चुनाबी गठबन्धनः प्रदेश १ का चार जिल्लामा टुंगियो

बाँकी जिल्लामा पनि सहमतिको अन्तिम प्रयास हुँदै । संखुवासभा र सोलुखुम्बुमा प्रतिष्पर्धाको संभावना

विराटनगर । सत्तारुढ पाँचदलीय गठबन्धन दलहरुबीच आगामी स्थानीय तहको निर्वाचनको लागि प्रदेश १ का चार जिल्लामा तालमेल टुंगिएको छ । अहिलेसम्म प्रदेशका चार जिल्लामा दलहरुले भागबण्डा टुंग्याएका छन् भने बाँकी जिल्लाहरुमा छलफल चलिरहेको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्र प्रदेश १ समितिका उपाध्यक्ष शिवकुमार डाँगीका अनुसार अहिलेसम्म गठबन्धनका दलहरुले जिल्लाबाट ताप्लेजुङ, भोजपुर र खोटाङका स्थानीय तहहरुको भागबण्डा टुंग्याएका छन् । ताप्लेजुङमा वडासम्म पनि तालमेल गर्ने सहमति दलहरुबीच भएको छ भने भोजपुर र खोटाङका केही स्थानीय तहमा गठबन्धन दलहरुबीच प्रतिष्पर्धा गर्ने निर्णयसमेत भएको छ । ओखलढुंगामा पनि तालमेलको सहमति भइसकेकोमा दलहरुको आन्तरिक विवादले सहमति कार्यान्वयनमा समस्या देखिएको छ ।

नेता डाँगीका अनुसार भोलिसम्म सबै जिल्लामा गठबन्धनको सहमति हुनेछ । संखुवासभाबाहेका सबै जिल्लामा कतै पूर्ण र कतै आंशिक गठबन्धन हुने अवस्था रहेको उनले बताए । संखुवासभामा भने यसअघि नै गठबन्धनको बैठक भाँडिएकोमा फेरि सहमतिको प्रयास हुन नसकेको बताइएको छ ।

उता सोलुखुम्बुमा पनि सहमति नजुटे प्रतिष्पर्धामा जानेगरि छलफल भइरहेको नेताहरुले बताएका छन् । धनकुटा, ओखलढुंगा, पाँचथर, झापासहितका जिल्लामा पनि सहमतिको प्रयास अन्तिम चरणमा रहेको नेताहरुले बताएका छन् ।

ताप्लेजुङका ९ स्थानीय तह र जिल्ला समन्वय समितिको भागबण्डामा दलहरुबीच सहमति भएको छ । सहमति अनुसार काँग्रेसले ७ वटाको नेतृत्व पाएको छ भने नेकपा माओवादी केन्द्रले ३ वटाको नेतृत्व पाएको छ । यस्तै उपप्रमुख÷उपाध्यक्षमा माओवादी केन्द्रले ६, काँग्रेसले २ र नेकपा एकीकृत समाजवादीले २ स्थान पाएका छन् ।

फुङलिङ नगरपालिकामा प्रमुख काँग्रेस र उपप्रमुखमा माओवादीले उम्मेद्वारी पाउने सहमति भएको छ भने मौवाखोला गाउँपालिकामा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेसले पाउने सहमति भएको छ । आठराई त्रिवेणीमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, मिक्वाखोलामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादीले उम्मेद्वारी पाउने सहमति भएको छ ।

त्यसैगरी मेरिङदेन गाउँपालिकामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष एकीकृत समाजवादी, फक्ताङलुङमा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस, पाथिभरा याङवरकमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, सिदिङ्वामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, सिरिजंघामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादीले उम्मेद्वारी पाउने सहमति भएको गठबन्धनको जिल्ला कार्यदलले जनाएको छ । जिल्ला समन्वय समितिमा प्रमुख माओवादी र उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले ४ स्थानीय तह जितेको थियो भने नेकपा एमालेले एक मात्र फुङिलङ नगरपालिकासहित पाँच स्थानीय तह जितेको थियो् । माओवादीका भने १ उपप्रमुख र १ उपाध्यक्ष मात्र थिए ।

उता भोजपुर जिल्लामा गठबन्धन दलहरुले दुईटा स्थानीय तहमा प्रतिष्पर्धा गर्ने निर्णयसहित बाँकी स्थानीय तहको भागबण्डा गरेका छन् । जिल्लाका ९ स्थानीय तहमध्ये आमचोक र अरुण गाउँपालिकमा गठबन्धन दलहरुले ‘मित्रवत प्रतिष्पर्धा गर्ने’ सहमति गरेका छन् ।

माओवादी नेता अजम्बर काम्बाङले दिएको जानकारी अनुसार जिल्लामा भएको सहमति अनुसार ५ स्थानीय तहको नेतृत्व काँग्रेसले, २ स्थानीय तहको नेतृत्व माओवादी केन्द्रले र जिल्ला समन्वय समितिको नेतृत्व जनता समाजवादी पार्टीले पाउने भएको छ । यस्तै उपप्रमुख र उपाध्यक्षमा माओवादी केन्द्र ४, काँग्रेस २ र नेकपा एकीकृत समाजवादीले २ पाउने भएका छन् ।

भोजपुरमा भएको गठबन्धनको निर्णय अनुसार भोजपुर नगरपालिकामा मेयर काँग्रेसले र उपमेयर एकीकृत समाजवादीले तथा षडानन्द नगरपालिकामा मेयर काँग्रेसले र उपमेयर माओवादी केन्द्रले पाउने भएको छ । गाउँपालिकाहरुमध्ये रामप्रसाद राईमा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस, पौवादुङ्मामा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस, हतुवागढीमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, टेम्केमैयुङमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष एकीकृत समाजवादी, साल्पासिलिछोमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी तथा जिसस प्रमुखमा जसपा र उपप्रमुख माओवादीले पाउने सहमति भएको छ ।

भोजपुरमा गएको स्थानीय तहको निर्वाचनमा काँग्रेसले ४ स्थानीय तहको नेतृत्व जितेको थियो भने नेकपा एमालेले पनि ४ र माओवादी केन्द्रले १ तह जितेका थिए । उपप्रमुख÷उपाध्यक्षमा एमालेका ५, माओवादी केन्द्रका ३ र काँग्रेसका १ जना निर्वाचित भएका थिए ।

उता खोटाङका ४ स्थानीय तहमा काँग्रेस बाहेका सत्तारुढ दलहरुबीच तालमेल भएको छ भने बाँकी ६ स्थानीय तहमा काँग्रेससहितको गठबन्धन बनेको छ । काँग्रेसबाहेकको गठबन्धन भएको हलेसी तुवाचुङ नगरपालिकामा मेयर र उपमेयर दुबै माओवादीले, केपिलासगढीमा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष जसपाले, साकेलामा अध्यक्ष माओवादी र उपाध्यक्ष जसपाले तथा दिप्रुङ चुईचम्पामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा माओवादीले लिने भएको छ ।

खोटाङमा १० स्थानीय तह रहेकोमा बाँकी ६ वटा स्थानीय तहमा भने गठबन्धन दलहरुबीच तालमेल भएको छ । जसमा ३ वटाको नेतृत्वमा माओवादीले र ३ वटाको नेतृत्व काँग्रेसले पाएको छ । उपप्रमुख र उपाध्यक्षमा काँग्रेसका ३, माओवादीका २ र एकीकृत समाजवादीका १ उम्मेदवार हुने भएका छन् ।

जिल्लाको दिक्तेलरुपाकोट मझुवागढी नगरमा मेयरमा काँग्रेस र उपमेयरमा माओवादीले उम्मेद्वारी पाउने भएका छन् । बहरापोखरी गाउँपालिकामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष एकीकृत समाजवादी, रावावेसीमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी, ऐसेलुखर्कमा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस, खोटेहाङमा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस तथा जन्तेढुंगा गाउँपालिकामा अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेसले पाउने सहमति भएको छ ।

खोटाङमा गत स्थानीय तहको निर्वाचनमा एमालेले ५, काँग्रेसले ४ र माओवादी केन्द्रले १ तहको नेतृत्व जितेको थियो । उप्रमुख÷उपाध्यक्षमा एमालेले ८ र काँग्रेसले २ तह जितेको थियो ।

बिहिबार, ०८ बैशाख, २०७९, दिउँसोको १२:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर