शैलेन्द्र श्रेष्ठ
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ सहरी पूर्वाधार विकासका दृष्टिले नमूना काम गर्दै अगाडि बढेको छ । इटहरी उपमहानगरपालिकासँग सिमाना जोडिएको यो वडामा पछिल्लो समय बसाइँ सरेर आउनेहरुको संख्या उल्लेख्य बढेको छ । बस्ती बिस्तारसँगै कृषि क्षेत्र खुख्चिएको छ भने सहरी पूर्वाधारमा बढी काम गर्नुपर्ने अवस्था छ । स्वास्थ्य, शिक्षा, रोजगार जस्ता क्षेत्रमा योजनावद्ध विकास गर्न आवश्यक देखिएको सुन्दरहरैंचाको यस वडाले पाँच वर्षमा गरेको कामबाट वडाध्यक्ष शैलेन्द्र श्रेष्ठपनि सन्तुष्ट देखिनुहुन्छ । सबै पक्षलाई समेटेर अगाडि सारेका विकास निर्माणको योजना लगायतका विषयमा हाम्रोमत दैनिकका गोकुल पराजुली र वडाध्यक्ष श्रेष्ठबीच भएको कुराकानीको सारसंक्षेप :
तपाईँले वडाध्यक्षको रुपमा पाँच वर्ष पूरा गर्नुभयो, कार्यकाल कस्तो रह्यो ?
हामी निर्वाचित भएर आउँदा जुन अपेक्षा र जनमत लिएर आउँदा सिंहदरवारको अधिकार गाउँगाउँमा भनेका थियौं । तर, यो कार्यकालमा हामीले सिंहदरवारका अधिकार गाउँमा ल्याउन भने सकेनौं । सिफारिसको काम गर्नुपर्ने भएकोले धेरै समय कार्यालयमै बस्नुपर्ने अनि कतिपय कामका लागि फिल्डमा वा गाउँटोलमै पुग्नु पर्ने बाध्यताले कतिपय बेलामा जनताले हामीलाई कार्यालयमा नभेट्ने समस्या हुँने रहेछ । समयमा जनप्रतिनधि नभेट्दा सेवा लिन आउनेहरु रिसाउने, गाउँमा हुने विभिन्न घटनाहरुमा सहभागी नहुँदा गाउँले रिसाउने समस्या पनि हुने रहेछ ।
वडाहरुलाई नागरिकता, चारकिल्ला आदि अनेकौं सिफारिस गर्ने जिम्मेवारी छ । सिफारिस गर्नेबाहेक धेरै कामका लागि नगरपालिकामै पुग्नु पर्ने बाध्यता हामीले हटाउन सकेनौं । जसले गर्दा जनताले सेवा लिनका लागि दुःख पाउनु पर्ने अवस्था रह्यो । त्यसबाहेक नियमित रुपमा गर्ने विकास निर्माण, सेवा प्रवाह, जनचेतना र सहभागिताका कामहरु पर्याप्त गरेका छौं ।
नगरपालिकाले वडातहमा कार्यविभाजन गरेर आवश्यक अधिकार नदिँदा समस्या भयो भन्न खोज्नुभएको हो ?
नगरपालिकाले आवश्यक अधिकार दिनेगरी कार्यविभाजन गरेको देखिएन । धेरै सेवा वडाबाटै प्राप्त होस् भन्ने जनता चाहन्छन् । त्यो हुन सकेन । व्यवस्थापनमा कमजोरी देखियो । स–साना बाटो, खानेपानी, कुलो पैनी मर्मत जस्ता कामहरु वडाबाटै सम्पादन हुन् भन्ने जनताको चाहना हामीले पूरा गरेनौं र नगरपालिकानै पुग्न पर्ने बनायौं । यसबाट जनताले अनावश्यक दुःख पाए । त्यसैले वडालाई योजना र लेखासहितको अधिकार हस्तान्तरण हुनुपर्छ जस्तो मेरो अनुभव रह्यो । यो व्यवस्थापकीय कमजोरी हटाउदै लैजान सकिन्थ्यो तर भएन । आगामी दिनमा यसबाट सिकेर व्यवस्थापकीय सुधार गर्नुपर्छ ।
विकास निर्माणको कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
विकास निर्माणको काममा म सन्तुष्ट नै छु । तपाईँहरु आएर स्वयंले अनुगमन गर्न सक्नुहुन्छ कि सुन्दरहरैंचामै राम्रो काम गर्ने वडामा हामी पर्छौं । चुनावका बेलामा कतिपय ठाउँमा भोटमाग्न जाँदा हामी जुत्ता खोलेर गएका थियौं, अहिले प्रायः सबै बाटोहरु कालोपत्रे र ग्राभेल भएका छन् । खानेपानी, कुलो पैनी, बाटो, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरेका छौं । हामीले रिङ रोडसँग हरेक बाटोलाई लिंक गरेका छौं । जनचेताना र स्वरोजगार अभिवृद्धिका लागि पनि तालिम लगायतका काम गरेका छौं । त्यसैले समग्रम यो कार्यकालमा भएका कामहरुबाट म सन्तुष्ट नै छु ।
तपाईंको कार्यकालमा भएका मुख्यमुख्य काम के ह्न त ?
धेरै काम भएका छन् । तर म सन्तुष्ट भएको काम भनेको वडाका हरेक घरमा दुःख पर्दा भेटगर्ने मेरो पहिलो निर्णय अहिलेसम्म कार्यान्वयन गर्न सक्नु नै हो । वडा भनेको स्थानीय सरकार हो । जनताको घरमा दुःख पर्दा सरकारका प्रतिनिधि घरमै पुगेर सहानुभूति प्रकट गर्ने काम सामान्य लागेपनि महत्वपूर्ण हो जस्तो लाग्छ । त्यसबाट म धेरै सन्तुष्ट छु । त्यसबाहेक विकास निर्माणको काम त नियमित भइरहने प्रक्रिया हो । मैले अगाडि पनि भनिसके रिङ रोडसँग लिंक रोडहरुले जोडेका छौं । धेरै बाटो कालोपत्रे गरिएका छन् । केही ग्राभेल बाटोहरु कालोपत्रे गर्न बाँकी छन् । वडा प्रोफाइल बनाएका छौं । त्यसमा सबै षेत्रको अवस्था उल्लेख छ । आगामी दिनमा योजना बनाउँदा यो प्रोफाइलले धेरै सहयोग पुग्छ । वडामा १९ वटा टोल विकास संस्था गठन गरेर विकाससँग जनताको सहभागिता बढाएका छौं । पाँच वर्षको अवधिमा ८५ वटा फुसको छाना फेरेर टिनको छाना लगाउने काम गरेका छौं । २३ वटा घर निर्माण गरेर विपन्न नागरिकलाई प्रदान गरेका छौं ।
कृषि क्षेत्रको उत्पादन बढाउन तपाईँको भूमिका कस्तो भयो ?
हाम्रो वडा इटहरी बजारसँग जोडिएको वडा हो । यहाँ पछिल्लो समय बस्ती विकास तीब्ररुपमा भइरहेको छ । कृषि उत्पादनको क्षेत्र घट्दै गएको छ र घर बन्ने क्रम बढीरहेको छ । यद्यपी केही क्षेत्रमा कृषि उत्पादनको काम पनि हुने गरेको छ । तरकारी उत्पादन गर्ने, बाख्रा पालन गर्ने र नियमित धानखेती गर्ने किसानहरुलाई मल, बिऊ तथा अन्य सहयोगको काम गरेर प्रवद्र्धन गरिरहेका छौं । हामीले एक घर एक फल भन्ने नारासहित फलफुलको विरुवा वितरण गरेका छौं । यो कार्यक्रम प्रभावकारी देखिएको छ ।
विद्यालय सुधार र स्वास्थ्य क्षेत्रमा कस्तो सुधार ल्याउनुभयो ?
हामीले जेष्ठ नागरिकलाई लक्षित गरेर घरघरमै गएर स्वास्थ्य जाँच गरायौं । चिकित्सकसहितको टोली लिएर गाउँ टोलमै पुगेका छौं । आँखाका समस्याहरु पहिचान गरेर उपचारमा सहयोग गरेका छौं । कोभिडमा घरघरमै गएर सेवा गर्ने प्रयत्न ग¥यौं । जसले विरामीहरुमा मानसिक समस्या आउनबाट रोक्न सक्यौं जस्तो लाग्छ । सहरी स्वास्थ्य क्लिनिकलाई आधारभूत स्वास्थ्य केन्द्र बनाउने भन्ने निर्णय गरेका छौं ।
हाम्रो वडामा चार वटा आधारभूत विद्यालयहरु छन् । पहिले लथालिङ्ग अवस्थामा रहेका ती विद्यालयहरुलाई सुधार गर्ने प्रयास स्वरुप नियमित अनुगमन गर्ने, शिक्षकहरुलाई निगरानी गर्ने, सरुवा गरेर सुधारका लागि पहल प्रयत्न गर्ने, पूर्वाधार विकासमा सहयोग गर्ने जस्ता काम गरेका छौं । पहिलेको तुलनामा थोरै सुधार आएको छ ।
तपाईले गर्न खोज्दाखोज्दै स्रोत वा समय अभावले गर्न बाँकी रहेका कामपनि छन् ?
बाँकी रहेका योजनाहरु थुप्रै छन् । मैले सकेको धेरै काम गरेको छु । तर मैले वस्तीको नाला पैनी र ढलको निकासको काम पूर्ण गर्न सकेको छैन । बाढीबाट हुने क्षति रोक्न तटबन्ध बनाउने काम गरें । तर, पानी निकासको काम चाँही स्रोतको अभावले गर्दा अगाडि बढाउन नसकेको अनुभूति भएको छ ।
तपाईँका बाँकी योजनाहरु पूरा गर्न एक पटक चुनाव लडौं र सेवा गरौं भन्न खोज्नुभएको हो ?
सानैदेखि सामाजिक सेवामा सक्रिय भएँ । जनप्रतिनिधि भएर मैले पाँच वर्षमा केही काम गरें र धेरै कुरा त सिक्न पाएँ । यस अवधिमा मेरो मष्तिस्कमा केही नयाँ गरौं भन्ने योजनाहरु आएका छन् । त्यसलाई कार्यान्वयन गर्नका लागि पार्टीले र जनताले विश्वास गरेको खण्डमा एक पटक वार्डकै विकासमा योगदान गरौं भन्ने इच्छा छ ।
तपाईँलाई यो पाँच वर्षको अवधिमा नगरपालिकाका प्रमुख, उपप्रमुख र अरु कर्मचारीहरुबाट कत्तिको समन्वय र सहयोग पाउनुभयो ?
नगरपालिकाबाट मलाई मेयर, उपमेयर लगायत सबै कार्यकारीहरुबाट राम्रो सहयोग भयो । भानुभक्त सरदेखि विनोद सरसम्म ११ जना प्रमुख प्रशासकीय अधिकृतहरुबाट मैले सँधै सहानुभूति र सहयोग पाएँ । मैले अनावश्यक मागहरु लिएर कहिल्यै पनि कार्यपालिकामा गइन । मलाई मेयर, उपमेयर तथा अरु सबैले सहयोग गरेकै कारण फरक काम गरेर नमूना वडाको रुपमा अगाडि बढाउन सकें भन्ने मलाई लागेको छ ।