विराटनगर । विराटनगरस्थित नोवेल अस्पताल कार्यरत डा. विजय यादवको हत्या भएको भन्दै दोषीउपर कारबाहीको मागसहित विराटनगरमा प्रदर्शन गरेका छन् । मृतकका आफन्त र स्थानीय बासिन्दाहरुले शनिबार प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले हत्यामा संलग्नलाई कारावही गरिनुपर्ने, घटनाको अनुसन्धान गरि दोषीलाई सार्वजानिक गरिनुपर्ने माग राख्दै विराटनगरको रोडशेष चौकदेखि निकालिएको प्रदर्शन विराटनगर महानगरपालिका परिक्रमा गरि जलजला मोडमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरूले ‘केस मोड्न पाइदैन, दोषी छोड्न पाइदैन, पीडितलाई न्याय देलगायतको प्लेकाडसहित प्रदर्शनमा सहभागि भए ।
डा. विजय यादव न्याय संघर्ष समितिले शनिबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज निरौलालाई ज्ञापन पत्र पनि बुझाएका छन् । संघर्ष समितिका संयोजक हिरा यादवले घटनाको गहन अनुसन्धान गरि दोषीलाई कारवाहीको दायारमा ल्यानुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको उनले बताए ।
सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरिया घर भएका यदुनन्दन यादवका एकमात्र छोरा डा. विजय गत शनिबार शंकास्प्द अवस्थामा विराटनगरस्थित डेरामा मृत फेला परेका थिए । परिवार आफन्तले योजनाबद्ध तरिकाले उनको हत्या भएको आरोप लगाएका छन् । उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ । डा यादवको मृत्यु स्वभाविक नरही अन्यत्रै हत्या गरेपछि घटना लुकाउन शव बोकी डेरा अगाडी ल्याएर फालेको हुनसक्ने संघर्ष समितिका अध्यक्ष हिरा यादवले बताए । ‘घटना रहस्मय रहेकोले यस घटनाको गहन अनुसन्धान हुनुपर्दछ । सत्यतथ्य बाहिर ल्याएर दोषीउपर कडा कारवाही हुनपर्दछ,’ उनले भने ।
