वैभव फर्काउन जुर्मुराउँदै ‘सुन्तला गाउँ’

‘सुन्तलालाई धेरै चिसो हुनुहुँदैन । पहिले माथ्लो बेल्टमा धेरै चिसो भएकै कारण कसैको सुन्तला सप्रेन । अहिले चिसो तल्लो बेल्टतिर सरेको छ । त्यता सुन्तला मासिँदा माथ्लो बेल्टमा सुन्तला मज्जाले फलेको छ ।’

विराटनगर । इलामको रोङ गाउँपालिका–६ सलकपुरका छत्रबहादुर खड्का आफ्नो नामले भन्दा बढी ‘घोडावाल दाई’ भनेर चिनिन्छन् । यो पहिचानका पछि उनको लामो कर्मशील दिनहरुको योगदान छ । उनले लामो समय घोडा खेपे । परिवारको गुजाराको माध्यम नै त्यही थियो ।

गाउँमा फल्ने सुन्तला, अदुवा, कुचो लगायतका सामान आफ्नो घोडालाई बोकाएर झापाका धुलाबारी, काँकडभिट्टा बजार पुर्याइदिन्थे । जसको सामान ढुवानी गरेको हो, उसैसँग ‘रोज’ लिन्थे । २० वर्षभन्दा बढी समय घोडा खेपेका उनले २०६३ पछि त्यो कामलाई बिट मारे ।

२०६३ देखि सलकपुरमै रहेको चार रोपनी बारीमा उनले सुन्तला लगाउन थाले । छत्रबहादुर त्यस्तो बेलामा सुन्तला लगाउँदै थिए, जतिबेला उनका छिमेकीहरुको सुन्तला बगान भने निरन्तर मासिँदै थियो ।

त्यसबेला गाउँकै ठूलो मध्येको एक सुन्तला बगान थियो उनका छिमेकी घिमिरे परिवारको । त्यो बगान सात आठ वर्षभित्रै सोत्तर भएको देखेका उनले आफ्नो कुरा सुनाउँदै गर्दा उनको आँगनमा आइपुगे पुजन घिमिरे, जो खड्काका छिमेकी हुन् ।

कुराकानीका क्रममा पुजनले सुनाए, सलकपुरमा सुन्तला मासिएको कथा । ‘त्यसबेला मामा (छत्रबहादुरलाई देखाउँदै) हरुले घोडा खेप्दा हाम्रो तीन सय बोट सुन्तला थियो,’ घिमिरेले भने ‘अहिले उहाँको बारीमा सुन्तलाको बगान छ । हामीले चाहिँ चाख्नुपर्दा पनि उहाँहरुको बारीमा पस्नुपर्ने अवस्था छ ।’

सलकपुरका स्थानीयबासीका अनुसार पछिल्लो १२–१५ वर्षमा सलकपुरमा तीव्र गतिमा सुन्तला मासिएको छ । तर, यो दुःखद् पाटो पर्तिर अर्को सुखद् संकेत पनि छ । त्यो के भने, नयाँ जमिनमा सुन्तला खेती फस्टाइरहेको छ ।

‘पहिले तल्लो गाउँतिर मात्रै सुन्तला हुन्थ्यो, हाम्रोतिर हुन्थेन,’ अहिले गाउँका सफलमध्येका एक सुन्तला किसान बनेका तिनै ‘घोडावाल दाई’ खड्काले भने ‘अहिले तल्लो गाउँतिर सुन्तला सबै मासियो, हाम्रोबारीतिर मज्जाले फल्न थाल्यो ।’ उनीसँग अहिले ८० बोट हाराहारी सुन्तला छन् । त्यसमध्ये ४० बोटले मात्रै उत्पादन दिइरहेका छन् । ‘४० बोट सुन्तला साढे ६ लाख रुपैयाँमा बगानै बिक्री भयो,’ उनले भने ‘टिप्ने, बजार पुर्याउने सबै खर्च व्यापारीले गर्ने हो । मैले पैसा समातेर बगान जिम्मा लगाएको मात्रै हो ।’

सलकपुरमा कुनैबेला कहलिएका सुन्तला किसानको बारीमा अहिले एकै बोट पनि सुन्तला छैन । हिजो अरुका सुन्तला बजार पुर्याउने मजदुरहरुका घरआँगन र बारीमा भने सुन्तला लटरम्मै छन् । निरन्तर रोगाएको सुन्तला खेतीबाट विस्थापनमा परेका किसानहरुसँग यसको कारणबारे एक लाइनको उत्तर मात्रै छ ‘हाम्रो सुन्तला रोगाएर मर्यो ।’ यद्यपि के कारणले यस्तो भयो, कसरी करिब डेढ दशकमा यस्तो भयो भन्ने प्रश्नको ठोस उत्तर किसानसँग छैन, न उनीहरुको नजिकको सरकार रोङ गाउँपालिकासँग नै छ ।

गाउँपालिकाका प्रवक्तासमेत रहेका वडानम्बर ६ का वडाध्यक्ष मणिकुमार स्याङबोका अनुसार सरकारी तहबाट यसबारे केही समयअघि अध्ययन भएको थियो । तर, त्यसको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन ।

‘मैले ६० सालमा एसएलसी दिएको हुँ,’ सुन्तला किसान अभिभावकका सन्तानसमेत रहेका वडाध्यक्ष स्याङ्बोले थपे ‘त्यो बेला गाउँमा अढाई सय परिवार बस्थे । सबैको सानो ठूलो बगान थियो । अहिले परिवार संख्या अरु बढेको छ । तर, सुन्तला खेती गर्ने परिवार संख्या चाहिँ २० भन्दा बढी छैन ।’

कुनैबेला सिंगो गाउँले फलाउने सुन्तला अहिले औंलामा गन्न सकिने संख्याले मात्रै गरिरहेका छन् । वडाध्यक्षको भनाइ प्रमाणित गर्दै छत्रबहादुर खड्काले गाउँका सुन्तला किसानको नाम खरर सुनाए । उनी भन्दै थिए ‘यता मेरो छ बगान, अलिपर्तिर कुशल थापा, पदम कार्की, टंक थापा, सुरेन मगर, चन्द्र गहतराज, विष्णु मगर, अम्बर मगरहरुको छ ।’

उनले नाम सुनाएपछि वडाध्यक्ष स्याङ्बो हाँसे ‘मैले भने नि, अहिले औंलामा गन्न सकिनेले मात्रै सुन्तला खेती गर्छन् । पहिले हाम्रो गाउँले सुन्तला बेच्थ्यो, अहिले त्यसको ब्राण्ड बेच्दैछ ।’ उनका अनुसार पछिल्लो डेढ दशकमा रोगका कारण धेरै सुन्तला बगान मासिएको छ । पात झर्ने, बोट पहेलो हुने, हाँगा मात्रै देखिने, जरा कुहिने समस्या उच्च भएर बगान मासिन थालेका हुन् । जराको बोक्रा कुहिएपछि बोटले आवश्यक खाद्यतत्व लिन नसक्ने, बिस्तारै हाँगा र पात मर्दै जाने अनि चौथो वर्षमा बोट पूरै मर्ने समस्याले किसानलाई सतायो ।

सामान्यतयाः सुन्तलाको एउटा बोटले रोपेको चारदेखि पाँच वर्षभित्र उत्पादन दिन थाल्छ । बोट मर्न पनि लगभग त्यत्तिकै समय लागेको किसानको अनुभव छ । गाउँपालिकाका अनुसार विज्ञहरुले सुन्तला मासिनुको मुख्य दुईटा कारण बताएका छन् । पहिलो, जलवायु परिवर्तन, दोस्रो माटोको बिग्रेको स्वास्थ्य ।

‘विज्ञहरुले भनेको कुरामा हामी कन्भिन्स छौं,’ गाउँपालिकाका प्रवक्ता स्याङ्बोले भने ‘सुन्तलालाई धेरै चिसो हुनुहुँदैन । पहिले माथ्लो बेल्टमा धेरै चिसो भएकै कारण कसैको सुन्तला सप्रेन । अहिले चिसो तल्लो बेल्टतिर सरेको छ । त्यता सुन्तला मासिँदा माथ्लो बेल्टमा सुन्तला मज्जाले फलेको छ ।’ यसका एक प्रमाण हुन् तिनै ‘घोडावाल दाई’ खड्का, जसले २०६३ अघि पनि सुन्तला हरेक वर्षजसो रोपे । तर, कहिले बोट ज्यूँदो रहेन । ‘तल्लो बेल्टमा खेती हुनेहरुको सुन्तला सप्रिँदा हाम्रोमा बोट जोगाउनै मुश्किल पथ्र्यो,’ उनले थपे ‘अहिले ठ्याक्कै अवस्था उल्टो छ । तल्लो बेल्टमा सुन्तला टिक्दै टिक्दैन । हाम्रोतिर राम्ररी फलिरहेको छ ।’ जलवायु परिवर्तनले ल्याएको यो परिवर्तनबारे गाउँपालिकाले किसानहरुलाई सुनाएको छ । सुरुमा नपत्याएका किसानले अहिले भने बुझ्न थालेको अनुभव स्थानीय सरकारलाई छ ।

विज्ञहरुले दिएको अर्को कारण हो, माटोको बिग्रँदो स्वास्थ्य । उनीहरुका अनुसार उत्पादन बढाउने लोभमा वर्षौंदेखि किसानले अनेक रासायनिक मल लगाएर माटो बिगारे । ‘यसरी वर्षौं लगाएर बिगारेको माटो एकै वर्षमा सु्ध्रिने सम्भावना नहुने विज्ञहरुले हामीलाई भनेका छन्,’ प्रवक्ता स्याङ्बोले भने ‘अब केही वर्ष रासायनिक मल प्रयोग नगर्ने, अनुशासित भएर प्रांगारिक मल मात्रै प्रयोग गर्ने र पहिलेकै फर्ममा माटोलाई ल्याउनुपर्छ भन्ने कुरा विज्ञहरुले भनेका छन् । यो कुरा पनि हामीले किसानलाई भनेका छौं ।’

त्यति गरेपछि फेरि माटो सुध्रिने र सुन्तला हुनसक्ने सम्भावना रहने भनेका कारण गाउँपालिकाले हरेक गाउँबासीले कम्तीमा पाँच बोट सुन्तला लगाउनु पर्ने बहस थालेको छ । ‘आज सलकपुर जे छ, त्यो सुन्तलाकै कारणले छ,’ गाउँपालिकाको योजना प्रवक्ताले सुनाए ‘त्यसैले पुरानो वैभव जोगाउन र सुन्तला पर्यटन अझै माथि लैजान पनि त्यस्तो योजना बन्दैछ ।’

सलकपुरका गौरी लामाको अगुवाईमा २००४ सालमा मोतिराम स्कुल स्थापना भयो । गाउँपालिकाले तयार पार्दै गरेको स्थानीय पाठ्यक्रममा उल्लेख भए अनुसार त्यसबेला देशभर स्कुलको संख्या कम्ती थियो । त्यसबेला सलकपुरका विद्यार्थीहरु दार्जिलिङका विभिन्न स्कुलमा मेची तरेर पढ्न जान्थे ।

‘दार्जिलिङमै पढेर फर्किएका गौरी लामाले सलकपुरको कात्तिकेमा सबैभन्दा पहिला सुन्तला रोपेको (२००४ साल आसपास) पाइन्छ,’ आउँदो बैशाखदेखि मात्रै विद्यार्थीले पढ्न पाउने स्थानीय पाठ्यक्रममा लामाको जीवनी राख्ने तयारी छ । त्यसैमा देवलाल घिमिरेको पनि जीवनी राखिँदैछ । घिमिरे चाहिँ सलकपुरमा सुन्तला फैलाउने व्यक्ति हुन् । १०–१२ साल आसपासमा घिमिरे आइएस्सी एजी सकेर कोलकाताबाट गाउँ आउँछन् । गाउँको हावापानी र माटो सुन्तला सुहाउँदो हुने भन्दै उनले ठूलो संख्यामा सुन्तला लगाउँछन् । त्यसबेला विरुवा दार्जिलिङतिरबाटै ल्याइएको थियो ।

देवलाल घिमिरेले बारीमा सुन्तला हुर्काएपछि गाउँका अरुले पनि सुन्तला लगाउन थालेका हुन् । ६५ वर्षीय छत्रबहादुर खड्काका अनुसार उनी १५–१६ वर्षको छँदा गाउँबाट भारतीय बजारतिर सुन्तला जाने गरेको थियो । ‘त्यसबेला घोडाले ताँती लगाएर यहाँको सुन्तला लोहागढ, नक्सल, पानीघट्टासम्म पुर्याउँथे ।’ उनले भनेका यी सबै भारतीय बजारहरु सीमा क्षेत्रका नेपालीका लागि आफ्ना उत्पादन बेच्ने र अन्य सामान खरीद गर्ने पुराना केन्द्र हुन् ।

धेरै समयसम्म घोडामा बोकेर भारतीय बजार र घोडाकै भरमा पाँचथर ताप्लेजुङसम्म जाने यहाँको सुन्तला ३० को दशकको सुरुआतदेखि घोडाकै भरमा झापा झर्न थाल्यो । ‘सलकपुरमा गाडी आइपुग्न २०५८ साल कुर्नुपर्यो,’ कुनैबेलाका सुन्तला किसान मणिक राईले भने ‘बाटो बनेपछि हाम्रो सुन्तला गाडीमा लोड हुन थाल्यो । त्यसपछि टाढाको बजारसम्म पुग्न थाल्यो ।’

जब सलकपुरको सुन्तला टाढाको बजारमा पुग्न थाल्यो, सुन्तला उत्पादन गर्ने यो गाउँले पनि काँचुली फेर्यो । सुन्तला पाक्ने सिजन सुरु हुँदा गाउँ नै पहेँलपुर देखिन्थ्यो । त्यो मनमोहक दृश्य हेर्न नेपाल र भारत मात्रै होइन, बंगलादेशसम्मका पर्यटक यहाँ धुइरिन्थे । त्यो क्रम अहिले पनि उस्तै छ । ‘त्यही भएर भनेको, सलकपुर पहिले सुन्तला बेच्थ्यो, अहिले त्यसको ब्राण्ड बेच्दैछ’ वडाध्यक्ष स्याङ्बोले थपे ‘हुलका हुल पर्यटकहरु गाउँ भित्रिन थालेपछि गाउँका धेरै घरमा होमस्टे खुले । होटल खुले । त्यसरी आउने पयर्टकले बारीमा फलेका तरकारी किनेर लैजान थाले । यहाँका सबै कृषि वस्तु बोटबोटै बिक्ने अवस्था भयो । त्यसको सबै श्रेय सुन्तलालाई जान्छ ।’

किसानहरू क्रमशः वैकल्पिक खेतीमा अघि बढ्दैछन् । अलैंची, एभोकाडो खेतीमा उनीहरु अघि बढेका छन् । अबको वर्षदिन भित्र सलकपुरमा मात्रै हजार बोट एभोकाडोले उत्पादन दिन थाल्ने उनले सुनाए । तर, सुन्तलाकै कारण चिनिएको गाउँको कृषि पहिचान जोगाउन गाउँपालिका लागेको छ । हरेक घरमा कम्तीमा पाँच बोट सुन्तला फलाउने योजना कार्यान्वयनको तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।

पुस १५, २०७८, दिउँसोको ०१:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर