गोकुल पराजुली
२०५४ सालको स्थानीय चुनावबाट विराटनगरका मेयर बनेका रमेशचन्द्र पौडेलले विराटनगरको सौन्दर्यताका लागि भन्दै बरगाछी–महेन्द्रचोक सडक खण्डमा स्थायी डिभाइडर निर्माण गरे । डिभाइडरमाथि ढुंगा छापियो र ढुंगामाथि बिरुवा रोपियो । त्यसले न सौन्दर्यता दियो न त छहारी । ढुंगामाथि रोपिएको बिरुवाको हालतले सडक उल्टै कुरुप देखियो । नगरपालिकाको करोडौं रकम खर्च गरेर बनाएको त्यो संरचना चार वर्ष बित्दानबित्दै शाही निर्वाचनबाट मेयर बनेका प्रल्हाद साहले लाखौं रकम खर्चेर त्यो संरचना भत्काइदिए । ढुंगामाथि रुख रोप्ने र सौन्दर्यता देखाउन नाममा मात्र होइन, बनेको संरचना भत्काउने नाममा पनि नगरको थुप्रै रकम खर्च भयो ।
विराटनरलाई सुन्दर बनाउनुपर्छ भनेर यो नगरको नेतृत्व गर्नेहरुले सोच्दै नसोचेका होइनन् । त्यसअघिका मेयर अशोक कोइरालाले सुन्दरताकै कल्पना गरेर घण्टाघर बनाउने प्रयत्न गरे । जिल्ला प्रशासन कार्यालय अगाडि पिल्लर पनि उठाए । त्यो पिल्लरको नामो निसान अहिले फेला पर्दैन । नगरका ब्युटिफिकेसनको नाममा कहिले विराटनगरका सडक र फुटपाथ छुट्याउन मेनरोड क्षेत्रमा रेलिङ हालियो । त्यो रेलिङ धरान विराटनगर सडक खण्डमा पनि लाग्यो । तर, ती सब संरचना अहिले छैनन् । त्यसको दिगोपनको विषयमा सम्बन्धित निकायको ध्यान गएन । त्यतिमात्र होइन, नगर नेतृत्वले जुन संरचनाको निर्माणको योजना अघि सा¥यो, त्यसको उपयोगिता र दिगोपनको विषयमा दूरदृष्टि राख्न सकेको पाइएन । सडकमा बनेको डिभाइडर चार वर्ष पनि नटिक्नु, निर्माण आरम्भ भएको घण्टाघरको नामोनिसान हराउनु, लगाइएका रेलिङहरु ३ वर्ष पनि नरहनु त्यसको उदाहरण हो ।
विराटनगरमा कुनै नयाँ योजनाका थालनी हुँदा विगतका यी नकारात्मक बिम्वहरु पहिले नगरबासीको स्मृतिमा आउँछन् । यो स्वभाविक हो । राजनीतिक नेतृत्वले दीर्घकालसम्मको भिजन अगाडि सार्न नसक्दा यस प्रकारको निराशा र नकारात्मक भाव पैदा हुन्छ । अनि कसैले साँच्चै नयाँ गर्ने उद्देश्यले नयाँ योजना अगाडि सार्दा त्यही तितो विगत सम्झेर नागरिकहरु साथ दिन तयार हुँदैनन् । बरु विरोध गर्छन् र यथास्थितिमै रहन उपयुक्त सम्झिन्छन् । यो सामान्य मानवीय स्वभाव हो । त्यसको उदाहरण के हो भने केही वर्ष अघि विराटनगरले कलर जोनको अवधारणा अगाडि ल्यायो । तर, जनता उत्साहित भएनन् । नगरपालिकाले निकै मिहेनत गर्दा पनि त्यो योजना लागू भएन ।
विगतका ती तमाम असफल योजना भोगेका नगरबासीहरु अहिले पनि कतै त्यस्तै त हुने हैन भन्नेमा सशंकित छन् । त्यसैले महानगरले अगाडि सारेका योजनाहरुमा खुलेर साथ दिने आँट गरिरहेका छैनन् । तर, अब ती असफलताले हामीलाई सँधैभरी प्रभावित बनाइराख्न हुन्न । विकासका योजनाहरु निर्वाध अघि बढ्नुपर्छ । महानगरपालिकाले यतिबेला दुईवटा महत्वपूर्ण योजनाहरु विराटनगरमा अगाडि सारेको छ । एउटा नगरको सौन्दर्यता र विशेषतासँग सम्बन्धित छ भने अर्को अनिवार्य आवश्यकता र सुरक्षासँग सम्बन्धित । यी दुई योजना विगतका असफल योजनाको तुलनामा भिजनरी नै अनुभूत हुन्छन् ।
महानगरले हिमालय रोडको सौन्दर्यकरण गरिरहेको छ । शान्त रोडको अवधारणा अन्तर्गत सिक्किमको एमजी रोडको अनुशरण गरेर निर्माणाधीन योजनाको विरोधमा केही बुद्धिजीवीहरु छन् । तर, यस योजनाको विरोध अनावश्यक छ । नगरको सौन्दर्यकरण गर्ने र कुनै ठाउँको विशेष पहिचान तयार पार्ने काम सरकारको हो । सरकारको यो सोच त्यस ठाउँका लागि सकारात्मक छ । नयाँ टेष्टका लागि पनि त्यो काम अघि बढ्नुपर्छ । हो, यसमा प्रश्न उठेपछि यसको दीगोपनको विश्वास दिलाउने र जनतालाई आश्वस्त बनाउने जिम्मा भने महानगरको हुनुपर्छ । त्यसमा पनि महानगर प्रमुखले त्यो भूमिका निर्वाह गर्नुपर्छ र सबैलाई आश्वस्त बनाउन सक्नुपर्छ ।
सुरक्षा र आवश्यकतासँग सम्बन्धित अर्को योजना हो, आकासेपुल । पैदलयात्रीहरुलाई सँधै भिडभाड हुने बजार क्षेत्रमा ६ लेन सडक पार गर्न साँच्चै समस्या छ । यसैका कारण दुर्घटनाहरु बढेका छन् । जनताका जीउधन सुरक्षा गर्न पनि जनघनत्व बढी भएको बजार र राजमार्गका विभिन्न खण्डमा यस्ता आकासेपुल अनिवार्य आवश्यकता भइसकेको छ । जनताको आवश्यकता पहिचान गरेर महानगरले निर्माण गर्न लागेको यो योजना केही महिनादेखि अलपत्र परेको छ । पुलको ठेक्का लागिसकेको छ । ठेकेदार निर्माणका लागि सामानसहित तयारी अवस्थामा बसेको छ । तर, केही व्यक्तिको विरोधकै कारण योजना रोकिएको छ । विरोध गर्नेहरु अधिकांश नेताहरु नै छन् । नेताले समस्या सिर्जना गर्ने कि समाधान दिने ? समाधान दिने हो भने हरेक निर्माणमा किन विरोध ? कि त्यस्तै संस्कार विकास भयो अब ?
महानगरले यी दुई योजनाहरु जसरी पनि सम्पन्न गर्नुपर्छ । वर्तमान महानगर प्रमुखको कार्यकालमा देखिने र जनताले अनुभूत गर्ने उपलब्धी भनेकै यिनै दुई योजनाहरु हुनेछन् । त्यसकारण पनि यी योजनाहरु केही महिनाभित्रै सम्पन्न गर्न महानगरले भरपुर प्रयत्न गर्नुपर्छ । अझ आकासे पुल बनाउन बल प्रयोग नै गर्नुपरेछ भनेपनि महानगर पछि हट्नु हुन्न । जनताको जीवन रक्षार्थ अनावश्यक विरोधमा उत्रनेहरुलाई सामान्य दमन गर्दा राज्य निरंकुश भयो भन्ने आँट कसैले गर्दैन । विकासको विरोध गर्नेहरु र विकासको कामका अबरोध हटाउन नसक्नेहरु नेता हुन सक्दैनन् ।