लीलाबल्लभ घिमिरे
राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश १ कि कार्यालय प्रमुख नितु गड्तौलाले एक दिन पत्रकार सम्मेलनमा भन्नुभयो, ‘पत्रकार साथीहरु, मेरो अफिसमा यसो अरुबेला चिया खाएर गफ गर्न पनि आउनुहोस् है । महिला प्रमुख छन् भनेर यसरी नबोलाइकन नआउने त गर्नुभएन नि ।’ उहा“ले थप्नुभयो, ‘म त काम पर्दा राति पनि तपाईहरुलाई फोन गरिरहेकी हुन्छु । तर, तपाईहरुको फोन चाँही राति आएको छैन । कि महिला हो भनेर….।’
हो, वास्तवमा भन्नुपर्दा हामी पुरुषहरुले महिलालाई हेर्ने नजर जसरी सिधा देखिन्छ, त्यस्तो अवश्य छैन । सायदै त्यस्ता पुरुष छैनन् होला । जसले महिलाका कुरा नकाटुन् र उनीहरुको कामको सम्मान गरुन् अनि सार्वजनिक रुपमा प्रशंसा गरुन् । अरुको त के कुरा हामी आफ्नै श्रीमतीको समेत खुलेर न त प्रसंसा नै गर्छौ न त कामको मुल्यांकन । मैले यहाँ अरु नराम्रा, म चाँही राम्रो पक्कै भन्न खोजेको हैन । मेरी श्रीमतीको जागिरले मेरो घर चलिरहेको छ । म पेसा कम, राजनीति बढि गर्छु भन्ने कुराको हेक्का मलाई नै राम्रोसँंग छ । अनी मेरी श्रीमती म, मेरी छोरी, विद्युत प्राधिकरणको जागिर, अनि इन्जिनियरिङको पढाइसँगै साथीभाई, घरपरिवार र आफ्न्तलाई समेत चार पाउले टेक्दै अघि बढाइरहेकी छन् ।
सबै कुराको बोध मलाई छ । तर, म यहाँ जति लेखिरहेको छु, त्यो कुरा उनको अगाडिसमेत भन्न चाहन्न । त्यसको एउटै कारण हो, मभित्र रहेको पुरुषवादको घमण्ड । मैले यहाँ कुरा उठाउन खोजेको म र मेरी श्रीमतीको हैन । हाम्रो त सानो यथार्थ पेश मात्र गरेको । ५ वर्षअघि देशका ७५३ स्थानीय तहमा निर्वाचन भएको थियो । त्यसमध्ये जम्मा १८ जना महिलाले मुख्य नेतृत्व पाए । अधिकांश पालिकाहरुको प्रमुखमा पुरुष र उपमा महिला निर्वाचित भए । धेरै स्थानहरुमा उपमेयर÷उपाध्यक्ष महिलाहरुले धेरै राम्रो काम गरेका छन् । तर, कुनैपनि पालिकाका पुरुष मेयर÷अध्यक्षले कुनैपनि उपमेयर÷उपाध्यक्ष महिलाले गरेका राम्रो कामको प्रसंशा गरेको सुनिन्न । उल्टो महिला भएर धेरै अधिकार माग्ने, जेमा पनि चासो राख्ने भन्दै थाङ्ने कुरा गर्दै हिँड्ने मेयर र अध्यक्षहरुको सुची लामै हुन्छ ।
मेयर सावहरुलाई के कुराको हेक्का छैन् भने उहाँहरुले पनि पार्टीको उम्मेदवार भएकै कारणले जितेको हो । त्यहाँ मेरो ठाउँमा कुनै राममाया भएपनि जित्नुहुन्थ्यो भन्ने कुरा मेयर सावहरु स्वीर्कान पटकै तयार छैनन् । यो नियम सबै पालिकामा नलाग्ला । तर, अधिकांशमा व्यक्तिले भन्दा पार्टीले नै जितेको अवस्था हो । एक पटक म मेरा सहकर्मी मित्रहरुलाई आग्रह गर्न चाहन्छु पत्रकार मित्रहरु ! तपाई जुन पालिकामा हुनुहुन्छ, त्यहाँ गएर ५ वर्षसम्म पुरुष मेयर र महिला उपमेयरले गरेका कामको फेएरिस्त सार्वजनिक गरौं । । हामीले ५ वर्षसम्म पुरुष मेयरकै बढि गुणगान गरेर आयौं । उपमेयर र उपाध्यक्षको नाम लेख्न पनि जाँगर चलेन ।
धेरै टाढा जानु पर्दैन, विराटनगर महानगरपालिकाकी उपमेयर इन्दीरा कार्कीले जति गरिरहनुभएको छ, त्यसका बारेमा हामी चर्चा गर्न तयार छैनौं । मुत्युलाई पराजित गरेर फर्केकी इन्दीराको दैनिकी अहिले पनि सबैले देख्न सक्छन् । एक महिनापछि छाड्ने कुर्सीमा बसेर जनताका काम भन्दै औषधिको झोला बोकेर पुरौ खाटो समेत नबसेको घाउ लिएर काम गरिरहनु भएको छ । विगत वर्षहरुमा पनि उहाँले गरेका कामको मूल्याङ्कन गरे हुन्छ । तर, चिया पसलमा दिनरात गफ लडाउने हामी पुरुषहरुको नजरमा अहिले पनि महिलाका राम्रा काम जनर पर्ने अवस्था छैन ।
विराटनगरकी कार्की मात्र हैन, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले उपमेयर भएर मात्र हैन राजनितिक रुपमा मारेको फड्को समेतलाई हामी इश्र्याकै रुपमा हेरिरहेका छौं । इटहरी, बेलबारी, पथरी, उर्लावारीलगाएका उपमेयर महिलाहरुले आसन्न निर्वाचनमा मेयरको दावी गरेका छन् । प्रदेश १ का १३७ पालिकामा अहिले सम्म १ जना पनि महिला प्रमुख नजितेका हैनन्, टिकट नै नपाएका हुन् । संविधानमा महिलाहरुका लागि ३३ प्रतिशत अधिकार सुरक्षित गरिएको छ । तर, ब्यवहारामा कस्तो अवस्था छ भन्ने कुराको हेक्का हामी सबैलाई छ ।
आउन लागेको निर्वाचनमा हाम्रा ठूला दलहरुले कतिवटा पालिकाको प्रमुख पदमा उम्मेदवार बनाउँछन् भन्ने मुख्य कुरा हो । तर, मलाई लाग्छ फेरि पनि प्रदेश १ महिलेले अवसर पाउन गाह्रो छ । किनभने महिला प्रमुखले टिकट पाउन उहाँहरुको पहुँच केन्द्रीय नेतृत्वसम्म छैन । पुरुषकै माध्ययमबाट जोडिएको छ । महिलाले चुनावमा पैसा खर्च गर्न सक्दैनन् भन्ने सोच हावी छ । हुन त महिलाको विरोध पुरुषले मात्र हैन, महिलाले पनि नगरेको अवस्था चाही हैन । आज एक जनाले पाउनुभयो भने भोलि मैले पाउछु भन्ने सोच छैन । महिलाले पाउनुपर्छ, त्यसमा पनि मैले पाउनुपर्छ भन्ने महिलाको संख्या धेरै छ ।
हाम्रो समाजमा गडेर रहेको पुरुषवादी सोचबाट हाम्रो समाज र राजनीतिक दलहरु पनि संक्रमित छन् । राजनीति गर्न हिँडेका महिलाहरुलाई समाजले हेर्ने नजर बदल्न सक्नुपर्छ । यसो भन्दैमा क्षमता नभएका महिलाहरुले पुरुषको फेर समातेर पद हत्याउन सफल भएका छन्, ती महिलाहरुका लागि भने अवश्य पनि यी शब्दहरु खर्चेको हैन । क्षमता नभए पनि कुनै नेतालाई कुनै न कुनै प्रलोभनमा पारेर पदमा पुगेका महिलाहरुका कारण पनि सक्षम महिलाहरुले समेत केही गर्न सक्दैनन् भन्ने सोच हाम्रो दिमागमा परेको छ । यसलाई चिर्न सक्नुपर्छ । नेताका इच्छा पुरा गरेर पाउने पदले महिलाको सम्मान हैन, इज्जत लुटिएको छ भन्ने कुरा बुझ्नु जरुरी छ । तर, बोरामा एउटा आलु कुहियो भनेर बोरा नै फ्याँक्नु मुर्खता हो । त्यसैले आउने निर्वाचनमा सक्षम महिलाहरुले मेयरको टिकट पाउनुपर्छ र जिताउनु पर्छ । दलहरुले यसलाई मनन् गरिदिउन् भन्ने अपिल हो । धर्मग्रन्थ अनुसार शक्तिस्वरुपा महिलाहरुलाई न्याय होस् । जय महिला ।