२०३० सालतिर महेन्द्र मोरङ्ग क्याम्पसका प्राध्यापक प्रफुल्लकुमार सिंह मौनले मोरङ्ग जिल्लाका मधेसी समुदायमा वृहत् अन्वेषण गरेका थिए । मोरङ्गमा रहेका विविध जातजातिमाथि गरिएको सम्भवतः यो पहिलो खोजमूलक कार्य थियो । आफ्नो अनुसंधानलाई उनले ‘मैथिली’ नामको पत्रिकामार्फत जनसमक्ष ल्याएका थिए । पुिस्तका आकारको त्यो गम्भिर प्रकृतिको पत्रिका प्रकाशक मैथिली साहित्य परिषद् विराटनगर थियो । प्राध्यापक प्रफुल्लकुमार सिंह मौनको प्रेरणाबाट स्थापित मैथिली साहित्यिक पत्रिकासँग विराटनगरमा थुप्रै व्यक्तिहरुले त्यस विधामा अन्वेषनात्मक कामहरु गरे । पहाडी समुदायको भए पनि गैरमैथिलीभाषी लक्ष्मण शर्मा शास्त्रीले मैथिलीमा विद्यावारिधि गरे । मलाई याद छ २०४० सालमा म महेन्द्र मोरङ्ग क्याम्पसमा अध्यापन गर्न थालेपछि यहाँ मैथिली साहित्य परिषद् जीवित अवस्थामा थियो । तर निरंकुश पंचायती व्यवस्थाको एकलकाटे सोचबाट मधेसी समुदाय त्रसित थिए । त्यसैले मैथिली भाषा र संस्कृतिको उन्नयनमा प्रत्यक्षतः सक्रिय हुनु खतराभन्दा खाली थिएन । त्यसैले मैथिली परिषद् केही वर्षसम्म निस्कृय भए । यद्यपि उसले गरेको कार्यको सर्बत्र चर्चा हुन्थ्यो ।
बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् मैथिली साहित्य परिषद्को बागडोर वरिष्ट अधिवक्ता कालिकुमार लालले सम्हाले । त्यसपछि डा. बद्रीनारायण कण्ठ र डा गणेशलाल कर्ण अध्यक्ष भए । नियमित नभए पनि परिषद्ले ‘मैथिली’ पत्रिका प्रकाशन गर्दै गएको देखिन्छ । तर, यसबीचमा मैथिली भाषा र साहित्यसँग सम्बन्धित एक दर्जनभन्दा बढी संस्थाहरु विराटनगरमा स्थापित भएका छन् । यसमा सबैभन्दा अग्रणी भूमिकामा मैथिली सेवा समिति रहेको छ । मिथिला टाइम्स पनि बेलामौकामा प्रकाशित हुँदै आएका छन् । तर अस्तिमात्र विराटनगर महानगरपालिकाले प्रकाशन गरेको पुस्तक ‘ऐतिहासिक विराटनगर’ मा मैथिली भाषासँग सम्बन्धित संस्था र साहित्यकारहरुलाई न्यूनीकरण मात्र होइन, त्यसको अस्तित्वमाथि नै प्रश्नवाचक चिन्ह लगाउने दुष्प्रयास भएको छ । यसप्रकारको पूर्वाग्रहपूर्ण प्रकाशनले ऐतिहासिक विराटनगर पुस्तकमाथि प्रश्नवाचक चिन्ह लगाएका छन् । एकातिर हिजोअस्तिमात्र स्थापना गरिएका संस्थाहरुको विस्तृत रुपमा बखान र महिमामण्डन गर्ने तर, वर्षौ पूराना संस्थाहरु जसले विराटनगरको साहित्य सिर्जनमा उल्लेख्य भूमिका निर्वाहन गरेका छन् त्यसको चर्चासम्म नगर्नु लेखकको मधेसी समुदायप्रतिको बक्रदृष्टिकोण हो ।
विराटनगरको इतिहासलाई लेखकले प्रागैतिहासिक तथ्यलाई राजा विराटसँग जोड्ने प्रयास गरेका छन् जो अनुसंधानको विषय हो । पुरातात्विक महत्वका केही अवशेषहरु फेला परेको अवस्थामा त्यसलाई महाभारतकालसँग जोड्नु कति उपयुक्त हुन्छ भन्ने कुरा छलफलको विषय वस्तु बन्न सक्छ । तर महानगरपालिकाको त्यही वार्डमा जन्मेका र हुर्केका स्व. दयानन्द दिक्पाल मोरङ्ग मैथिली साहित्यका शिरोमणि थिए । यो कुरा लेखकलाई थाहा नहुनु उनको दृष्टिदोष मात्र होइन, सम्बन्धित भाषाप्रतिको पूर्वाग्रही सोच हो । स्व. दयानन्द दिक्पाल मैथिली साहित्यका एउटा यस्तो स्तम्भ थिए जसको रचनाले वर्तमान पीढीलाई सिर्जनात्मक कलाको बेजोडको संदेश प्रवाहित गर्दछ । उनको नाम दयानन्द यादव हो । तर, साहित्य विधालाई आफ्नो जीवनको लक्ष्य बनाएपछि उनले दिक्पाल लेख्न थालेका हुन् । आफ्नो जीवनमा उनले सयौं कविता लेखे तर उनको प्रकाशित कृतिमा ‘कहिआ फेर अबैछी’ मा सबै कविता अटाउन सकेनन् । मधेश आन्दोलन ताका उनले रचेका कविताहरु मधेसी समुदायको घरघरमा अत्यन्तै लोकप्रीय भएको थियो । तर, एतिहासिक विराटनगर भन्ने पुस्तकको कुनै एक हरफमा उनको नाममात्र उल्लेख भएको पाएँ जो एकप्रकारको ज्यादती हो ।
मलाई आश्चर्य लाग्छ प्राज्ञको हैसियत पाइसकेका लेखक दधिराज सुवेदी यति पूर्वाग्रहपूर्ण भएर लेख्छन् भन्ने कुरा मैले सपनामा पनि चिताएको थिइन । मिथिलाञ्चलको यो पावन भूमिमा जहाँ राजा विराटको चर्चा गर्न नहिचकिचाउने लेखक सुवेदीले आठौ शताब्दीबाट सुरु भएको मैथिली साहित्यको इतिहास जो चौधौं शताब्दीसम्म आइपुग्दा उत्कर्षमा पुगेको थियो त्यसलाई उपेक्षा गर्नु कुनै पनि हिसाबले तर्क संगत मान्न सकिन्न । तर सबैभन्दा उदेक लाग्दो पक्ष के हो भने विराटनगरले दयानन्द दिक्पाल मात्र होइन, कथाकार रामनारायण सुधाकर पनि जन्माएका छन् जसको कथा डिग्रीसम्म पढाइ हुन्छ । प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित प्राज्ञ भन्ने पत्रिकाका नियमित लेखक कथाकार सुधाकरलाई प्रतिष्ठानले सम्मानित समेत गरिसकेको तथ्य प्राज्ञ दधिराज सुवेदीलाई थाहा नहुनु दुखको विषय हो । ऐतिहासिक विराटनगर पुस्तकमा जसरी रामनारायण सुधाकरको नाम समावेश गरिएको छ त्यो उनको बेज्जती हो ।
लेखकलाई के थाहा हुनु पर्यो भने जतिबेला नेपालमा नेपाली भाषाले आकार प्रकार ग्रहण गरेको थिएन त्यतिबेला हिन्दी भाषामा नै सबैथोक हुन्थ्यो । राणा शासकले शिक्षालाई परिवारभित्र सीमित पारेपछि यसप्रकारको स्थिति सिर्जना भएको हो । त्यतिबेला पनि अंग्रेज भारतमा २५ वटा विश्वविद्यालय थिए । त्यसैले प्रजातन्त्रको प्रादुर्भावपश्चात् स्वभाविक रुपमा भारतीय शिक्षकहरुले नेपालमा वर्चश्व स्थापित गर्न पुगे । उनीहरु हिन्दीभाषी भएकोले त्यही भाषालाई माध्यम बनाएका थिए । कतिसम्म भने सिंगो तराईमधेसमा हिन्दी चलनचल्तीको भाषा मानिन्थ्यो । स्वयं यो पक्तिकार समेतले सिरहा स्कूलबाट एसएलसी पास गर्दा १०० पूर्णाङ्कको हिन्दी र ५० पूर्णाङ्कको संस्कृत पढेका थिए । यस्तो परिस्थितिमा एक्कासी नेपाली भाषालाई पठनपाठनको माध्यम बनाउने सरकारको निर्णयलाई तराईमधेसमा विरोध हुनु स्वभाविक थियो । किनकि, तराईमधेसमा १ प्रतिशत पनि मधेशीहरु त्यतिबेला नेपाली बोल्न जान्दैनथे । अहिलेको जस्तो अवस्था थिएन जहाँ तराई–मधेसमा समेत नेपाली भाषाले हिन्दीलाई मात्र होइन, मातृभाषालाई समेत विस्थापित गरिसकेको छ । जसमा देशको दोस्रो सबैभन्दा बढी बोल्ने भाषा मैथिली पनि संकटग्रस्त अवस्थामा छन् ।
तर, दुःख लाग्छ ऐतिहासिक विराटनगरका लेखक दधिराज सुवेदीले जसरी भाषा आन्दोलनलाई प्रस्तुत गरेका छन् त्यसले के देखाउँछ भने आनदोलकारीहरु सबै भारतीय थिए । नेपाली थिएनन् । वास्तवमा भन्ने हो भने विराटनगरको भाषा आन्दोलनलाई डा. अवधनारायण, जो डा. नारायण कुमारका बुवा थिए उनले नेतृत्व गरेका थिए । तोलाराम दुगडजस्ता नेपाली उद्योगपति थिए । चैतुलाल चौधरीजस्ता व्यक्ति थिए । तर प्रस्तुतिले त्यो आभास दिदैन । भर्खर वामे सर्नलागेको नेपाली भाषालाई लागु गर्दा के कस्तो प्रक्रिया अपनाउदा मधेसीहरुबाट विरोध हुँदैन भन्ने सोचलाई आत्मसात गर्न सकेको भए आन्दोलन नै हुने थिएन । हिन्दीको ठाउँमा मैथिली, भोजपुरी, अवधि राखेको भए आन्दोलनको औचित्य नै समाप्त भएर जान्थ्यो । किनकि, तराईमधेसमा अहिलेको जस्तै हिन्दीभन्दा बढी मातृभाषा बोलिन्थ्यो । तर, शिक्षा आयोगको रिपोर्टले एकल नेपालीलाई अनिवार्य गरेपछि प्रतिकूल परिस्थितिको सामना गर्नु परेको हो । पुस्तकमा लेखक दधिराज सुवेदीको व्याख्या र विश्लेषण सर्वथा पूर्वाग्रही छ । उनले एकलकाटे ढंगबाट व्याख्या र विश्लेषण गरेका छन् । यसबाट मधेसी समुदायले आहत महसूस गरेका छन् ।
सदभाव र सहिष्णुताको वेजोड नमूनाको रुपमा विराटनगर महानगरपालिकाको जनसंख्यायिकीको व्याख्या र विश्लेषण गर्ने हो भने यहाँ विविध जातजातिहरुको बसोवास छ । ऐतिहासिक विराटनगर पुस्तकबाट नै उधृत गर्ने हो भने यहाँ १२१ वटा जातजाति बसोबास गर्दछन् । तर भाषा चाहिँ जम्मा एक दर्जन पनि बोल्दैन । विराटनगरमा बोलिने भाषाहरुमा नेपाली, मैथिली, थारु, भोजपुरी, नेवारी, राजवंशी, हिन्दी, माडवाडीलगायतका छन् । तर सिर्जनात्मक दृष्टिकोणको हिसावले नेपाली तथा मैथिली भाषामा जति साहित्य सिर्जन भएका छन् त्यति अन्य भाषामा भएको पाइन्न । सरकारी कामकाजको भाषा भएकोले नेपालीले सर्वोच्चता प्राप्त गर्नु स्वभाविक हो । मधेसी समुदायमा पनि नेपाली भाषाको प्रचलन व्यापक रुपमा बढेको पाइन्छ । कतिसम्म भने कतिपय मधेसीले आफ्नो मातृभाषा समेत बोल्न जान्दैनन् । तर मैथिली एउटा यस्तो भाषा हो जो विराटनगरको कुनाकप्चामा बोलिन्छ, बोलेको कुरा बुझिन्छ तर, लेख्न चाहिँ थोरै मात्रले जान्दछन् । त्यसैले साहित्य सिर्जनमा नेपालीपछि दोस्रो भाषाको रुपमा विराटनगरमा देखिन्छ । प्रत्येक महिना विराटनगरको विविध ठाउँमा मैथिली भाषा र संस्कृतिको कार्यक्रम अनिवार्य रुपले आयोजना हुँदै आएको तथ्य विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारबाट पुष्टि हुन्छ । अहिलेसम्म विराटनगरमा दुई पटक अन्तर्राष्ट्रिय मैथिली सम्मेलन र एक पटक अन्तर्राष्ट्रिय मैथिली नाट्य समारोह सम्पन्न भैसकेका छन् । सप्तम् अन्तर्राष्ट्रिय नाट्य समारोहको आयोजक भानुकला केन्द्रका संस्थापक अध्यक्ष चतुर्भुज आशावादीको असामयिक अवसानको कारण हुन सकेको थिएन ।
यसरी भाषा साहित्यमा मात्र होइन, विविध क्षेत्रमा मैथिलीले विराटनगरको गरिमालाई उचाई प्रदान गरिरहँदा ऐतिहासिक विराटनगर पुस्तकमा त्यस रुपमा उसको क्रियाकलापलाई लिपिवद्ध नहुनु दुखद पक्ष हो । नेपाली भाषा भनेको मैथिली पनि हो जो नेपालीय मिथिलाञ्चलमा बोलिन्छ । थारु पनि हो र संथाल पनि नेपाली भाषा नै हुन् । अर्थात् नेपालको भौगोलिक क्षेत्रभित्र बोलिने १२३ भाषा सबै नेपाली भाषा हुन् । लेखकलाई चेतना भया !


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।