्कोतिर मेयर र उपमेयरका उम्मेदवारबीच पनि सहकार्य देखिएको छैन । उनीहरु छुुट्टाछुट्टै चुनाबी अभियानमा छन् भने संयुक्त घोषणापत्र पनि महानगरमा बन्न सकेको छैन ।
वडा तहसम्म गठबन्धन गर्न काँग्रेस तयार नभएकोले समस्या भएको भन्दै माओवादी केन्द्रका महानगर इञ्चार्ज शिवकुमार मण्डलले गठबन्धनको सहयोग आवश्यकता भए काँग्रेसले वातावरण बनाउनुपर्ने बताएका छन् । काँग्रेसको दम्भको कारण विराटनगर र मोरङमा गठबन्धन प्रभाबकारी नभएको भन्दै उनले आफूहरु भने इमान्दार रहेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी पनि काँग्रेसको अहंकार र आफूहरुप्रतिको हेपाहा प्रबृत्तिको कारण मोरङमा गठबन्धन प्रभाबकारी नभएको बताउँछन् । केपी ओलीको निरंकुृश प्रबृत्तिविरुद्ध लड्न आफूहरुले गठबन्धनमा जोड दिएको भएपनि काँग्रेसले त्यसलाई कमजोरी ठानेर ओलीकै जस्तो प्रबृत्ति देखाएको उनको भनाइ छ ।
महानगरको मेयर र उपमेयरमा केन्द्रबाटै गठबन्धन भएपनि गठबन्धनको मर्म अनुसार चुनाबी अभियान अगाडि बढ्न नसकेको जनता समाजवादी पार्टीका नेता राजकुमार यादवले बताए । वडामा छुट्टाछुट्टै उम्मेदवार भएको कारण मेयर र उपमेयरको संयुक्त चुनाबी अभियान पनि सञ्चालन हुन नसकेको र त्यसमा काँग्रेसकै कारण समस्या भएको उनको भनाइ छ ।
नेपाली काँग्रेस विराटनगर महानगर सभापति दिपक चापागाईंले विराटनगरमा गठबन्धन आवश्यक छैन भनेर आफूहरुले हिजो पार्टीमा मत राखेको अहिले पनि त्यसमा अडिग भएको बताए । केन्द्रबाटै निर्णय भएकोले उपमेयरमा गठबन्धन स्वीकारेको भएपनि वडामा गठबन्धनको आवश्यकता नभएकोले नगरिएको उनको स्पष्टोक्ति छ ।
गठबन्धन दलबीचको किचलोबीच महानगरको मेयरमा जसपाबाट विद्रोह गरेर उमेश यादवले मेयरमा र माओवादी केन्द्रबाट विद्रोह गरेर नमिता न्यौपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा जसवा र माओवादी केन्द्रको गठबन्धनबाट मेयर र उपमेयरको उम्मेदवार बनेका उनीहरु दुबैले ‘लालटिन’ चुनाबचिन्ह लिएर चुनाबी अभियान थालिसकेका छन् । माओवादी केन्द्र र जसपाको तल्लो तहको अधिकांश कार्यकर्ताको पंक्ति उनीहरुकै साथमा देखिँदा गठबन्धनलाई चुनौति बनेको छ ।
गठबन्धन दलभित्रको किचलो मात्र नभएर नेपाली काँग्रेस महानगरको चुनाबी अभियानमा एक भएर होमिएको अवस्था छैन । महानगरेको मेयर दावी गरेपनि टिकट नपाएका संस्थापन पक्षका नेताहरू खुलेर कोइरालाको चुनाबी अभियानमा सहभागी भएका छैनन् ।
गठबन्धनको किचलोलाई नेकपा एमालेले भने आफ्नो अवसरमा बदल्न चाहेको छ । महानगरमा तल्लो तहसम्म पुगेका नेता सागर थापालाई एमालेले मेयरको उम्मेदवार बनाएको छ । उनी एमालेको एकीकृत शक्तिसँगै गठबन्धनमा बिच्किएको मत पनि तान्ने प्रयासमा छन् । विद्यार्थी आन्दोलनबाट स्थापित भएका थापाले काँग्रेसको पनि युवा पंक्ति र असन्तुष्ट मत तान्ने आँकलन गरिएको छ ।
राजनीतिको उर्वरभूमि मानिएको विराटनगरमा गत निर्वाचनमा मेयरमा कांग्रेसका उम्मेदवार भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की निर्वाचित भएका थिए । मेयरमा पराजुलीले २३ हजार ३१ मत, एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए । उपमेयरमा कांग्रेसकी कार्कीले २० हजार १४६ र माओवादीकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन् भने नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले तेस्रो स्थान प्राप्त गर्दै १० हजार ५३६ मत ल्याएकी थिइन् ।
एकीकृत हुन नसकेको गठबन्धनका उम्मेदवार कोइराला र एमालेका थापाबीच नै महानगरमा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । यद्यपी मधेसी मतदातासामु राम्रो प्रभाब राख्ने स्वतन्त्र उम्मेदवार यादव पनि प्रतिष्पर्धाको रिङभित्रै छन् । त्रिपक्षीय प्रतिष्पर्धाबीच विराटनगरको पाँचौ मेयरको छिनोपाने अबको दुई साताभित्र हुनेछ ।
विगत 5वर्ष देखि हाम्रो दक्षिण बेल्ट मा विकास को नाम मा हामी धेरै नै पछारी परेको छो । अब त लाग्छ उमेश न आए हाम्रो विकाश हुने छैन किन की हाम्रो तिर डुबान करिब 4वर्ष निरन्तर जानकारी गर्दा गर्दा केही पहल हुन सकेको छैन जसमा करिब 40/50बिगाहा शम्म बाली डुबान हुँदै आए को छ