विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना दिएका छन् ।
‘देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘साथै उहाँहरू सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै नयाँ वर्ष थप सुखद र उपलब्धिमूलक बन्न सकोस् भनी कामना गर्दछु ।’ साथै राईले यसै वर्ष हुने स्थानीयदेखि सबै तहका निर्वाचन सफलताको शुभकामना पनि व्यक्त गरेका छन् ।
उनले प्रदेश १ को नामकरण यसै वर्ष टुङ्गिने विश्वास पनि लिएका छन् । ‘२०७८ साल कोरोना महामारी र त्यसको सङ्क्रमण लगायतका कारणले २०७८ साल त्यति सुखद् हुन सकेन,’ उनले भने, ‘स्रोतलाई कोरोना सङ्क्रमण रोकथाम र व्यवस्थापनमा केन्द्रित गर्दा नियमित काम कारबाही केही हदसम्म प्रभावित भए ।’ राईले सीमित स्रोत साधनका बाबजुद जनताको अपेक्षा पूरा गर्न प्रयासरत रहेको बताएका छन् ।
आर्थिक, सामाजिक रुपान्तरणसहित जनअपेक्षा पूरा गर्न निरन्तर अघि बढ्ने कुराको विश्वास उनले दिलाएका छन् । साथै नयाँ वर्ष २०७९ ले नयाँ आशा, उमङ्ग र उत्साह भर्न सकोस् तथा यो वर्षले सुदृढ राष्ट्रिय एकता, विकास र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना मुख्यमन्त्री राईले व्यक्त गरेका छन् ।