मोरङमा यौनहिंसाको अत्यासलाग्दो ग्राफ,आठ महिनामा ७९ घटना, ५१ वटा बलात्कार

विराटनगर ।आमाको काखमा खेल्दै गरेका कलिला नानीहरु यौन दुव्र्यवहारको शिकार हुने क्रम ह्वात्तै बढेको छ । मोरङमा लगातार बढिरहेको कहालीलाग्दो यस्तो घटना श्रृंखलामा अर्को प्रकरण थपिएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिकामा एक जना चार वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ परेपछि यो घटना बाहिर आएको छ । वृद्धलाई सोमबार मोरङ जिल्ला अदालतमा ‘बाल यौन दुव्र्यवहार’ मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान सुरू गरेको छ । मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले दिएको जानकारी अनुसार ती वृद्धले बालिकाको संवेदनशील अंगहरू चलाएको आरोप छ ।

यो त भर्खरै सार्वजनिक भएको एउटा प्रतिनिधि घटना मात्रै हो । मोरङमा यस्ता अरु कयौं घटना भइसकेका छन्, जसले ठूलो भीडन्त र तनाव त निम्त्याए नै, बालिकाहरु घरैमा र छिमेकमै पनि पूरै असुरक्षित रहेकोसमेत देखाए ।

गएको ६ चैतमा मोरङको लेटाङ–५ खेरुवाकी १२ वर्षीया छात्रालाई शिक्षक मनोज पौडेलले यौन दुव्र्यवहार गरेको घटनाले उग्ररुप लिँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन मोरङ प्रशासनले चार दिनसम्म लेटाङमा कर्फ्यु लगाउनुपरेको थियो ।

मोरङमा एकपछि अर्को गर्दै श्रृंखलावद्ध यौन दुव्र्यवहार र बलात्कारको घटना बढ्दै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा मोरङमा ७९ वटा यस्ता घटना भएको प्रहरीको अभिलेखमा देखिन्छ । यस्ता घटनामा दुई बालिकाको मृत्युसमेत भएको छ । यीमध्ये ५१ बलात्कार, १३ बलात्कार प्रयास, ११ बाल यौन दुरुपयोग र दुई अप्राकृतिक यौन सम्पर्कका घटना छन् । प्रहरीका अनुसार मोरङमा २०७५÷७६ मा १०७, २०७६÷७७ मा ९२ र २०७७÷७८ मा १२८ वटा बलात्कारका घटना भएका थिए । घटनाका पीडितमध्ये झन्डै ६५ प्रतिशत बालिका रहेको प्रहरीले जनाएको छ ।

प्रायः एक्लै बस्ने, पारिवारिक सम्बन्ध खराब भएकाहरू बढी हिंस्रक भएर बलात्कारतर्फ आकर्षित हुने गरेको वरिष्ठ मनोचिकित्सक डा.रोशन पोखरेल बताउँछन् । ‘बलात्कार भनेकै मानसिक समस्या हो,’ स्वास्थ्य सचिवसमेत रहेका पोखरेलले भने, ‘विवेक गुमाएका यस्ता व्यक्तिले यौनइच्छा पूर्ति गर्न कसैलाई पनि छाड्दैनन् ।’ समाजशास्त्री डिल्ली प्रसाईले कानुन कार्यान्वयनको कमीका कारणले समाजमा अपराध बढेको बताए । कानुनी व्यवस्था भएपनि कार्यान्वयन पक्ष फितलो हुँदा पनि यस्ता घटना बढेको उनको भनाइ छ ।

सामाजिक र पारिवारिक नियन्त्रण प्रणाली बाहिर जाँदा पनि यस्ता आपराधिक घटना हुने गरेको देखिएको उनले बताए । आत्मानुशासनमा कमी, गलत खानपिन र दलका नेतृत्व पंक्तिले सकारात्मक भूमिका नखेल्दा यौनसम्बद्ध अपराध बढेको समाजशास्त्री प्रसाइको भनाई छ । ‘आधुनिक परिवेशमा चरित्र निर्माणका लागि अनुशासन, संस्कार एवं नैतिक मूल्य मान्यताको पाठ जरुरी भइसकेको छ,’ उनले भने, ‘घरपरिवारदेखि यसको सुरुवात हुनुपर्छ ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआईजी अरूणकुमार बिसीले आपराधिक क्रियाकलापमा संलग्नहरूका लागि बालवालिका सजिलै निशानामा पर्छन् । ‘बालवालिकालाई फकाउन पीडकलाई सजिलो हुन्छ । बच्चाहरु भनेको आफनै छिमेकी र आफन्त नातागोताका हुन्छन् । उनीहरुलाई सजिलै विश्वास गर्दछन् । ती साना बालवालिकाहरुलाई के गरेको भन्ने कुरा पनि हेक्का हँुदैन,’ उनले भने, ‘त्यही भएर बालवालिका उमेर समूहमा आपराधिक मानसिकता भएका पीडक हाबी हुने गरेको देखिएको छ ।’

यस्ता घटना बढ्नुमा अभिभावकको हेलचेक््रयाइँ र सामाजिक सञ्जाल प्रयोगलाई प्रमुख कारणका रूपमा प्रहरीले लिएको छ । ‘नानीबाबु घरपरिवार एवं समाजभित्रै असुरक्षित देखिए,’ डिआईजी बिसीले भने, ‘कारबाहीसँगै समाजमा सचेतना पनि आवश्यक छ । अभिभावक पनि सचेत हुन जरुरी छ । आफ्नो बच्चा कोसँग हिँडिरहेको र कतातर्फ लागिरहेका छन् त्यसको पनि हेक्का राख्नुपर्दछ ।’ अभिभावक मात्रै सचेत भइदिए यस्ता घटनामा कमी आउने उनको भनाइ छ ।

चैत्र २९, २०७८, बिहानको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर