लोड हुँदैछ...

मेनु

लेटाङमा झडप महिला प्रहरी मृत्यु प्रकरणः

आधा दर्जन नियन्त्रणमा, घटनालाई राजनीतिक इस्यु नबनाउ लेटाङ प्रमुख राईको अपिल

आधा दर्जन नियन्त्रणमा, घटनालाई राजनीतिक इस्यु नबनाउ लेटाङ प्रमुख राईको अपिल

विराटनगर । एक जना प्रहरी जवानको ज्यान जाने गरी आइतबार मोरङको लेटाङमा भएको घटनामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको पहिचान भने प्रहरीले खुलाएको छैन । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घटनामा संलग्न रहेको आशङ्कामा ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘प्रहरीले घटनाको अनुसन्धानको लागि ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ,’ मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने, ‘शंकास्पद व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बाढाएको छ ।’

खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । भीडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो । घटनास्थलमा पुगेका मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित २५ जना प्रहरी र ७ जना स्थानीय झडपमा परि घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।

घटनालाई राजनीतिक इस्यु नबनाउन आग्रह

मोरङको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आइतबारको घटनालाई लिएर राजनीतिक रंग दिन नहुने बताएका छन् ।

तपाइँको नजरमा ‘आइतबार दिनभर त्यहाँ के भयो ?’ भन्ने प्रश्नमा उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबाटै गल्तीको सुरुवात भएको दाबी गरे । घटनामा संलग्न शिक्षक, उनलाई बचाउन खोज्नेहरू तथा प्रहरीको हत्यामा संलग्न सबैलाई जुनसुकै अवस्थामा पनि पक्राउ गरेर कानूनी दायरामा ल्याउनु पर्नेमा उनले जोड दिए ।

घटनालाई शान्त बनाउन र अरु अप्रिय घटना हुन नदिनका लागि लेटाङमा रहेका राजनीतिक दल, प्रहरी प्रशासनसहितको बैठक आयोजना गरिएको बताउँदै राईले अराजक समूहले कसैको कुरा नसुन्दा घटना भएको पनि बताए ।

प्रस्तुत छ राईसँग टेलिफोनमा गरिएको कुराकानीः

मेरो दाई भरतपुर मा विरामी हुनुहुन्थ्यो र म त्यता गएको थिएँ । घटनाको विषयमा अपडेट थिएँ । लेटाङमा सिडियो सावसहित जनप्रतिनिधि बसेर छलफल भइरहेको थियो, म पनि फोनमा निरन्तर कन्ट्याक्टमा थिएँ । घटना चाहिं एउटा शिक्षकले एउटा विद्यार्थी (छोरी जस्तो)लाई होलीको समयमा पनि र त्यस अगाडि पनि पटक–पटक जबर्जस्ती करणी गर्न खोज्दो रहेछ । एक पटक मात्रै होइन धेरै पटक त्यस्तो घटना भएको रहेछ । त्यसपछि त्यो नानीहरुले विद्यालय व्यवस्थापन समिति र हेडसरलाई भनेको पनि रहेछ । तर, उनीहरुले शिक्षकको बेइज्जत हुनेभयो भनेर लुकाउने प्रयास गरेका रहेछन् । पटकपटक भन्दा पनि कुनै कारबाही नभएपनि छात्राहरुले अभिभावकलाई भनेछन् । त्यसपछि हल्ला फैलियो । धेरै हल्ला फैलिएपछि अभिभावक र विद्यार्थीले ती शिक्षकलाई जुत्ताको माला, कालोमोसो दल्ने, कारबाही गर्नुपर्ने भन्ने माग गरेर प्रदर्शन गरेका थिए । त्यही अवस्थामा भीड कन्ट्रोल हुन सकेन । त्यसकारण महिला प्रहरीको मृत्यु भयो । यो ठूलो अपराधिक काम भयो, अराजकता भयो । हामीले शिक्षकलाई कारबाहीको दायरामा ल्याउँ भनेका थियौं । वडाध्यक्ष तथा उपप्रमुखहरु पनि घटनास्थलमा जानुभएको थियो । तर, स्थानीय युवाहरुले बोल्ने जनप्रतिनिधिलाई, शिक्षकलाई, अगुवा युवाहरुमाथि नै जाइलाग्ने अवस्था थियो । धेरैले हिंजो कुटाइ पनि खाए । अहिले लेटाङमा कफ्र्यु लागेको छ । सम्बन्धीत अपराधिलाई जहाँ भएपनि नछोड्ने गरी छलफल भइरहेको छ ।

हिंजो म यहाँ नभएकोले गर्दा सूचना धेरै आएको छैन । तर, के हो भने विद्यार्थी बालिकालाई पटकपटक आक्रमण गरेको सूचना हेडसर र व्यवस्थापन समितिलाई सूचना दिँदा पनि मिलाउने प्रयत्न गरेको देखियो । तर, शिक्षकले नै अपराधिक गतिविधि जारी राखेको कारण यस्तो घटना भएको छ । त्यो पनि गलत भयो । हामीले त्यसखालको घटनालाई ढाकछोप गर्नेलगायत सबैलाई कारबाही हुनुपर्छ भनेका छौं ।

अपराधि जोसुकै भएपनि सजाय हुनुपर्छ । गल्ती गरेकोलाई सजाय हुनुपर्छ । घटनालाई राजनीतिक इस्यु बनाउनु हुँदैन । जो अपराधि छ त्यो अपराधिलाई कानूनी कारबाहीको दायरामा ल्याउनु पर्छ । प्रहरीलाई धेरै खटाउने र यातायातको सुविधा दिनुपर्छ । उहाँहरुको यातायातमा समस्या देखिएको छ । हामी सबै राजनीतिक दलहरु बसेर घटना न्यूनीकरण र यसखालका घटना पुनः दोहोरिन नदिनका लागि छलफल गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।