उदयपुर । नेपालको राजनीतिक परिवर्तनमा उथलपुथल ल्याउने १० वर्षे जनयुद्धमा आफ्नी आमा र बुबा गुमाएका विनोद कटुवाल उदयपुरको कटारी नगरपालिकामा उपमेयरको उम्मेदवार बनेका छन् । कटारी नगरपालिका–२ गुराँस घर भएका कटुवाल जनयुद्धका सहिद मोहन कटुवाल र गंगा कटुवालका कान्छा छोरा हुन् ।
जिल्लामा दिवस उपनामले चिनिने कटवाल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट कटारी नगरपालिकामा उपमेयरको उम्मेदवार बनेका हुन् । मेयरको आकांक्षी भएपनि राष्ट्रिय राजनीतिको परिवेशले बनेको पाँच दलीय गठबन्धनका कारण उपमेयरमा सीमित भएको उनको भनाइ छ ।
‘हिजो मातापिताले जुन कामको लागि रगत बगाउनु भएको थियो, त्यही काम पुरा गर्न खोजेको हुँ’ उनले भने । सहिदको बलिदानीबाट प्राप्त उपलब्धि व्यवस्था परिवर्तन भएर काठमाडौंको सिंहदरबार गाउँमा आएको भन्दै उनले अब नागरिकको अवस्था परिवर्तन गर्नुपर्ने बताए ।
संविधानमाथि र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिगामी तत्वहरुले षड्यन्त्र गर्न थालेपछि बनेको गठबन्धन रक्षा गर्दै मैदानमा होमिएको उनले बताए । कटारीमा मेयरको उम्मेदवार नेपाली कांग्रेस उदयपुरका जिल्ला सहसचिव राजेशचन्द्र श्रेष्ठ छन् ।
को हुन्, विनोद कटुवाल ?
माओवादी जनयुद्धमा बाआमा गुमाएका कटुवालको बाल्यकाल युद्धमै वितेको थियो । बाबुआमाको हत्यापछि राज्यले बाल अधिकार खोसेकोले जनयुद्धको सिपाही हुन बाध्य भए, उनी । बाबुआमाको हत्यापछि उनीसहित दिदी र दाजु पनि जनयुद्धमा होमिएका थिए । उनको बाल्यकाल जनयुद्धकै मोर्चामा हालका सभामुख अग्नि सापकोटाको सिन्धुपाल्चोकमा रहेको घरमा वितेको थियो ।
त्यो बेला सिन्धुपाल्चोकमा ध्रुव पराजुली माओवादी इन्चार्ज थिए । उनैको पहलमा पठनपाठनको लागि सिन्धुपाल्चोक लगिएको थियो, दिवस र बहिनीलाई । त्यही उनी अखिल (क्रान्तिकारी) सेतीदेवी पञ्चकन्या मावि (हाल उच्च मावि), कुबिन्डे इकाई समितिमा आबद्ध भए । सापकोटा परिवारको सबै परिवार जनयुद्धमा होमिएकोले उनी पनि धेरै समय घरमा बस्न सकेननन् र पूर्णकालिन भए ।
पूर्वमा भएका ठूला कारबाही सबैमा संलग्न हुँदै आएको र धेरै मोर्चामा लडेको बताउने दिवस राजनीतिले नै उज्यालो भविष्य दिने अपेक्षामा छन् । बाआमाबाट नपाएको माया सापकोटा परिवारबाट पाएको बताउने उनी अब कटारीबासीको मायामा उनीहरुकै लागि आफूलाई समर्पित गर्ने बताए ।
कटुवालको राजनीतिक यात्रा
विनोदको बुबालाई प्रहरीले २०५५ कार्तिक १२ गते चिम्टाघारीमा हत्या गरेको थियो । उनी त्यसबेला ११ वर्षका मात्र थिए । बुबाको मृत्युपछि डिप्रेसनको बिरामी भएकी आमालाई तत्कालीन शाही सेनाले २०५९ चैत ८ गते घरबाटै पक्राउ गरे हत्या गरेको थियो ।
२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा सहिद परिवारको कोटाबाट संविधानसभा सदस्यको लागि पार्टीले उम्मेदवार बनाउन चाहेको भएपनि उमेर नपुगेकोले उनले उम्मेदवार बन्न पाएनन् ।
आफ्ना बुवाआमाले बगाएको रगतले निर्माण भएको पार्टी र जनयुद्धको बलमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, समावेशी, समानुपातिक व्यवस्था प्राणभन्दा प्यारो भएको कटुवालको भनाइ छ । कटुवाल भन्छन्, ‘यही व्यवस्थामाथि प्रतिगामीहरुले पड्यन्त्र गर्न खोजेपछि अहिले पाँच दलीय गठबन्धन बनेको छ । त्यही गठबन्धनलाई विजयी गराउनको लागि पनि मेरो उपमेयरमा उम्मेदवारी हो ।’
कटुवालका योजनाहरु
‘हामी पानीजहाज ल्याउँछौँ, मेट्रो रेल कुदाउँछौँ भन्दैनौँ’ उनले भने, ‘कटारीका जनताको दैनिक जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने योजना हाम्रा प्रतिवद्धता हुन् ।’ स्वास्थ्य, शिक्षा, आवास, सडक, विद्युत, खानेपानीमा लगायतमा सहज बनाउँदै लाने योजना रहेको उनले बताए । संविधानले दिएको स्थानीय तहको अधिकारको प्रयोग र उपभोगको लागि काम गर्ने उनले बताए ।
स्थानीय तहमा जितेपछि सबै अंगहरुको बीचमा समन्वयात्मक रुपले काम गर्ने, प्रशासनलाई जनसेवामुखी, प्रभावकारी, छिटो छरितो, सरल, सर्वसुलभ, पारदर्शी र उत्तरदायी बनाउने, सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त बनाउने, योजनाहरु कार्यान्वयन भएको, नभएको अनुगमन र निरीक्षण प्रणालीलाई प्रभावकारी बनाइने उनले बताए छ । प्रशासनिक जनशक्तिको व्यवस्थापन गर्दा अनुभव, क्षमता र योग्यताअनुरुप उपयुक्त पात्रलाई उपयुक्त स्थानमा राख्ने मान्यतालाई अवलम्वन गरिने उनको योजना छ ।
वैज्ञानिक भूमि व्यवस्थापन र भू–उपयोगको नीति तर्जुमा गर्ने, त्यसैको आधारमा शहरी र ग्रामीण क्षेत्रको विकासको लागि बृहत्तर गुरुयोजना तर्जुमा गर्ने, भूमिमाथि जोताहा किसानहरुको स्वामित्वलाई सुनिश्चित गनेर््, जमिनलाई अव्यवस्थित घरघडेरी लगायतका अनुत्पादक क्षेत्रमा प्रयोग गर्न, बाँझो राख्न र खण्डिकरण गर्नलाई नियन्त्रण गरी जमिनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उनले बताए । ग्रामीण क्षेत्रमा मुख्यतः आय–आर्जन र रोजगारमूलक कृषि उत्पादन, खाद्यान्न उत्पादन, दलहन, फलफुल, तरकारी, नगदेवाली, पशुपालन लगायत मुख्यतः नगदे बालीको खेतीमा जोड दिने, एक गाउँ एक कृषि नमूना उत्पादनमा जोड दिने उनले बताए ।
कृषि उत्पादनमा प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिइने छ । कृषि बजारको व्यवस्थालाई व्यवस्थित गरी प्रत्येक गाउँमा कृषि उपजहरुको बजारको व्यवस्था गरिने छ । कृषि उपजको भण्डारण र शितभण्डारणको व्यवस्था गरिने छ । कृषि उत्पादनमा सहकारी प्रणालीलाई प्रोत्साहित गरिनेछ । किसान र उपभोक्ताबीचको विचौलियाहरुको तहगत संरचनालाई न्यूनीकरण गर्दै किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध र लाभको लागि बहुउद्देश्यीय सहकारी प्रणाली मार्फत् कृषि उत्पादन, उत्पादित वस्तुहरुको भण्डारण, ढुवानी र कृषि बजारको व्यवस्था गरिने छ ।
साना तथा गरीविका रेखामुनि रहेका किसानहरुको लागि सहुलियत व्याज दरमा कृषि ऋणको व्यवस्था गरिने छ । कृषि पेशालाई प्रोत्साहित गर्न किसान पेन्सनको व्यवस्था गरिनेछ । अव्यवस्थित तथा छरिएर रहेको ग्रामीण बस्तीहरुलाई एकीकृत सघन बसोबासको लागि सघन वस्ती विकास कार्यक्रम सञ्चालन गरिने छ । प्रत्येक ग्रामीण क्षेत्रहरुमा सफा खानेपानी, शौचालय, सरसफाई, फोहरमैला व्यवस्थापन, स्वास्थ्य सेवा केन्द्र, शिक्षालय, खेलमैदान, यातायात, इन्टरनेटको सेवालगायतका सूचना संचार केन्द्र आदि आधारभूत संरचनाहरुको विकासमा जोड दिइने छ । ग्रामीण सडक गुरुयोजनाको मापदण्ड बनाएर आर्थिक उत्पादनको गतिविधिसँग जोड्ने गरी ग्रामीण हरित सडक संजालको निर्माण र विस्तार गरिने छ ।
ग्रामीण क्षेत्रमा पर्यटन र वातावरणीय संरक्षणलाई ध्यानमा राखी पर्यटकीय पैदल मार्ग र केवल कारहरुको व्यवस्था गर्न जोड दिइने छ । गाउँहरुलाई स्मार्ट नमूना गाउँको रुपमा विकास र विस्तार गर्न जोड दिइने छ । ग्रामीण क्षेत्रमा कृषिजन्यसाना तथा घरेलु उद्योगहरुमा जोड दिइने छ । त्यसप्रकारका उद्योगहरुलाई सहुलियत व्याज दरमा ऋण दिने व्यवस्था गरिने छ ।
पूर्वाधार विकासका परियोजनाहरु सञ्चालन गर्दा स्वदेशी पुँजी, स्थानीय स्रोत साधन र श्रममुखी साना तथा सरकारले धान्न सक्ने मझौला प्रकृतिका योजनाहरुमा जोड दिइने छ । एक गाउँ एक नमुना उद्योग स्थापना गर्न जोड दिइने लगायतका योजना रहेका छन् ।