तथ्यांकमा प्रदेश १ का स्थानीय तह : यी हुन् ५ सयभन्दा कम मतले जितेका पालिका

२०७४ को चुनावमा ५ सयभन्दा कम मतान्तरमा एमालेले ३५, काँग्रेसले २५, माओवादीले ८ र राप्रपाले ३ स्थानीय तह जितेका थिए ।

विराटनगर । स्थानीय तहको निर्वाचन नजिक आइरहेको बेला आगामी निर्वाचन परिणामको बारेमा पनि जोडघटाउ भइहरेको छ । १३७ स्थानीय तह रहेको प्रदेशमा आगामी निर्वाचनको लागि ३३ लाख ४७ हजार ३८४ मतदाताले आफ्नो प्रतिनिधि छान्नेछन् ।

अघिल्लो निर्वाचनमा प्रदेशमा नेकपा एमाले एक्लैले ५१.४९ प्रतिशत स्थानीय तह जितेको थियो । १३७ पालिकामध्ये एमालेले ६९, नेपाली काँग्रेसले ५४ (फोरम लोकतान्त्रिकबाट जितेका ३ सहित), माओवादी केन्द्रले ९, राप्रपाले ३ र जसपाले २ स्थानीय तहको नेतृत्व जितेको थियो ।
निर्वाचनमा सरकारमा सहभागी भएका दलहरुले गठबन्धन गराएर जाने निर्णय गरेका छन् भने नेकपा एमालेले राप्रपा नेपाल, परिवार दलसहितसँग गठबन्धनको निर्णय गरेको छ । यद्यपि गठबन्धन कति कार्यान्वयन हुन्छ, यकिन भइसकेको छैन ।

गठबन्धन कायम भएर गएमा नतिजामा उलटफेर हुनसक्छ । किनकि २०७४ को स्थानीय तहमा करिब आधा स्थानीय तहमा ५०० भन्दा कम मतान्तरमा परिणाम आएको थियो । एमालेले जितेका ३५, काँग्रेसले जितेका २५, माओवादी केन्द्रले जितका ८ र राप्रपा नेपालले जितेका ३ स्थानीय तहमा ५०० भन्दा कम मतान्तर थियो ।

पाँचदलीय गठबन्धन कायम भएर गएको अवस्थामा एमालेले जितेका ३५ भन्दा धेरै स्थानीय तह गुमाउने निश्चित देखिएको छ । किनकि ५०० भन्दा कम मतान्तर रहेको ती तहमा विपक्षमा रहेका दलहरु मिल्नसाथ ठूलो मतान्तरले एमाले पछि पर्ने अवस्था छ । अर्कोतिर एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीको कारण पनि एमालेको मतमा क्षति पुगेको छ ।

गत स्थानीय तहको निर्वाचनको परिणाम विश्लेषण गरेका राष्ट्रियसभाका सदस्य डा.खिमलाल देवकोटाका अनुसार प्रदेशका स्थानीय तहमध्ये १ प्रतिशत थप मतदाताले दोस्रो शक्तिलाई मतदान गरेमा १३ स्थानको, थप २ प्रतिशत मतदाताले दोस्रो शक्तिलाई मतदान गरे २४ स्थानको, थप ३ प्रतिशत मतदाताले दोस्रो शक्तिलाई मतदान गरे २९ स्थानको र थप ४ प्रतिशत मतदाताले दोस्रो शक्तिलाई मतदान गरे ४१ स्थानको परिणाम उल्टनेछ । यस्तै ५ प्रतिशत थप मतदाताले दोस्रो शक्तिलाई मतदान गरेमा ४८ स्थान र १० प्रतिशत थप मतदाताले दोस्रो शक्तिलाई मतदान गरे ८१ स्थानको परिणाममा फरक पर्नेछ ।

एमालेले ५०० कम मतान्तरले जितेका तह

नेकपा एमालेले २०७४ को निर्वाचनमा प्रदेश १ का २८ नगरपालिकामा जित हासिल गर्दा ९ वटामा र ४१ गाउँपालिकामा जित हातपार्दा २६ वटामा ५०० भन्दा कम मतान्तर थियो । त्यसमध्ये सुनसरीको धरान उपमहानगरपालिकामा उपनिर्वाचनमै काँग्रेसले जितिसकेको छ ।

संखुवासभाको खाँदबारी नगरपालिकाको प्रमुख पदमा एमालेका मुरारीप्रसाद खतिवडाले ५५६५ मत प्राप्त गरि ४३४ मतान्तरले ५१३१ प्राप्त गरेका काँग्रेसका महेश थपलियालाई पराजित गरेका थिए । संखुवासभाकै चैनपुर नगरपालिकामा एमालेका भरतकुमार खत्री १२५ मतान्तरले बिजयी बने । उनले ५३१७ मत प्राप्त गर्दा काँग्रेसका शंकरमान कँडेलले ५१९२ मत प्राप्त गरेका थिए ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एमालेका छत्रपति प्याकुरेल १८९ मतान्तरले बिजयी भएका थिए । प्याकुरेलले ३८९५ मत प्राप्त गर्दा काँग्रेसका केशवप्रसाद दाहालले ३६०६ मत प्राप्त गरेका थिए । तेह्रथुमको म्याङलुङ नगरपालिकामा संजयकुमार साम्बाहाम्फेले ३८९० मत प्राप्त गरि ३२२ मतान्तरले ३५६८ मत प्राप्त गरेका काँग्रेसका रणबिक्रम लिम्बूलाई पराजित गरेका थिए ।

धनकुटाको धनकुटा नगरपालिकामा एमालेका चिन्तन तामाङ ११४ मत अन्तरले निर्वाचित भएका थिए । उनले ४९३३ मत प्राप्त गर्दा काँग्रेसका दिनेश राईले ४८१९ मत प्राप्त गरेका थिए । यस्तै मोरङको बेलबारी नगरपालिकामा एमालेका ज्ञानेन्द्र सुवेदी २०१ मतान्तरले निर्वाचित भएका थिए । सुवेदीले १०७८४ मत प्राप्त गर्दा काँग्रेसका राजकुमार लिम्बूले १०५८३ मत प्राप्त गरेका थिए ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एमालेका मोहनकुमार श्रेष्ठले ४७३९ मत प्राप्त गरि १२६ मतान्तरले ४६१३ मत प्राप्त गर्ने काँग्रेसका डिल्लीराम खनाललाई हराएका थिए । उदयपुरको कटारी नगरपालिकामा एमालेका ज्ञानेन्द्र श्रेष्ठ ६९०९ मत प्राप्त गरि १७४ मतान्तरले ६७३५ मत प्राप्त गरेका काँग्रेसका ज्ञानेन्द्रसिंह राउतलाई पराजित गरेका थिए ।

उदयपुरको त्रियुगा नगरपालिकामा बलदेव चौधरी ७३ मत अन्तरले निर्वाचित भएका थिए । चौधरीले ११३६८ मत प्राप्त गर्दा काँग्रेसका बसन्तकुमार बस्नेतले ११२९५ मत प्राप्त गरेका थिए । चौधरी अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

गाउँपालिकातर्फ ताप्लेजुङ्गको फक्ताङलुङ्ग गाउँपालिकाक अध्यक्षमा एमालेका सरोज लिम्बू ३३३ मतान्तरले बिजयी बनेका थिए । उनले १९९८ मत प्राप्त गर्दा काँग्रेसका मणिप्रसाद लिम्बूले १४६५ मत प्राप्त गरेका थिए । ताप्लेजुङ्गकै मिकुवाखोला गाउँपालिकामा रामकुमार साँवाले १४८४ मत प्राप्त गरि २५ मतान्तरले १४५९ मत प्राप्त गरेका काँग्रेसका भक्तबहादुर कार्कीलाई हराएका थिए ।
ताप्लेजुङ्गको याङवरक गाउँपालिकामा एमालेका केशरकुमार सुब्बा ३३६ मतान्तरले निर्वाचित भएका थिए । उनले २५१७ मत ल्याउँदा काँग्रेसका रामबहादुर लिम्बूले २१८१ मत प्राप्त गरेका थिए । यस्तै पाँचथरको याङ्वरक गाउँपालिकामा एमालेका लेखनाथ घिमिरेले ३७४८ मत ल्याएर २९९ मतान्तरले ३४४९ मत ल्याएका काँग्रेसका शेरबहादुर नुबोलाई पराजित गरेका थिए । इलामको चुलाचुलीमा एमालेका प्रदीपचन्द्र राईले ३४९३ मत प्राप्त गरि ३४४ मतान्तरले ३१४९ मत प्राप्त गरेका काँग्रेसका राजेन्द्र केरुङलाई हराएका थिए ।

झापाको कमल गाउँपालिकामा हुकुमसिंह राई र मेनुका काफ्लेले ८२७५ बराबर मत पाउँदा गोलाप्रथाबाट काफ्ले बिजयी बनेकी थिइन् । संखुवासभाको मकालु गाउँपालिकामा खड्गबहादुर कटुवाल ४८७ मतान्तरले बिजयी भएका थिए । उनले १७१२ मत प्राप्त गर्दा काँग्रेसका विद्रोही उम्मेदवार पेम्बा टासी शेर्पाले १२२५ मत प्राप्त गरेका थिए ।

संखुवासभाको सभापोखरीमा रत्नबहादुर सुब्बा ५७ मतान्तरले बिजयी भए । सुब्बाले २०६० मत ल्याउँदा काँग्रेसका भीमबहादुर लिम्बूले २००३ मत प्राप्त गरेका थिए । तेह्रथुमको आठराई गाउँपालिकामा एमालेका मानबहादुर लिम्बू १०३ मत अन्तरले बिजयी बन्दा उनले ३८४७ मत प्राप्त गरेका थिए भने काँग्रेसका टेकराज लिम्बूले ३७४४ मत ल्याएका थिए ।

तेह्रथुमको फेदाक गाउँपालिकामा एमालेकै हरिप्रसाद चोङ्वाङ्ग २१९ मत अन्तरले बिजयी भएका थिए । उनले ३४३९ मत प्राप्त गर्दा काँग्रेसको केशवप्रसाद भेटवालले ३२२० मत प्राप्त गरेका थिए । तेह्रथुमकै मेन्छ्यायेम गाउँपालिकामा एमालेका यादवबहादुर खापुङ १८७ मतान्तरले बिजयी भएका थिए । उनले १६८३ मत ल्याउँदा काँग्रेसका देउबहादुर लिम्बूले १४९६ मत प्राप्त गरेका थिए ।

भोजपुरको ट्याम्केमैयुम गाउँपालिकामा एमालेका धु्रवराज राई १४८ मतान्तरले बिजयी बनेका थिए । उनले २७८० मत प्राप्त गर्दा संघीय समाजवादी फोरमका रामसिंह राईले २६३२ मत प्राप्त गरेका थिए । भोजपुरकै पौवादुम्बा गाउँपालिकामा एमालेका किरण राई १९६३ मत प्राप्त गरि १२९ मतान्तरले बिजयी हुँदा माओवादीका नगेन्द्रबहादुर भुजेलले १८३४ मत प्राप्त गरेका थिए ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एमालेका विजय राई २३५६ मत ल्याएर ८ मतको अन्तरले बिजयी बन्दा माओवादीका थामबहादुर राईले २३४८ मत प्राप्त गरेका थिए । भोजपुरकै हतुवागढी गाउँपालिकामा प्रेमकुमार राई २३६ मतान्तरले बिजयी बन्दा ३४९६ मत प्राप्त गरेका थिए भने काँग्रेसका मनदबहादुर खुलालले ३२६० मत ल्याएका थिए ।

मोरङको ग्रामथान गाउँपालिकामा एमालेका शिवनारायण माझी ५९ मत अन्तरले निर्वाचित भएका थिए । माझीले ४७२० मत ल्याउँदा फोरम लोकतान्त्रिकका जयप्रकाश गच्छदारले ४६६१ मत प्राप्त गरेका थिए ।

सोलुखुमबुको खुम्बूपासाङ ल्हामु गाउँपालिकामा एमालेकै ङिमदोर्जी शेर्पाले १४२४ मत ल्याएर २२ मतले बिजयी बन्दा काँग्रेसका चुङब शेर्पाले १४०२ मत प्राप्त गरेका थिए । सोलुकै नेचासल्यान गाउँपालिकामा डुफकुमार बाँस्तोलाले १६९८ मत ल्याएर ४२ मतले निर्वाचित हुँदा काँग्रेसका धनजन राईले १६५६ मत प्राप्त गरेका थिए । सोलुको सोताङ गाउँपालिकामा गिरबहादुर राई १३२ मतान्तरले बिजयी भए । उनले १००३ मत ल्याउँदा स्वतन्त्रका दिपक खड्काले ८७१ मत ल्याएका थिए ।

खोटाङको केपिलासगढी गाउँपालिकामा कृष्णकुमार राई २९५ मतान्तरले निर्वाचित भएका थिए । राईले १८०६ मत ल्याउँदा काँग्रेसका समिर राईले १५११ मत प्राप्त गरेका थिए । खोटाङकै खोटेहाङ गाउँपालिकामा प्रदिप राई ३१२७ मत प्राप्त गरि ४४५ मतान्तरले बिजयी बन्दा माओवादी केन्द्रका राजनप्रसाद ढकालले २६८२ मत प्राप्त गरेका थिए । खोटाङको लामिडाँडा गाउँपालिकामा लिलानाथ निरौला ३३४ मतान्तरले निर्वाचित हुँदा १९०९ मत प्राप्त गरेका थिए भने काँग्रेका जनककुमार कार्कीको मत १५७५ थियो ।

ओखलढुंगाको मोलुङ गाउँपालिकामा एमालेका मणिराज राई २६ मतको अन्तरले निर्वाचित हुँदा ३०१२ मत प्राप्त गरेका थिए भने काँग्रेसका महेन्द्रबहादुर कार्कीको मत २९८६ थियो । ओखलढुंगाकै लिखु गाउँपालिकामा गोविन्दबहादुर पौडेलले ३०१० मत प्राप्त गरि ७५ मतान्तरले निर्वाचित बन्दा कांग्रेसका अशोककुमार कार्कीले २९३५ मत प्राप्त गरेका थिए ।

उदयपुरको ताप्ली गाउँपालिकामा उद्धवसिंह थापाले १२९१ मत प्राप्त गरि १२६८ मत पाएका स्वतन्त्र उम्मेदवार पदमबहादुर तामाङलाई २३ मतले पराजित गरेका थिए । उदयपुरकै रौतामाई गाउँपालिकामा गजेन्द्रबहादुर खड्काले २७४२ मत प्राप्त गरि २६२४ मत पाएका माओवादीका वीरेन्द्रकुमार मगरलाई ११८ मतान्तरले पराजित गरेका थिए ।

काँग्रेसले ५०० कम मतान्तरले जितेका तह

नेपाली काँग्रेसले प्रदेश १ का ३४ गाउँपालिकामा जित हासिल गर्दा १८ वटामा र १९ वटा नगरपालि जित्दा ७ वटामा ५०० भन्दा कम मताान्तर थियो । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका विश्वनाथ सिटौलाले १३ मत अन्तरले जितेका थिए । उनी २२२७ मत प्राप्त गरेर बिजय हुँदा एमालेका लक्ष्मीबहादुर याक्सोले २२१४ मत ल्याएका थिए ।

ताप्लेजुङकै मिरिङदेन गाउँपालिकामा गणेबहादुर लिम्बूले २३०० मत प्राप्त गरि ११५ मतान्तरले बिजयी बन्दा एमालेका मंगलसिंह केदेमले २१८५ मत प्राप्त गरेका थिए । ताप्लेजुङको सिदिङ्वा गाउँपालिमा नरबहादुर कडरियाले २५३७ मत प्राप्त गरी २४४ मतान्तरले बिजयी हुँदा एमालेका मानबहादुर राईले २२९३ मत प्र्राप्त गरेका थिए । ताप्लेजुङकै सिरिजङ्घा गाउँपालिकामा टीकाराम गुरुङले २३७८ मत प्राप्त गरि २१४७ मत पाएका एमालेका अनन्तबहादुर साँवालाई ३५७ मतान्तरले पराजित गरेका थिए ।

पाँचथरको तुम्बेवा गाउँपालिकामा काँग्रेसका होमनाथ थापा ३५७ मतान्तरले बिजयी बनेका थिए । उनले २३५० मत प्राप्त गर्दा माओवादी केन्द्रका देवेन्द्र खत्रीले १९९३ मत प्राप्त गरेका थिए । पाँचथरकै फालेलुङ गाउँपालिकामा सञ्चकुमार केरुङले २९९६ मत प्राप्त गर्दा माओवादी केन्द्रका महेन्द्र जवेगुले २८३४ मत प्राप्त गरि १६२ मतान्तरले पराजित भएका थिए ।

इलामको फाकफोकथुम गाउँपालिकामा काँग्रेसका रामकुमार श्रेष्ठ १६४ मतान्तरले बिजयी बन्दा ४१४२ मत प्राप्त गरेका थिए भने एमालेका दिपेन्द्र खनालले ३९७८ मत प्राप्त गरेका थिए । इलामकै रोङ गाउँपालिकामा शम्सेर राई ३९३ मतान्तरले निर्वाचित भए । उनले ३९८५ मत प्राप्त गर्दा एमालेका वृहस्पति खतिवडाले ३६७२ मत ल्याएका थिए ।

झापाको बाह्रदशी गाउँपालिकामा खड्गप्रसाद राजवंशी ४२८ मतान्तरले बिजयी भएका थिए । उनले ५५३९ मत ल्याउँदा एमालेका लक्ष्मण पाठकले ५१११ मत प्राप्त गरेका थिए । संखुवासभाको भोटखोलामा तेम्बा भोटेले १४१ मतान्तरले चुनाव जितेका थिए । उनले १३७७ मत प्राप्त गर्दा एमालेका वाङ्दावी भोटेले १२३६ मत प्राप्त गरेका थिए ।

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा काँग्रेसका महेश राई ६३ मतले बिजयी भएका थिए । उनले १६७४ मत ल्याउँदा एमालेका खगेन्द्रकुमार राईले १६११ मत प्राप्त गरेका थिए । मोरङको केराबारी गाउँपालिकामा रोहितबहादुर कार्की २८२ मतान्तरले बिजयी भएका थिए । कार्कीले ५४९९ मत प्राप्त गर्दा एमालेका नविन थापामगरले ५२१७ मत प्राप्त गरेका थिए । मोरङकै धनपालथान गाउँपालिकामा हरिलाल सिंह ३५२ मतान्तरले चुनाव जितेका थिए । उनले ५१८७ मत प्राप्त गर्दा एमालेका मुसहरु मण्डलले ४८३५ मत प्राप्त गरेका थिए ।

खोटाङको ऐसेलुखर्कमा विश्वनाथ निरौला ३९६ मतान्तरले बिजयी बन्दा २१३१ मत प्राप्त गरेका थिए भने एमालेका गृहबहादुर राईले १७३५ मत पाएका थिए । खोटाङकै बराहपोखरी गाउँपालिकामा शालिकराम बञ्जरा २३९ मतान्तरले बिजयी भएका थिए । उनले १९७१ मत प्राप्त गर्दा एमालेका गणेशप्रसाद कोइराला १७३२ मत प्राप्त गरी पराजित भएका थिए ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा नवराज केसी ४०० मतान्तरले बिजयी भए । केसीले ३२४१ मत प्राप्त गरे भने एमालेका हरिप्रसाद घिमिरेले २८४१ मत प्राप्त गरेका थिए । ओखलढुंगाकै सुनकोसी गाउँपालिकाका रुद्रप्रसाद अधिकारी ३०५ मतान्तरले बिजयी बने । अधिकारीले ३७०२ मत प्राप्त गर्दा एमालेका ज्ञानबहादुर खड्काले ३३९७ मत प्राप्त गरेका थिए ।
सुनसरीको देवानगंज गाउँपालिकामा काँग्रेसको लालिप्रसाद मेहता ३५८ मतान्तरले बिजयी बनेका थिए । उनले ३६३० मत प्राप्त गर्दा संघीय समाजवादीका बेचनप्रसाद मेहताले ३२७२ मत प्राप्त गरेका थिए । झापाको गौरादह नगरपालिकामा रोहितकुमार साह ४५४ मतान्तरले १०३०८ मत प्राप्त गरि बिजयी बन्दा एमालेका मदनप्रसाद अधिकारीले ९८५४ मत प्राप्त गरेका थिए ।

संखुवासभाको पाँचखपन नगरपालिकामा विपिन राईले ८९ मतान्तरले जित हासिल गरे । उनले ३४०९ मत प्राप्त गर्दा एमालेका मानसिंह पोखरेलले ३३३० मत ल्याएका थिए । भोजपुरको भोजपुर नगरपालिकामा कैलाशकुमार आले ३६ मतको अन्तरले निर्वाचित भए । आलले ४०७० मत प्राप्त गर्दा एमालेका गणेशकुमार श्रेष्ठले ४०३४ मत प्राप्त गरेका थिए ।

भोजपुरकै षडानन्द नगरपालिकामा बीरबल राई २९२ मतान्तरले निर्वाचित भए । राईले ४९८६ मत प्राप्त गर्दा एमालेका सुरेन्द्रकुमार उदासले ४६९४ मत प्राप्त गरेका थिए । मोरङको लेटाङ नगरपालिकामा शंकर राई ३०५ मतले बिजयी बनेका थिए । राईले ६९६१ मत प्राप्त गर्दा एमालेका भूपेन्द्रकुमार लावतीले ६६५६ मत ल्याएका थिए ।

सोलुखुम्बुको सोलुदूधकुण्ड गाउँपालिकामा नाम्गेल जाङ्बु शेर्पा १५० मतान्तरले बिजयी भए । उनले २७५१ मत प्राप्त गर्दा एमालेका आङ्इगेले शेर्पाले २६०१ मत प्राप्त गरेका थिए । खोटाङको हलेसीतुवाचुङ नगरपालिकामा इवन राई ३९८ मतान्तरले बिजयी भएका थिए । उनले ४३९७ मत प्राप्त गरे भने एमालेका खडेन्द्र राईले ३९९९८ मत प्राप्त गरी पराजित भए ।

माओवादी र अन्यले कम मतान्तरमा जितेका

माओवादीबाट पाँचथरको मिक्लाजुङ गाउँपालिकामा अमरराज माखिम ४६६ मतान्तरले बिजयी भएका थिए । माखिमले ३७६२ मत प्राप्त गर्दा एमालेका धनकुमार फियाकले ३२९६ मत प्राप्त गरेका थिए । भोजपुरको आम्चोक गाउँपालिकामा माओवादीका अशोक राई ४५६ मतान्तरले बिजयी भए । उनले ३०८१ मत ल्याउँदा एमालेका बहादुर राईले २६२५ मत प्राप्त गरेका थिए ।

सोलुखुम्बुको दूधकौशिका गाउँपालिकामा असिम राई १८८ मतान्तरले बिजयी बने । राईले २५१२ मत प्राप्त गर्दा काँग्रेसका हुत्तराज बस्नेतले २३२४ मत प्राप्त गरेका थिए । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सागर किराँती १४१० मत प्राप्त गरि २७ मतान्तरले बिजयी बन्दा काँग्रेसका भलाकाजी राईले १३८३ मत प्राप्त गरेका थिए । सोलुखुम्बुकै लिखुपिके गाउँपालिकामा माओवादीका डम्बरबहादुर बस्नेत ३७६ मतान्तरले बिजयी भए । उनले ११३६ मत प्राप्त गर्दा काँग्रेसका रामबहादुर बस्नेतले ७६० मत प्राप्त गरेका थिए ।

खोटाङको साकेला गाउँपालिकामा अर्जुनकुमार खड्का ३५ मतको अन्तरले निर्वाचित भएका थिए । खड्काले १०२० मत प्राप्त गर्दा काँग्रेसका इच्छारामा रानाले ९८५ मत प्राप्त गरेका थिए । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा माओवादीका निशान्त शर्मा ३ मतको अन्तरले निर्वाचित भएका थिए । शर्माले १९०६ मत प्राप्त गर्दा एमालेका भीमबहादुर थापामगरले १९०३ मत प्राप्त गरेका थिए ।

उदयपुरको सुनकोशी गाउँपालिकामा माओवादीका मेजरकुमार राई ६६ मतान्तरले निर्वाचित भएका थिए । राईले १३४७ मत ल्याउँदा एमालेका भलराज राईले १२८१ मत प्राप्त गरेका थिए । यसैगरी प्रदेश १ मा राप्रपा नेपालले झापाका तीन स्थानीय तहको नेतृत्व जितेकोमा सबैमा ५०० भन्दा कम मतान्तर थियो । अहिले राप्रपा विभाजित हुँदा कचनकबलको अञ्जरा आलम र हल्दिीबारीका रविन्द्र लिङ्देन राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामै छन् भने गौरिगञ्जका बाबुराजा श्रेष्ठ कमल थापा नेतृत्वको राप्रपामा लागेका छन् ।

झापाको कचनकवल गाउँपालिकामा राप्रपाका अन्जरा आलम ४६३ मतान्तरले निर्वाचित भएका थिए । उनले ५८१६ मत पाउँदा काँग्रेसका कालेन्द्रप्रसाद सिंह राजबंशीले ५३५३ मत ल्याएका थिए । झापाकै गौरिगञ्ज गाउँपालिकामा बाबुराजा श्रेष्ठ २८७ मतान्तरले बिजयी बन्दा ३७४० मत पाएका थिए भने काँग्रेसका फुलवती राजवंशीको मत ३४५३ थियो । झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाका रविन्द्रप्रसाद लिङदेन ४०० मतान्तरले बिजयी बनेका थिए । उनले ३९४३ मत ल्याउँदा एमालेका मञ्जुदेवी सिटौलाले ३५४३ भोट ल्याएकी थिइन् ।

बुधबार, ०७ बैशाख, २०७९, दिउँसोको ०१:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर