विराटनगर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिक आउँदै गर्दा राजनीतिक दलहरुमा चुनावको चटारो सुरु भइसकेको छ । जनताका बीचमा जाँदा खालीहात जान नहुने मान्यता अनुसार जनतालाई केही न केही मसला दिने तयारी प्रायः सबै उम्मेदवारले सकेका छन् ।
पहिले राजामहाजाले जस्तै विभिन्न आश्वासनको घोषणा गर्दै घोषणापत्र लिएर जनताको घरदैलोमा पुग्ने राजनीतिक दलहरुले अहिले घोषणापत्र भन्ने भाषालाई परिमार्जन गरेका छन् । विराटनगरमा गठबन्धन बनाएर चुनावमा जाने सहमति गरेको भएपनि नेपाली कांग्रेस एकल ‘संकल्पपत्र’ लिएर चुनाव प्रचारमा गएको छ ।
नेकपा एमालेले जनताका बीचमा गर्ने बाचाहरुलाई प्रतिबद्धतापत्रको नाम दिएको छ । शनिबार मात्र चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवारहरुमध्ये उपमेयरकी उम्मेदवार नमिता न्यौपाले(पोखरेल)ले पनि आफ्नो प्रतिबद्धतापत्र तयार पारेकी छन् ।
तीन फरक राजनीतिक पृष्ठभूमिका उम्मेदवारहरुले तयार गरेको विराटनगर महानगरपालिकाको विकासको प्रतिवद्धतामा भने धेरै समान योजना र दृष्टिकोणहरु नै समेटिएको पाइएको छ । विराटनगरको विकासका लागि उनीहरुले जनताको मन जित्नेगरी कुनै नयाँ अवधारणा अगाडि सार्न सकेका छैनन् । सबैका कार्यक्रमहरु, सबैले पहिचान गरेका समस्याहरु करिब समान छन् ।
पाँच राजनीतिक दलको गठबन्धनको मुख्य घटक नेपाली काँग्रेसले ६० बुँदे संकल्प–पत्र तयार गरेर सार्वजनिक गरेको छ भने नेकपा एमालेले १०० बुँदे प्रतिबद्धतापत्र १४ पेजको सानो बुकलेटमा सार्वजनिक गरेको छ । नेकपा माओवादी केन्द्रको पृष्ठभूमिमा रहेर राजनीति गर्दै आएपनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी नमिता न्यौपानेले २३ बुँदामा आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेकी छन् ।
मुख्य दल र त्यससँग सम्बन्धित उम्मेदवारहरुको घोषणा पत्रमा अधिकांश बुँदाहरुमा समानता छ । नेपाली काँग्रेस र नेकपा एमाले दुबैले अल्पकालीन र दीर्घकालीन योजनाहरु तयार गरी गुरुयोजना बनाउने विषयलाई प्राथमिकता दिएका छन् । स्वतन्त्र उम्मेदवार न्यौपानेले पनि पाँच, दश र पन्ध्र वर्षे योजना बनाएर महानगरको विकास गर्ने विषय समेटेकी छन् ।
तीनवटै घोषणापत्रमा शिक्षा सुधारका लागि समान दृष्टिकोण सार्वजनिक भएको छ । सबैले सरकारी सामुदायिक शिक्षाको सुधार, स्तरोन्नति र पूर्वाधार विकास गर्ने कुरालाई जोड दिएका छन् । उनीहरुले विद्यालयको पूर्वाधार विकास गर्दै कक्षा कोठामा स्मार्ट बोर्ड, भेण्डिङ मेसिनसहितको प्याड बोर्डको प्रबन्ध गर्ने विषयलाई समेटेका छन् ।
ट्राफिक व्यवस्थापन र विराटनगरको पार्किङको समस्या समाधान गर्ने विषयले तीनवटै प्रतिबद्धता पत्रमा स्थान पाएको छ । नेकपा एमाले र नेपाली काँग्रेस दुवैको प्रतिज्ञापत्रमा महानगरमा अस्पताल र वडामा स्वास्थ केन्द्र बनाउने विषय समावेश छ । यस्तै विराटनगरसँग साइनो भएका राजनीतिक नेताहरुको प्रतिमासहितको राजनीतिक सङ्ग्राहलय वा पार्क बनाउने विषयलाई पनि दुबै दलले स्थान दिएका छन् ।
दुई ठूला राजनीतिक दल र स्वतन्त्र उम्मेदवार न्यौपानेको प्रतिवद्धतापत्रमा समावेश भएको अर्को समानता निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम हो । नेपाली काँग्रेसले ६५ वर्षमाथिका सबै जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य बिमा गरिदिने भनेको छ भने एमाले र स्वतन्त्र उम्मेदवार न्यौपानेले विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिने भनेका छन् । भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई जमिन र आवास दिने विषयमा पनि तीनवटै पत्रमा समान दृष्टिकोण छन् ।
वातावरण संरक्षण, सरसफाइ र नदी किनारको सौन्दर्यकरण, पार्क जस्ता विषयमा सबैको समान धारण प्रतिबद्धतापत्र वा र संकल्प पत्रमार्फत सार्वजनिक गरिएका छन् । सबै धर्म, संस्कृति र सम्प्रदायका भाषा, संस्कार, संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकास गर्ने विषयलाई सबैले समेटेका छन् ।
दलहरु र स्वतन्त्र उम्मेदवारले विपन्न र गरिब परिवारलाई निशुल्क बिजुली उपलब्ध गराउने विषयमा समान दृष्टिकोण अगाडि सारेका छन् । नेकपा एमालेले ४० युनिट बिजुली निःशुल्क दिने प्रतिबद्धता जनाएको छ भने काँग्रेस र स्वतन्त्र उम्मेदवारले ३० युनिट बिजुली निःशुल्क दिने भनेका छन् ।
युवा, महिला तथा बेरोजगारलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने विषयमा पनि तीनैवटा पत्रका समान दृष्टिकोण छन् । नेपाली काँग्रेसले पहिलो बुँदामा भ्रष्टाचार नियन्त्रण र सुशासनको विषय समावेश गरेको छ भने नेकपा एमालेले पहिलो बुँदामा सर्वदलीय सहमतिमा बिकास भनेको छ । सार्वजनिक सौचालयको विषयलाई पनि सबैले समान स्थान दिएका छन् ।
केही फरक देखिएका कार्यक्रमहरुमा नेपाली काँग्रेसले तारे होटल र कम्तिमा एक सय जनालाई रोजगारी दिने सपिङ कम्प्लेक्स, मल वा डिपार्टमेन्ट स्टोरलाई कम्तिमा पाँच वर्षसम्म ५० प्रतिशत राजश्व छुट दिने संकल्प गरेको छ । एमालेले गरिबीको रेखामुनी भएका रहेका छात्रछात्रालाई प्राविधिक र इन्जिनियरिङ शिक्षाको अवसर प्रदान गर्न घुम्ती कोष र शैक्षिक उपहार कार्यक्रम सञ्चालन गर्ने भनेको छ ।
एमालेले विराटनगरका भीड हुने स्थानमा आकाशेपुल बनाउने प्रतिबद्धता जनाएको छ भने काँग्रेस त्यस विषयमा मौन बसेको छ । चुनावका बेला सार्वजनिक गरिएका प्रतिवद्धतापत्र वा संकल्पपत्रहरु विराटनगरको वास्तविक आवश्यकता पहिचान गरि अध्ययनका आधारमा नभई चुनावी प्रचारको सामग्रीको खपतका लागि सतही रुपमा मात्र आएको देखिन्छ ।
विगत निर्वाचनमा झैं यस वर्ष दलहरुले ल्याएका कार्यक्रम र पहिचान गरेका मुद्दाहरुमा खासै भिन्नता छैनन् । विगतमा प्रतिवद्धता व्यक्त गरेर अहिलेसम्म कार्यान्वयन गर्न नसकेका विषयप्रति तीनवटै पत्रहरुले जनतासँग क्षमा माग्ने आवश्यकता महसुस नगरेको पाइएको छ ।