विराटनगरको शाख गुम्दै गएकोमा चिन्ता

आन्तरिक राजस्वमा योगदानको हिसावले विराटनगरको स्थान भरतपुर, भैरहवा, बुटवल, कावासोती, सिमरा भन्दा कम

विराटनगर । अर्थ तथा योजना विज्ञहरुले विगतको तुलनामा विराटनगरको अवस्था सबै क्षेत्रमा खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विराटनगरस्थित उद्योग संगठन मोरङमा शनिबार आयोजित इकोनोमिक समिटका सहभागीले राजनीतिक, औद्योगिक, पूर्वाधार र पर्यटकीय दृष्टिकोणले पनि विराटनगरले विकास गर्न नसकेको बताए ।

१९९० पछिको एउटा लामो कालखण्ड विराटनगरको परिचय नेपालको औद्योगिक नगरी र प्रमुख व्यापारिक नाकाको रुपमा थियो । औद्योगिक नगरी मात्र होइन, राजनीतिक बहस र संगठित रुपमा मजदुरको पक्षमा आवाज उठाउने स्थलको रुपमा शुरुदेखि नै परिचित थियो ।

२००७ वा २०४७ सालमा पनि विराटनगर राजनीतिको केन्द्रमै रहयो । हाल भने विराटनगर देशभरका अन्य उदयीमान शहरबीचमा कमजोर बन्दै गएको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । ‘अहिले विराटनगर देशको प्रमुख आर्थिक केन्द्रको रुपमा रहेको छैन । औद्योगिक केन्द्रको रुपमा पनि यसको स्थिति रहेन,’ खनालले भने, ‘हेटौंडा, बालाजु, पाटन, पोखरा र नेपालगञ्ज औद्योगिक क्षेत्रहरुमा उपादनमुलक उद्योगहरुको संख्या बढ्दै जानु र वीरगञ्ज–पथलैया करिडोर प्रमुख आर्थिक करिडोरको रुपमा विकास हुँदै गएपछि विराटनगरको बर्चश्व तीन दशक अगाडिदेखि नै कमजोर हुँदै गएको हो ।’

विराटनगरले औद्योगिक नेतृत्व लिएको ८० वर्ष नाघेको छ । तर, झण्डै १० वर्ष अगाडि विराटनगरका ठूलो सूर्य नेपाल गार्मेन्ट उद्योगसँगै करिब चार दर्जन उद्योगहरु संकटमा परे । जसले गर्दा अहिले पनि प्रदेश नम्बर १ को औद्योगिक उत्पादनको हिस्सा घट्दै गएको खनालको भनाइ छ ।

‘काठमाडौंपछि पोखरा, सौराहा, लुम्बिनी बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै जाँदा विराटनगर र समस्त प्रदेश १ मा पर्यटन प्रबद्र्धनका लागि कुनै पूर्वाधार बनेनन्,’ खनालले भने, ‘विराटनगर आर्थिक हिसावले पनि कमजोर बन्दै गएको छ । पछिल्लो पटक आन्तरिक राजस्वमा योगदानको हिसावले विराटनगरको स्थान भरतपुर, भैरहवा, बुटवल, कावासोती, सिमरा भन्दा कम हुन पुग्यो ।’ ८० वर्षअगाडिदेखिको औद्योगिक पहिचान बनाएको विराटनगरले सरकारको राजस्वमा २.०८ प्रतिशत मात्र योगदान गर्दछ । जबकी कावासोतीले राष्ट्रिय आयमा ३.८७ प्रतिशतको योगदान गरिरहेको छ ।

विराटनगरलाई पहिलेकै अवस्थामा ल्याउन वा देशका अन्य शहरहरुसँगको प्रतिस्पर्धामा लानका लागि कृषि उपज प्रशोधनमा आधारित उद्योगहरु खोल्नुपर्ने खनालको सुझाव छ । ‘धान, मकै, कोदो, फापर, तरकारी, आलु खुर्सानी, कालो बंगुर मासु तथा दुग्ध उत्पादनका लागि पशुपालनमा अझै जोड गर्नुपर्छ,’ खनालले भने, ‘बढी उर्जा खपत गर्ने र पुरै मुलुकका लागि औद्योगिक ज्ञान प्रविधि र सहायक सेवाको स्रोत केन्द्रको रुपमा विराटनगरलाई विकास गर्नुपर्छ, अझै पनि प्रयास गरे विराटनगर प्रदेश नम्बर १ को रणनीतिक अवस्थितिका कारण औद्योगिक स्रोत केन्द्रमा मुलुककै एक्का बन्न सक्छ ।’

अर्थ मन्त्रालयका सचिव मधुकर मरासिनीले पनि अरुण थर्ड आयोजना तत्कालिन अवस्थामा बन्द हुँदादेखि नै यहाँको अवस्था झनै विग्रिएको बताए । उनले अरुण थर्ड फुत्केकोमा पछुतो मान्दै भने, ‘त्यसबेला थुप्रै रडउद्योग, सिमेन्ट उद्योगहरु विकास भएको थियो, तर जब अरुण थर्ड नआउने निश्चित भयो यहाँको लगानी पनि प्रभावित भयो ।’

अहिले सरकारले अपर अरुण बनाउने तयारीमा रहेको बताउँदै मरासिनीले विश्वबैंकसँग धेरै कुरा अगाडि बढिसकेको जानकारी दिए । अब अरुण फोर आउने भन्दै उनले अब निराश हुनुनपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ अध्यक्ष शेखर गोल्छाले प्रदेश १ र विराटनगर पछि पर्नुको कारण धेरै रहेको बताए । त्यसको प्रमुख कारण लजिष्टिक कष्ट बढि रहेको बताए । जग्गा प्राप्तिको लागत पनि बढ्दा औद्योगिक विकासमा समस्या रहेको उनले बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले प्रदेशमा थुप्रै सम्भावना भएकोले योजनाबद्ध विकासको आवश्यकता औंल्याए । ‘प्रदेश १ मा हिमाल छ, पर्यटकीय क्षेत्र छ । इलामलाई दार्जिलिङ जस्तो किन बनेको छैन । बंगलादेशका पर्यटक किन ल्याउन सकिँदैन,’ उनले प्रश्न गरे । उनले प्रदेश १ ले आफ्नै टुरिजम बोर्ड बनाउनु पर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीले भारतबाट आउने पर्यटकलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्नेमा जोड दिए । ‘भारतबाट आउने पर्यटकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरौं । पर्यटन प्रवद्र्धन हुनासाथ रोजगारीको समस्या हल हुन्छ । आर्थिक विकासकामा सहयोग पुग्छ,’ उनले भने ।

आइतबार, १५ फागुन, २०७८, बिहानको ०९:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर