लोड हुँदैछ...

मेनु

‘राज्यभन्दा माथि छु भन्ने भ्रममा सुनिल शर्मा छन्, हामी तह लगाउँछौं’

‘राज्यभन्दा माथि छु भन्ने भ्रममा सुनिल शर्मा छन्, हामी तह लगाउँछौं’

नोबेल मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलन र विद्यार्थी आन्दोलनका विषयमा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सदस्य अभिमन्यु यादवसँग गरिएको कुराकानी:

विद्यार्थी आन्दोलन किन सेलाएको ?

– सेलाएको छैन, कुनै न कुनै मुद्दा लिएर विद्यार्थी संगठन जहिले आन्दोलन मै छ । हिंजो प्रतिगमन ढाल्नेदेखि केपी ओलीलाई बार्दलीसम्म पुर्याउने मुख्य भूमिका विद्यार्थी संगठनले नै खेलेको जगजाहेर छ । अहिले विद्यार्थी आन्दोलन सेलाएजस्तो देखिएको भएपनि हामीले अब सशक्त ढंगले शिक्षा, स्वास्थ्यमा देखिएका विकृतिका विरुद्धमा आन्दोलन उठाउने तयारी गर्नुपर्छ ।

अनेरास्ववियू (क्रान्तिकारी) त झनै सेलाएको जस्तो देखिन्छ नि ?

– अखिल क्रान्तिकारीले त झन् विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएको छ त । अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा आन्दोलन गरेको छ । सरकारका गलत कामको निरन्तर खबरदारी गरिरहेको छ । भ्रष्टाचार, अनियमिततार बेथितिको विषयमा पटक पटक बोलेको छ । नीजि विद्यालयहरुको मनोमानीको विरुद्धमा संघर्ष गरेको छ । अहिले हामीले मेडिकल कलेजले लिएको अतिरिक्त शुल्कको विरुद्धमा भइरहको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्दै संघर्षमा साथ दिइरहेका छौं । हामी सेलाएका छैनौं, अन्य संगठनहरुलाई पनि हाम्रा एजेण्डामा ल्याएर अगुवा विद्यार्थी संगठनको भूमिकामा काम गरिरहेका छौं ।

नोबेल मेडिकल कलेजको आन्दोलनमा ऐक्यबद्धता जनाउन ढिला र आनाकानी किन गरेको ?

– अनाकानी गरेकै छैन । आज मात्रै आन्दोलनरत विद्यार्थीहरू सँगै दिनभर थियौं । उहाँहरूलाई तालाबन्दी गर्न पुलिस प्रशासन लगाई रोक्न खोज्दा हामीले प्रतिवाद गरेका छौं । स्थानीय प्रशासनलाई हामीले भनेका छौं कि विद्यार्थीको आन्दोलनमा धरपकड गर्ने, लाठीचार्ज गर्ने वा आन्दोलन दबाउने काम नगर । प्रशासनले त सरकारको आधिकारिक निकाय मेडिकल काउन्सिलले तोकेको शुल्क भन्दा बढी उठाउनेलाई कारबाही गर्नुपर्यो । तर, सरकारले किन उल्टो गरिरहेको छ र विद्यार्थीलाई दमन गर्दैछ यो बुझ्न सकेका छैनौं ।

नोबेलका विद्यार्थीको आन्दोलनको वास्तविकता के हो ? कसरी समाधान हुन्छ ?

– विद्यार्थीहरुको माग शतप्रतिशत जायज छ । समाधान भनेको एउटै छ । राज्यले तोकेको शुल्कभन्दा बढी लिन मिल्दैन । चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो । पाँच वर्षे कोर्सको प्रथम वर्ष बापतको १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोवेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरिक्त शुल्क असुल्न खोजिरहेको विद्यार्थीको भनाइ छ । नोबेलले एमबिबिएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसिप बापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाव दिँदै आएको छ । त्यस्तो गर्न कसरी मिल्छ ? यो कुरा नोबेल मेडिकल कलेजले पुनरविचार गर्नुपर्छ र विद्यार्थीलाई सहजरुपमा पढ्ने वातावरण बनाउनु पर्छ ।

तपाईको संगठनले मेडिकल कलेजका विद्यार्थीको आन्दोलनलाई कसरी टुंगोमा पुर्याउने सोचेको छ ?

– आन्दोलनको सुरुवात भएको छ, अब सडक आन्दोलनसँगै सरकारलाई पनि हामी गम्भीर ध्यानकर्षण गराउँछौं । सरकारले पनि गम्भीरता पूर्वक यो समस्यालाई लिएन भने अहिले मेडिकल माफियाको मात्रै होइन हामी हाम्रै सरकारको विरोधमा आन्दोलनमा उत्रिन्छौं ।

यदि, अतिरिक्त शुल्क लिएरै छाड्ने मेडिकल कलेजले भन्यो भने तपाईहरू के गर्नुहुन्छ ?

– देशमा कानुन छ संविधान छ सरकार छ । अब राज्य र सरकारभन्दा माथि छु भने भ्रममा नोबेल मेडिकल कलेजका मालिक सुनिल शर्मा छन् भने त्यस्तो घमण्ड नगर्न मेरो चेतावनी छ । विद्यार्थी आन्दोलनको तागतले विगतमा के के भयो फर्केर हेर्न उनलाई मेरो सुझाव छ । राजतन्त्र विद्यार्थी आन्दोलनकै बलमा हटेको होइन ? अनि केपी शर्मा ओलीको संसद विघटन गर्ने र प्रगतिगामी कदम सच्याउनका लागि हामीले नै दबाब सिर्जना गरेर उनलाई निनारा लगाएको होइन ? सुनिल शर्मा को हो ? संविधान, कानूनअनुसार गर भनेर संघर्षमा उत्रिएका विद्यार्थीको माग पुरा गराउनु नै उनको लागि पनि र सबैको लागि भलो हुन्छ ।

त्यहाँ आन्दोलनरत विद्यार्थीलाई टार्गेट गरेर जसरी कलेज प्रशासनले धम्क्याइरहेको छ । उनीहरुको मार्क कम दिने र फेल गराइदिने भन्ने विद्यार्थीमा त्रास छ । त्यस्तो हुँदैन भन्ने सुनिश्चितता गर्न सांगठनिक हिसावले अखिल क्रान्तिकारीले के भूमिका खेल्छ ?

– आन्दोलन पश्चात पनि हामी अब मेडिकल समस्यालाई लिएर देशभरका कलेजहरूलाई निरन्तर अनुगमन र विद्यार्थीहरू सँग प्रत्यक्ष जोडिने योजना लिएर आउँछौं । विद्यार्थीले न्यायपूर्ण ढंगले गरेको आन्दोलनकै कारण मार्क कम दिने, अनावश्यक मानसिक तनाब दिने, अभिभावकलाई टचर दिने काम कलेज प्रशासनले गर्नु हुँदैन । वार्ता र छलफलको माध्यामबाट विद्यार्थी आन्दोलनलाई सहमतिमा ल्याउने र सुरक्षित र भयरहित वातावरणमा विद्यार्थीले अध्ययन गर्न पाउने अवस्था सिर्जना गर्न हामी गम्भीर ढंगले लाग्नेछौं ।

3 प्रतिक्रियाहरू

3 प्रतिक्रियाहरू

कामेश्वर यादब
January 6, 2022 8:30 PM

अभिमन्यु भाइ यसरी नै बिद्यार्थी हरुको हक हितमा अबाज उठाउनु जरुरी छ ।तिमिलाई मेरो अन्तर आत्मा देखि शुभकामना

Amit Yadav
January 9, 2022 4:49 PM

नोवेलले निकै मनपर्दि गर्दै छ ।तपाईँले गर्नु भएको एकदम ठीक हो । हामी तराईको साथमा छौँ।

B
January 30, 2022 7:51 AM

Siksha ko nam ma Braham lut garne saikshik mafiya harulai kanuni katgharama uvyai tah lagaunu parxa….ramro kam ko lagi dhanyabat x… Byaskumarmajhi

प्रतिक्रियाहरू बन्द छन्।