काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वराज पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्नेगरी एकल बढुवा गरेर पहिलो रोलक्रममा राखेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामा सिंहलाई आईजीपी बनाइएको हो ।
सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर, सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको हो ।
पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्वको सरकारले दरबन्दी थप गरेर आईजीपीको रोलक्रममा ल्याउने गरी एकल बढुवा गरेर एआईजी बनाएको थियो । प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्नसक्ने भनिएको छ ।
हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आइतबारबाट अवकाश पाउँदैछन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
को हुन् सिंह ?
दैलेखको विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् । उनी हालका आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका थिए । तरm वैकल्पिक सूचीमा परे र २०४९ चैतमा नियुक्ति लिए ।
३० वर्षे सेवा अवधि कायमै रहे उनले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् । सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरेका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छँदा उनले तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय)को नेतृत्व गरेका थिए । एसपी छँदा उनले पर्सा र दाङको नेतृत्व गरेका थिए ।
यसैबीच नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिमा असन्तुष्टि जनाउँदै अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने भएका छन्। सरकारले वरियता मिचेर धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गरेपछि एआइजीद्वय अदालत जान लागेको स्रोतले जानकारी दिएको छ।