पिकअप भेनमा भेटियो तस्करीको गाँजा

विराटनगर । भारत तस्करी हुन लागेको ठूलो परिमाणमा लागूऔषध गाँजा र अदुवा प्रहरीले बरामद गरेको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ मा एउटा पिकअप भेनभित्र तस्करी हुन लागेको ठुलो परिणाममा लागुऔषध गाँजा र अदुवा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को १ च ५३१८ नम्बरको पिकअपबाट एक सय २० किलो गाँजा र पाँच सय ५४ किलो अदुवा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार निलो त्रिपालले छोपेको पिकअपभित्र गाँजा र अदुवा फेला परेको हो । ‘गाडी भित्र तीन वटा सेतो बोरामा प्याकिङ गरिएको अवस्थामा गाँजा, अदुवा र ६ पोका ४५ केजी धानको भुस पनि बरामद भएको छ,’ उनले भने ।
बोराभित्र हालेर सबैभन्दा तल गाँजा र अदुवा राख्दै माथिबाट धानको भुसले छोपेको अवस्थामा पिकअपलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । तस्करी गरेर गाँजा र अदुवा भारततिर लैजान खोजिएको हुनसक्ने प्रहरीले बताएको छ ।
नेपालबाट भारततिर जाँदै गरेको अवस्थामा प्रहरीले राति १० बजेतिर रोकेर चेकजाँच गर्न खोज्दा पिकअप छाडेर चालक फरार भएका थिए । फरार रहेका चालकको खोजी तीव्र पारिएको छ ।
नेपालका पहाडी जिल्लामा उत्पादन हुने लागुऔषध गाँजा लुकाईछिपाई भारततिर तस्करी हुने गरेको छ । नेपालमा भन्दा महँगो मूल्य पर्ने भएपछि गाँजा भारततिर तस्करी हुने गरेको प्रहरीको भनाइ छ ।

बिहिबार, ०१ बैशाख, २०७९, बिहानको १०:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर