विराटनगर । मुलुकको आर्थिक विकासका लागि ‘गेमचेञ्जर’ मानिएका प्रदेश १ का केही ठूला आयोजना मजदुरका लागि भने काल सावित बन्दै आएका छन् । प्रदेशका पहाडी जिल्लाहरुमा निर्माणाधीन अवस्थामा रहेका विकास आयोजनामा निरन्तर हुने दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ ।
संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजना सबैभन्दा धेरै मजदुरको ज्यान लिने बहाना बनिरहेका बेला सोलुखोला दूधकोशी जलविद्युत आयोजनामा दुई जना इञ्जिनियरको ज्यान गएको छ । कार्यस्थलमा निर्माण पक्षले पर्याप्त सुरक्षा प्रबन्ध नगर्दा, सम्भावित जोखिमबाट जनशक्ति जोगाउन निर्माण पक्षले चासो नदिँदा मजदुर मात्रै होइन, उच्च तहका प्राविधिक जनशक्तिको पनि ज्यान गइरहेको छ ।
अरुण तेस्रो जस्ता आयोजनामा काम गरिरहेका मजदुरहरु पनि हरक्षण जोखिम मोलेर काम गर्न बाध्य छन् । ‘ज्यान माया मारेर मजदुरले यहाँ काम गर्नुपरिरहेको छ,’ अरुण तेस्रो जलविद्युतमा साथीभाइसहित काम गरिरहेका झापा धुलाबारीका मजदुर भरत राईले हाम्रोमतसँग टेलिफोन सम्पर्कमा भने ‘यहाँ कुन बेला ढु्ंगा खसेर कसको मृत्यु हुने हो, कुनै टुंगो छैन ।’
राईका अनुसार पछिल्लो वर्षदिनभित्र एक दर्जनभन्दा बढी मजदुरले सुरुङभित्रै मृत्युवरण गरिसकेका छन् । ती घटना अन्तिम हुने आशा कसैलाई छैन । ‘रोजगारीका लागि घर छाडेर यहाँ आइएको छ,’ उनले थपे ‘तर, काम गर्ने ठाउँ यति असुरक्षित छ कि कुनबेला के हुने हो केही भर छैन ।’ परिवारको आधारभूत आवश्यकता पूरा गर्न झापाबाट संखुवासभा पुगेर दिनरात मजदुरी गरिरहेका उनीजस्ता हजारौं मजदुरहरुको जीवनको असुरक्षा पछिल्लो समय झनै बढेको छ । यद्यपि उच्च तहका जनशक्तिको मृत्यु हुँदा तत्कालै छानबिनका लागि अग्रसरता देखाउने सरकारले सामान्य मजदुरको सुरक्षामा चासो नदिँदा उनीहरु खिन्न छन् ।
भर्खरै मात्रै सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको मृत्यु भएको घटनाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयले मंगलबार घटनाको सत्यतथ्य पत्ता लगाउन सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति समिति गठन गरेको छ ।
आइतबार अपराह्न आयोजनामा कार्यरत इन्जिनियर धुलिखेल नगरपालिका–४ का २९ वर्षीय अर्जुन थापा र अछाम साँफेबगर–२ का २६ वर्षीय सुवासराज रेग्मीको मृत्यु भएको थियो । आयोजनाको पाइपलाइन परीक्षण गर्ने क्रममा अगाडिको वल्डिङ विस्फोट भएर थापा र रेग्मीको मृत्यु भएको प्रारम्भिक रिपोर्ट छ ।
यस्तै छानबिनको माग संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरले पनि निरन्तर गर्दै आएका छन् । यद्यपि उनीहरुको मागको सम्बोधन भने अहिलेसम्म हुन सकेको छैन । ‘अहिलेसम्म दुई दर्जन जतिले यहाँ ज्यान गुमाए होला,’ मजदुर भरत राईले भने ‘एक वर्षमै कम्तीमा १२ जना मरे । तर, सरकारले र निर्माण पक्षले त्यसबारे कुनै सोधीखोजी गरेको याद भएन ।’
यो जलविद्युत परियोजनामा नेपाली र भारतीयसहित ३ हजारभन्दा बढी मजदुर कार्यरत छन् । नेपाललाई २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ दशमलव १ मेगावाट बिजुली निःशुल्क प्राप्त हुने सो आयोजनाबाट विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुने अनुमान छ ।
आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त गर्नेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउनेछ । मुलुकको दीर्घकालीन आर्थिक विकासका लागि सहयोगी हुने आयोजना निर्माणमा मजदुरको सुरक्षामा ध्यान दिन विभिन्न संघसंस्थाले माग गर्दै आएका छन् । गत वर्ष दुई साताभन्दा लामो आन्दोलन अरुण तेस्रो परिसरमा चलेको थियो । तर, त्यसले कुनै उपलब्धि नदिएको मजदुर अगुवाहरुको भनाइ छ ।
‘यति ठूलो आयोजनाको निर्माण पक्षसँग एक से एक प्रविधि र जनशक्ति हुन्छ,’ झापाली मजदुर राईले थपे ‘सम्भावित दुर्घटनास्थलमा पहिला सुरक्षा प्रबन्ध गर्ने अनि मजदुर खटाउने गर्नसक्छ । तर, अहिलेसम्म त्यस्तो भएको छैन ।’