लकडाउनमात्रै विकल्प नसोचौं

 विमल लामिछाने

नयाँ स्वरूपमा देखापरेको ओमिक्रोन नामक कोभिडको नयाँ भेरियन्टका कारण संसारभर नै चिन्ता बढ्दै गएको छ । छिमेकी मुलुक भारतमा दैनिक कोरोना संक्रमितको संख्या गुणात्मक बढिरहेको समाचार बाहिर आउँदा नेपालपनि असुरक्षित महसुस हुनु स्वाभाविकै हो । भारतमा कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित दिन दुईगुणा र रात चौगुणाजस्तै बढिरहेका छन् । यो अवस्थामा नेपालले पनि ओमिक्रोन सङ्क्रमणलाई कुनै पनि किसिमबाट सामान्य दृष्टिले लिइनु हुँदैन । भारतमा सङ्क्रमणमा वृद्धि हुने गतिसँगै त्यहाँ रहेका हजारौँ नेपालीको स्वदेश फर्किने क्रम सुरु भएको छ ।

विषम परिस्थितिको सामना गर्न अहिलेदेखि पर्याप्त तयारी एवं सतर्कता यसबाट बच्ने पूर्वसर्त नै हो । संक्रमणको त्रास बढ्दै जाँदा सीमा नाकाहरुमा कडाई गरिनुपर्ने हो तर भारतसँग सीमा जोडिएका नाकाहरुमा खुला आवतजावत भइरहेकै छ । सीमानाका खुल्ला छ । भारतबाहेक अन्य देशहरुमापनि सीमा क्षेत्रमा स्वास्थ्य परीक्षण केन्द्र स्थापना गरेर विदेशबाट फर्किने सबैको स्वास्थ्य परीक्षण गरेर मात्र गन्तव्यतर्फ जान दिइने तथा सङ्क्रमितलाई होल्डिड सेन्टरमा राखेर स्वस्थ भएपछि मात्र घर पठाउने प्रधानमन्त्रीको निर्देशन सङ्क्रमण नियन्त्रणका दिशामा सकारात्मक छ । तर, कार्यान्वयन पक्ष फितलो छ । यसैगरी कोभिड विरुद्धको खोप कार्यक्रमलाई पनि कुनै पनि हालतमा नरोक्ने र यसलाई मुख्य प्राथमिकतामा राख्नुका साथै तेस्रो खोप भनिएको ‘बुस्टर डोज’लाई व्यापक बनाउने सरकार प्रमुखको प्रतिबद्धता पनि ओमिक्रोन सङ्क्रमण नियन्त्रणका लागि महत्वपूर्ण कदम प्रमाणित हुने विश्वास लिन सकिन्छ ।

पछिल्ला दिनहरुमा ओमिक्रोनको सङ्क्रमण विस्तार निकै आक्रामक गतिमा भइरहेको छ । नेपालमा नै पनि यसबाट दैनिक रूपमा सङ्क्रमित हुनेको संख्या तुलनात्मक रूपमा वृद्धि हुँदै गइरहेको तथ्यांकले देखाउन थालेको छ । छिमेकी भारतमा २४ घण्टामा नै एक लाखभन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण फेला पर्न थालेको सार्वजनिक भएका छन् । यसैगरी हाम्राअन्य छिमेकी सार्क मुलुकहरू बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्कामा सङ्क्रमण बढ्दै गएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडाअनुसार कोरोना सङ्क्रमणका कारण विश्वभर ५५ लाख मानिसले ज्यानगुमाइसकेका छन् । यो महामारीबाट ज्यान जोगाउन नौ अर्बभन्दा बढी कोभिडविरुद्धको खोप लगाइसकिएको छ । दुई वर्षअघि चीनमा पहिलो पटक देखिएको कोभिड सङ्क्रमणको सन्त्रासबाट तत्कालै मुक्तिपाउने सम्भावना देखिएको छैन ।

कोभिड–१९ को नयाँ लहर चल्दा स्वस्थ्य पूर्वाधारमा ध्यान दिनैपर्ने हुन्छ । विगतका अप्रिय घटना दोहोरिन हुन्न भन्ने हेक्का सरकार पक्ष र नेतृत्वमा भएका दलहरुले राखेर जिम्मेवार बन्न सक्नुपर्छ । सरकारले अक्सिजन र शय्याको समयमै व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलगायत नेपाली सेना, नेपाल प्रहरीलगायतका निकायलाई बेलैमा सचेत गराउनु भएबाट सम्भावित सङ्क्रमणका उपयुक्त तवरले सामना गर्न आवश्यक तयारी गर्न ढिला गर्नु हुँदैन ।

कोभिड नियन्त्रणका सम्बन्धमा आवश्यक धेरै पूर्वाधार एवं पूर्वसर्त सहजीकरणका लागि प्रतिबद्धता व्यक्तभएसकेको सन्दर्भमा अब कार्यान्वयनले गति लिनुपर्छ । यो महामारीबाट मुलुक तथा मुलुकबासीलाई आश्वस्त पार्ने तवरले कार्य गर्नुपर्छ । उच्च पदस्थदेखि सम्बद्ध सबैले एकजुट भएर आ–आफ्नो जिम्मेवारी बोधसँगै काम नगरी यो महामारीबाट पार पाउन सकिने अवस्था छैन भन्ने उदाहरण विगतका घटनाक्रमले देखाइसकेका छन् ।

अब विश्वमा नोवेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम हत्तपत्त हँुदैन भन्ने लगभग निश्चित भएको छ । किनभने भाइरल रोगका विज्ञहरूले नै कोरोना भाइरसको संक्रमण अब हत्तपत्त रोकिइहाल्ने छाँटकाँट छैन भनेका छन् । त्यतिमात्रै होइन, केही विषय विज्ञहरूले यो महामारीले सन् २०२२ देखि २०२५ सम्म पनि आफ्नो प्रभाव कायम राखिराख्न सक्छ भनेका छन् । त्यस्तै केही विषय विज्ञहरूले भने यो महामारी एचआईभी/एड्सजस्तै दीर्घकालसम्म पनि रहन सक्ने भनेका छन् ।

उता पछिल्लो पटक संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (यूएनडब्लूएचओ) का प्रमुखले पनि कोरोना भाइरसको यो महामारी ठीक हुन कम्तीमा अभैm दुई वर्ष लाग्ने बताएका छन् । हुनपनि अहिलेसम्म कोरोना भाइरस स्थिर रहने वा कमहुने भन्दापनि बढ्ने क्रम नै जारी रहेको देखिन्छ ।

खोप विकास गरेको कम्पनी फाइजरले पछिल्लो पटक ४४ हजार जना मानिसहरुलाई एउटा अध्ययनमा संलग्न गराएको समाचार माध्यमबाट सार्वजनिक गरेको छ । कोरोनाको नयाँ भेरियण्टसँग जुधिरहेका दक्षिण अफ्रिकाका संक्रमितहरुलाई समेत अध्ययनमा सामेल गरिएको अध्ययनको निष्कर्श थियो, गम्भीर रोग तथा मृत्यु हुन नदिन खोप सय प्रतिशत असरदार छ । ‘रियल वल्र्ड’ तथ्याङ्कले पनि युके भेरियण्ट विरुद्ध लगाइएका भ्याक्सिनहरु असरदार रहेको देखाएका छन् । कोरोनाका लक्षण देखापर्नबाट, अस्पतालमा भर्ना र मृत्यु हुनबाट रोक्न यो खोप ९७ प्रतिशत असरदार रहेको देखिएको छ ।

फाइजरमात्रै होइन, नेपाल र भारतमा लगाइएका एस्ट्राजेनेकाका कोभिशिल्ड र कोभ्याक्सिनहरुले नयाँ भेरियण्ट विरुद्ध आफ्नो प्रभावकारीता देखाइरहेका छन् । ती बाहेक मोर्डना, जोनसोन एण्ड जोनसोन खोपहरु पनि नयाँ भेरियण्टलाई रोक्न सक्ने बताइएको छ ।

यस्ता अध्ययनबाहेक अधिकांश जनतालाई खोप लगाइसकेका देशहरुका अस्पतालबाट आएका तथ्यांक हेर्ने हो भने खोपको प्रभावकारिताबारे अझै प्रष्ट हुन्छ । युके र इजरायलमा हेर्ने हो भने कोरोना संक्रमण दर र अस्पताल भर्नाहुने दर ज्यामितीय रुपमा घटिरहेको छ, भलै नयाँ भेरियण्टहरु त्यहाँ अझै विद्यमान छन् । यसबाट बुझ्नै पर्ने कुरा के हो भने कोभिडबाट हुने गम्भीर रोग र मृत्युबाट बच्नु छ भने कोराना खोप अहिले विकल्प बनेर आएको छ । यसको उचित प्रयोजन गर्न स्वास्थ्य मन्त्रालय गम्भीर हुनैपर्ने हुन्छ ।

कोभिड विरुद्धको एक करोड दुई लाख डोज खोप मौज्दात हुँदाहुँदै पनि सिरिन्ज अभावकाकारण खोप लगाउन नसकिएको अवस्था स्वास्थ्य मन्त्रालयले जनाइरहेकोछ । यसलाई पूर्णतादिन ओमिक्रोन सङ्क्रमण विस्तार नियन्त्रणमा माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई तथा दोस्रो हप्ताबाट ६० वर्षभन्दा माथिका वृद्ध तथा अशक्त बिरामीलाई बुस्टर खोप लगाउन सुरु गरिने जानकारी स्वास्थ्य मन्त्रालयले गराइरहेको छ, तर, यो कति सरल र सहज वितरण हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

विगतका दिनमा कोरोना कालमा लकडाउन र निषेधाज्ञाको विकल्प थिएन । प्रहरी प्रशासन भीडभाड नहोस् र कोरोनाको जोखिम नहोस् भन्ने कुरामा सचेत थियो । प्रहरीलाई घरपरिवारको चिन्ता हुँदाहुँदै पनि कर्तव्य निर्वाह गर्नुपर्ने बाध्यता थियो । अर्कोतर्फ सामान्यजनलाई कोरोनाबाट मर्ने कि भोकबाट भन्ने चिन्ता थियो । त्रासकै विचमा बाँच्नु पर्ने र जीवन धान्नुपर्ने अवस्था बाध्यात्मक बनेकै थियो । तर, अब मानिसमा सचेतनाको विकास भइसकेको छ । गम्भीर अवस्थाबाहेक मानिस आफंै जोगिएर पनि काम गर्न सक्ने अवस्थामा पुगिसकेका छन् मात्र रुल चाहिएको छ । यो अवस्थामा सरकारले लकडाउनमात्रै विकल्प देख्नुहुँदैन । स्थान र प्रकोपको प्रकृतिलाई हेरेर समस्याको समाधान गर्नतर्फ पनि सोच्नुपर्छ । सरकार प्रमुखका प्रतिबद्धता, निर्देशनएवं सरोकारवाला निकायका कार्यक्रम कार्यान्वयनले ओमिक्रोन सङ्क्रमण नियन्त्रणमा सकारात्मक भूमिका निर्वाह गर्नेमा आमजनता अपेक्षित छन् । समयमा सम्बन्धित पक्षको ध्यान पुगोस् ।

bmllamichhane@gmail.com

बुधबार, २८ पुष, २०७८

प्रतिक्रिया

  1. लेख समय सापेक्ष, बैकल्पिक साेच र सहज वातावरण सचेतनामुलक लाग्याे । पढ्न पाउँदा खुसी लागेकाे छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर