जनक ढकाल
नेपालका मुख्य राजनैतिक दलहरुको अधिबेशन सम्पन्न गर्ने राजनीतिक सरगर्मीको सिजन चलेको छ । मुख्य राजनैतिक दलहरु नेपाली कांंग्रेस, नेकपा एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेले आफ्नो अधिवेशन सकेका छन् । नेपाली कांग्रेसले वडादेखि केन्द्रसम्म अधिकांश स्थानहरुको मतदान प्रक्रियाबाट नै नेतृत्व चयन गरेको छ । नेतृत्व चयन प्रक्रियामा नेपाली कांग्रेसले सहमतीय प्रक्रियालाई भन्दा पनि निर्वाचनको प्रक्रियालाई नै जोड दिएको पाइन्छ । नेकपा एमालेले अधिबेशनबाट नेतृत्व चयन गर्ने क्रममा केही स्थानहरुमा निर्वाचन र धेरैतिर सहमतिको प्रक्रिया अपनाएको देखियो । राप्रपाले नेतृत्व चयन गर्ने सवालमा निर्वाचन प्रक्रियालाई नै अपनायो ।
अन्य राजनैतिक दलहरुले आफ्नो अनुकुलता अनुसार सहमति वा निर्वाचन प्रक्रिया अपनाए । अहिले केन्द्रीय महाधिवेशन गरिरहेको नेकपा माओवादी केन्द्रले भने निर्वाचन प्रक्रियाभन्दा पनि मुख्यरुपमा सहमतिको प्रक्रियालाई जोड दिँदै आएको छ । नेकपा माओवादी केन्द्रको १ नं. प्रदेशको प्रथम अधिबेशन सहमतिको प्रयासमा लामो समय नेतृत्व चयन गर्न सकेको थिएन । मंसिर २५ र २६ गते सम्पन्न अधिवेशनले प्रदेश सदस्य चयन गरेकोमा पदाधिकारी चयन गर्न सहमितको प्रयास भन्दै दुई सातासम्म नेतृत्व चयन भएन । अन्ततः पुस ७ गते निर्वाचनबाटै पदाधिकारी चयन भएका छन् । पुस ११ देखि १५ गतेसम्म राष्ट्रिय महाधिबेशनमा अहिले माओवादी होमिएको छ । यो महाधिवेशनमा पनि नेतृत्व कसरी चयन हुन्छ भन्ने बहस र चासो छ ।
अधिबेशनको एउटा प्रमुख काम राजनीतिक दलको आन्तरिक प्रतिस्र्धाबाट सवल नेतृत्व चुन्ने पनि हो । त्यसका अलवा पार्टीको बैचारिक, राजनीतिक र सांगठनिक पाटोको बिषयमा गहन बहस र छलफल गरि आगामी नीति तय गर्नु र पार्टी पंक्तिलाई उर्जा भरेर थप चलायमान बनाउनु नै यसको मुख्य उद्देश्यक रहन्छ । माओवादी केन्द्रको वडा अधिबेशनबाटनै नेतृत्व चयन गर्ने सवालमा सहमतिमै जोड दिइएको छ । गाउँ तथा नगर पालिका अधिबेशनको सिनारियो हेर्न हो भने पनि निर्वाचनभन्दा पनि सहमतिलाई नै जोड दिएको देखियो । प्रदेशतहको अधिबेशनमा पनि सहमतिलाई जोड दिने र सहमति नभएको अवस्थामा मात्र निर्वाचनमा जाने प्रक्रिया देखियो । प्रदेशको प्रथम अधिबेशनको दौरान हरेक तहका नेतृत्व चयन र कमिटी निर्माणका अभियानमा नेतृत्वले निर्वाचनलाई भन्दा पनि सहमतीय प्रक्रियालाई जोड दिएको भएपनि पदाधिकारी चयनमा सहमति नजुट्दा निर्वाचन गर्नपरेको हो ।
सहज रुपमा निर्वाचनको बिधि अपनाएर कार्यकर्ताबाट नेतृत्व अनुमोदिन नहुँदा अधिबेशनको नाममा नेतृत्व बन्ने र बनाउने सवालमा माथिल्लो तहका नेताहरुको कृपा, अनुकम्पा र आशिर्वादको चाहना राख्नुपर्ने बाध्यता छ । नेताहरुले आफ्नो अनुकुलताको मान्छेलाई जिम्मेवारी दिने र राम्रोभन्दा हाम्रोलाई प्राथमिकता दिने भएकोले सहमतिको नाममा इमान्दार र योग्य कार्यकर्ता अन्यायमा परेको पनि देखिन्छ । अधिवेशनको नाममा आफ्ना अनुकुलताका मान्छेहरुलाई नेतृत्वमा राख्ने परिपाटीले पार्टी र संगठनमा इमान्दारीताका साथ काम गर्ने सक्षम र सवल कार्यकर्ताहरुको मनोबल गिर्ने र गिराउने गर्दछ । यो परिपाटीबाट पार्टीमा इमान्दार कार्यकर्ताहरुको अभाव हुन्छ र आफूभन्दा उपल्लो नेताहरुको अनुकम्पाबाट चुनिएका टिके नेतृत्वले सम्पूर्ण कार्यकर्ताको मनोभावनालाई सम्बोधन गर्न सक्दैन । उसले पनि आफ्नो अनुकुलका केही थान मान्छेहरुलाई मात्र बाकेर हिँड्ने गर्दछ । कुनैपनि राजनीतिक दल वा संगठनमा इमान्दार कार्यकर्ताहरुको अभाव भएको खण्डमा सो पार्टी राजनीतिक सोच र भिजन र अनुशासनबिनाको एउटा भजनभण्डली जस्तो मात्र हुनपुग्छ ।
लेनिनले भनेका छन्, अनुशासनबिनाको स्वतन्त्रता अराजक बन्छ र स्वतन्त्राबिनाको अनुशासन क्रुर हुन्छ । नेकपा माओवादी केन्द्रको जारी महाअधिबेशनबाट नेतृत्व चयन गर्ने कुरामा केन्द्रीयता लागू गर्नु र सहमतिको नाममा योग्यहरुलाई पाखा लगाउने काम नहोस् । राजनीतिक सोच र बिचार नभएका झुण्डहरु भर्ती गरेर नेतृत्वले भजन मण्डली मात्र बनाएमा त्यसले पार्टीको हितमा काम गर्न सक्दैन ।
अधिवेशनमार्फत नेतृत्व चयन गर्दा जनवादी केन्द्रीयताको अभ्यासले पार्टी र आन्दोलनलाई मद्दत पु¥याइरहेको छ कि छैन ? आम कार्यकर्तातर्फ फर्केको नेतृत्व र जनतातर्फ फर्किएको पार्टी निर्माण गर्न खोजेको हो की चाकडी र दास मनोवृत्ति स्थापित गर्न खोजिरहेको हो ? अहिले यो बिषय पनि आम कार्यकर्ताहरुमा चासोको बिषय बनेको देखिन्छ । यो महाधिबेशनको माध्यमबाट नेतृत्व चयन गर्ने शिलशिलामा केबल सहमतिकै नाममा आफ्ना मान्छे भर्ती गर्ने हो भने पार्टी र संगठनको लागि निस्वार्थ काम गर्ने सवल, सक्षम र कर्तव्यनिष्ठ कार्यकर्ता ओझेलमा पर्नजान्छ र उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका राजनीतिक, आर्थिक तथा सामाजिक मुद्दालाई उठान गर्ने सवालमा चुक्ने देखिन्छ । सहमतिको नाममा आफ्नो पक्ष वा गुटका मान्छे भर्ति गरेर बनेको नेतृत्वले यो मुलुकको आर्थिक समृद्धि र सामाजिक न्यायसहितको आफ्नै मौलिकताको समाजवाद निर्माण गर्ने अभियानको नेतृत्व गर्ने हैसियत राख्दैन ।
माओवादीको आसन्न केन्द्रीय अधिवेशनबाट संगठनात्मक पद्दतिमा केही नयाँ विकास गर्छ कि आजकै निर्वाहमुखी र तदर्थवादी संगठनात्मक प्रद्दतिको चक्रव्यूहमा फसिरहन्छ ? यो महत्वपूर्ण विषय हो । क्रान्तिकारी विचार र कार्यदिशा निर्माण गर्ने तर त्यो विचार र कार्यदिशालाई कार्यान्वयन गर्नसक्ने संगठनात्मक पद्दतिमा विकास गर्न सकिएन भने क्रान्तिकारी विचार र कार्यदिशा कागजमा मात्र सीमित हुने निश्चित छ । माओवादीको महाधिवेशनले क्रान्तिकारी पार्टी निर्माणको सन्दर्भमा स्पष्ट जवाफ दिन जरुरी छ । पार्टी र जनतालाई जोड्ने महत्वपूर्ण सञ्जालका रूपमा रहेका जनसंगठनलाई जुझारु र प्रभावकारी बनाउन समयसापेक्ष विधिमा विकास गर्नैपर्छ ।