खतराको घन्टी

 सम्पादकीय

कोरोना संक्रमण दर फेरि ह्वात्तै बढ्नु चिन्ताजनक छ । प्रदेश १ मा मंगलबार मात्रै १२५ जना कोरोना संक्रमित थपिएका छन् । केही महिनायताकै सबैभन्दा उच्च संख्यामा संक्रमित देखिनु प्रदेशका लागि खतराको घन्टी हो । प्रदेशमा पनि सबैभन्दा बढी संक्रमित मोरङमा र मोरङको पनि विराटनगरमा सबैभन्दा धेरै संख्यामा संक्रमित फेला पर्नुले प्रदेश राजधानीमा जोखिम झनै बढाएको छ । मोरङमा एकैदिन ४७ जना संक्रमित भेटिँदा विराटनगरका मात्रै ४१ जना छन् । यसले विराटनगरमा रहेको संक्रमण दरको भयावहपन दर्शाउँछ । संक्रमणको यो ग्राफलाई सकेसम्म बढ्न नदिन प्रदेश र स्थानीय सरकारले तत्कालै हरसम्भव उपाय लगाउन आवश्यक छ ।

प्रदेशमा सबैभन्दा प्राथमिकता सीमा व्यवस्थापनमा देखिनुपर्छ । भारतीय भूमिबाट यो बेला नेपाल प्रवेशमा कुनै रोकतोक छैन । सीमा पूरै बन्द नगरे पनि कसिलो प्रबन्ध गर्न ढिलाई गर्न हुँदैन । भारतमा ओमिक्रोन संक्रमितहरुको संख्या एकदमै धेरै छ । भारतबाट नेपाल प्रवेश गर्नेहरुको र नेपालबाट आउजाउ गर्नेको संख्या पनि उत्तिकै धेरै छ । सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थित रुपमा सञ्चालन गर्न अझै सकिएको छैन । सरकारको ध्यान पूर्णरुपमा त्यसमा केन्द्रीत हुनुपर्छ । मोरङका विराटनगरसहितका अन्य साना नाकाहरु, काँकडभिट्टा, भद्रपुर तथा झापाका सबै नाका, पशुपतिनगरसहितका इलामका नाकाहरुमा कसिलो निगरानी जरुरी छ । स्कुल बन्द गरेर सकर्तकता देखाएको सरकारको ध्यान सीमाको अव्यवस्था व्यवस्थापन गर्नतिर पनि आकृष्ट हुनुपर्छ ।

संक्रमण दर बढेपछि स्वाभाविक रुपमा स्वास्थ्य जटिलता पनि बढ्छ । यसका लागि अस्पतालहरुलाई चुस्त तुल्याउनेतिर पनि सरकारको ध्यान जान जरुरी हुन्छ । खासगरी स्थानीय सरकारहरुले पनि आ–आफ्नो पालिका क्षेत्रमा स्वास्थ्य संस्थाहरुलाई तयार राख्नुपर्छ । यसअघिका कोरोना लहरले हामीलाई ठूलो पाठ सिकाएका छन् । त्यसबाट शिक्षा लिन कसैले पनि ढिलाइ गर्न हुँदैन । प्रहरी, स्थानीय सरकार तथा समुदायको सहकार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा पनि कडाई गरिनुपर्छ । खासगरी मास्कको अनिवार्य प्रयोग र सरसरफाईमा ध्यान दिन सर्वसाधारणलाई अपिल गरिरहनुपर्छ । त्यसको नियमित अनुगमन पनि जरुरी छ ।

यसबाहेक सबैभन्दा आवश्यक शर्त भनेको जारी खोप अभियानलाई झनै तीव्र पार्नुपर्ने खाँचो छ । अहिले देखापरेको ओमिक्रोन भेरियन्ट ज्यादै संक्रामक भए पनि पहिलेजस्तो घातक नदेखिएको विज्ञहरुको भनाइ छ । यसले केही राहत दिएको छ । तर, घातकता कम छ भनेर सजगतामा कमजोरी गर्ने छुट सर्वसाधारण र सरकारलाई छैन । त्यसैले कोरोनासँग जुध्ने हरसम्भव उपायहरु अवलम्बन गर्दै, आम नागरिकको दैनिकीलाई सामान्य बनाउन तीन वटै तहका सरकारहरु प्रतिबद्ध बन्नुपर्छ ।

बुधबार, २८ पुष, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर