गोली लागेपछिको एक वर्ष जीवन/मरणको दोसाँधबाट बचेका मिक्सो

‘शारीरिक अवस्था साह्रै कमजोर थियो । तैपनि पार्टीको जिम्मेवारीलाई मैंले ग्रहण गर्नुको विकल्प थिएन् । आफैंले सङ्गठित गरेका कमरेडहरुलाई नेता मानेर क्रान्तिमा निरन्तर लागेँ । ’ मिक्सो

पाँचथर सदरमुकाम फिदिम रहुन् वा बाहिर, हर्कबहादुर नेम्बाङलाई दैनिक सयौँ फोन आउँछन् । अहिले नेम्बाङलाई विशेषत दुई उद्देश्यले कार्यकर्ताका फोन आइरन्छन् । पहिलो, पार्टी कमिटी र दोस्रो, जिल्लाको विकास निर्माणको बारे । विभिन्न कमिटीहरुमा राखिदिन आग्रह गर्ने, पार्टी सञ्चालन र एकता प्रक्रिया अनि विकास निर्माणको अवस्थाबारे चासो राख्नेदेखि, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट योजना पारिदिन आग्रह गर्ने हजारौँ कार्यकर्ताहरुले उनलाई फोन गर्ने गर्छन् ।

यसबाहेक आफ्नै दैनिकी सञ्चालनमा सहयोगको अपेक्षा गर्ने कार्यकर्ता पनि छन् । यी सबै कामको दायित्व हर्कबहादुर नेम्बाङभन्दा कमरेड मिक्सोको नाममा धेरै हुन्छ । जनयूद्धको भूमिगत कालमा पार्टी नाम मिक्सो राखेका उनलाई अझसम्म धेरै नेकपाका कार्यकर्ताले हर्कबहादुर नेम्बाङ भनेर चिन्दैनन् । तर कमरेड मिक्सो चाँही सबैको मनमै बसेको नाम हो ।

अरुका लागि दिलोज्यान दिने हर्कबहादुर नेम्बाङ अर्थात कमरेड मिक्सो स्वयम् चाँही खुट्टामा गम्भीर समस्या लिएर बाँचिरहेका छन् ।
पहिले मोटरसाइकल कुदाउने उनी खुट्टाको भरोसा नहुँदा अहिले स्कुटी कुदाँउछन् । सकभर लामो बाटो चार पाङ्ग्रे सवारीमै हिँड्न चाहन्छन् । दैनिक एक/दुई घण्टाभन्दा बढी समय हिँडडुल गर्न समस्या हुन्छ । जनयूद्धको समयमा ओखलढुङ्गा आक्रमण गर्दा उनको देब्रे खुट्टामा दुश्मनको गोली लागेको हो ।

कमरेड मिक्सो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी अध्यक्ष हुन् । विगतमा उनले नेकपा (माओवादी केन्द्र)को थुप्रै जिम्मेवारी निभाएका छन् । माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको लिम्बुवान राज्य समितिको सचिव भए । उनी पाँचथरको अतिरिक्त जनयुद्ध र शान्ति प्रक्रियाको प्रारम्भ ताका तत्कालीन माओवादीको तेह्रथुम र धनकुटा जिल्लाको इन्चार्ज भए ।

पाँचथरका अतिरिक्त ती जिल्लाको नेतृत्व गरेर उनले वैचारिक बहसमा कार्यकर्तालाई एकढिक्का राखेको, सङ्गठन सुदृढ र चलायमान बनाएको, विद्रोहलाई सशक्त बनाएको भनेर नेताहरु धेरै प्रशंसा गर्ने गर्छन् । कार्यकर्ताको माया पनि उत्तिकै छ त्यही कारण पनि गत ७ गते सम्पन्न माओवादीको प्रदेश पदाधिकारी चयनमा उनी अत्याधिक मतका साथ विजयी बने ।

प्रायः कार्यकर्ताले अझै पनि उनलाई धेरै कुरा सोध्छन् । सुझाव लिनेको सङ्ख्या समेत उल्लेख्य छ । यसैको चाप नेम्बाङमा परेको छ । जनता र पार्टी नेता कार्यकर्ताको साथ पाए पनि नेम्बाङलाई स्वास्थ्यले भने साथ दिएको छैन् । खुट्टाको समस्याका कारण उनले जति सकिन्छ सक्रियता घटाउनु पर्ने हुन्छ । तर उल्टो उनको सक्रियता बढ्नुपर्ने कार्यकर्ताको माग छ ।

जहाँ लाग्यो त्यहाँ सफल

फौजी होस् वा राजनीतिक जुनसुकै मोर्चामा नेम्बाङ सधैँ सफल भएको उनले प्राप्त गरेका जिम्मेवारीहरुबाट देखिन्छ । २०५८ साउनमा तत्कालीन विद्रोही माओवादीको पूर्णकालीन सदस्य भएका नेम्बाङले पार्टी एरिया सदस्यको जिम्मेवारी पाए । लगत्तै जनमुक्ति सेनामा खटिए र सेक्सन भीसी भए । त्यसको पाँच महिना पछि उनी सेक्सन कमाण्डर भए ।

२०५८ मा सेक्सन कमाण्डर भएका उनी सोही सालको चैतमा पूर्वी कमाण्ड २ नं। कम्पनीअन्तर्गत प्लाटुन भीसी भए । २०५९ असारमा उनी प्लाटुन कमाण्डर भए भने २०५९ असोजबाट मेची–कोशी ब्युरो कम्पनी भीसी भए । तर, जिम्मेवारी सम्हाल्न नपाउँदै उनी गम्भीर घाइते भए । ओखलढुङ्गाको रुम्जाटार विमानस्थल आक्रमणमा गम्भीर घाइते भएका उनले झण्डै एक वर्ष जीवन/मरणको घाइते जीवन बिताउनुप¥यो ।

नेपाल र भारतका विभिन्न स्थानमा डेढ वर्ष उपचार गराएर सामान्य रुपमा स्वस्थ भएका उनी २०६० मा माओवादीको जिल्ला कमिटी सदस्य हुँदै पार्टी जिम्मेवारीमा जोडिए । त्यसअघि हतियार बनाउने समूहमा राखिए पनि उनी पार्टी राजनीतिमै आवश्यक रहेको ठान्दै जिल्ला ल्याइयो । जिल्ला कमिटी सदस्य र एरिया सेक्रेटरी बनेका उनी केही महिनामै एरिया इन्चार्ज, क्षेत्र नं. १ इन्चार्ज, हुँदै जिल्ला सेक्रेटरी भए ।

केही दिन जिल्ला सेक्रेटरी बनेका उनलाई २०६१ बाट जिल्ला इन्चार्ज बनाइयो । त्यसपछि उनी २०७५ सम्म जिल्ला र जिल्लाभन्दा माथिल्ला जिम्मेवारीमा रहे । मोहन वैद्य नेतृत्वको तत्कालीन क्रान्तिकारी माओवादी र माओवादी केन्द्रको पोलिटब्युरो सदस्य बनेका नेम्बाङ पार्टीले दिएका सबै जिम्मेवारीलाई आफूले सधैँ शीरोधार्य गरेर पूरा गर्ने प्रयत्न गरेको सुनाउँछन् ।

जीवन मरणको सङ्घर्ष

जनयुद्ध उत्कर्षमा पुगेका बेला २०५९ कात्तिक १६ गते माओवादीले ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा आक्रमण गर्ने योजना बनायो । आक्रमणका लागि दुई वटा एसल्ट थिए, एउटाको नेतृत्व नेम्बाङले गरेका थिए । दक्षिण तर्फबाट नेम्बाङ नेतृत्वको एसल्ट अघि बढ्यो ।
बाहिरी घेरा पन्साएर सैनिक क्याम्पको मुख्य बङ्करमा आक्रमण गर्दा नेम्बाङको नेतृत्वका चार जना लडाकु घाइते भए । उनीहरुलाई उद्धार गर्ने क्रममा नेम्बाङको देब्रे खुट्टामा गोली लाग्यो । उनी त्यहीँ ढले । उनी सहित अन्य घाइतेहरुलाई तत्कालै सहयोद्धाहरुले उद्धार गरे । भोली पल्ट स्टेचरमा दुर्गम गाँउमा हिँडाउदै गर्दा नेम्बाङको होस् खुल्यो ।

सोहीबेला उनीहरुलाई सैनिक हेलिकप्टरले आक्रमणको प्रयास गरिरहेको थियो । घाइतेहरुको प्राथमिक उपचार गर्दै सेल्टर सार्दै हिँडाउने क्रम जारी थियो । यसैक्रममा एकदिन उनीहरु झण्डै शाही सेनाको कब्जामा पुगे । बिरामी बोकेर हिँडेको टोली सैनिक गस्ती नजिकै पुगेको थियो ।

‘यो थाहा पाएपछि सबै जना मर्नुभन्दा हामीलाई छोडिदिनुस्, हामी यसै मर्न लागेकै छौँ, तपाइँहरु भागेर ज्यान बचाउँनुस्, क्रान्तिलाई निरन्तरता दिनुस् भनेर कमरेडहरुलाई अनुरोध गरेँ’ नेम्बाङ सम्झन्छन्, ‘तर स्थानीयवासी समेतको सहयोगमा कमरेडहरुले हामीलाई सुरक्षित गरेर छोड्नुभयो र बाँचियो ।’ माओवादीलाई शरण दिएको वा भगाएको आरोपमा सेनाले स्थानीय माथि चरम दमन गरेको सुनिएको नेम्बाङ स्मरण गर्छन् ।

१५ दिनपछि उनीसहित अर्का घाइते कमल माझीलाई उपचारका लागि भारतको सीतामणी पु¥याइयो । सीतामणीमा प्राथमिक उपचारपछि दरभङ्गामा क्लिनिकमा राखियो । त्यही बेला भारतीय सुरक्षाकर्मीले नेपाली माओवादी माथि ब्यापक धरपकड तथा दमन गर्ने नीति लियो । ‘क्लिनिकमा उपचार गर्न सम्भव भएन् । हाम्रा कमरेडहरुले हामी दुई जना घाइतेहरुलाई एउटा गेष्टहाउसको कोठा भाडामा लिएर राखेर गए । उनीहरु दुई दिनसम्म फर्किएनन् । गेष्टहाउस मालिकले हाम्रो कोठा भाडामा भएकाले खोलेन’ नेम्बाङ सम्झन्छन् । भोकभोकै रहेको, दिसा पिसाब लडेकै ठाँउमा हुने, खुट्टाको हड्डी बाहिर निस्किएको, मासु पाकेको र अत्यधिक गर्मीलगायत कारणले उनीहरुले त्यहाँ ठूलै कष्ट ब्यहोर्नु प¥यो । त्यहाँ उनीहरुलाई राखेर हिँड्ने मध्ये एक जना माओवादी कार्यकर्ता भाग्न सफल भए । अरु सबै पक्राउ परे ।

त्यसपछि उनीहरुलाई उपचारका लागि पट्ना पु¥याइयो । नेम्वाङ र माझीको दिसा पिसाब गराउनेदेखि उपचारको सम्पूर्ण प्रबन्ध मिलाउने ब्यक्ति थिए सर्लाहीका रामत्रिपाल यादव । नेम्बाङको शरीरमा रगत अत्यन्तै कम भएको पाइएपछि उनलाई २० पाउण्ड रगत लगाइयो । यसका लागि तीन महिना समय लाग्यो । अरु तीन महिनामा खुट्टामा चार ठाँउ शल्यक्रिया गरेर खुट्टा केही सामान्य अवस्थामा ल्याइयो । तर त्यहि समयमा पुनः ब्यापक धरपकड भयो । माओवादीका तत्कालीन केन्द्रीय सदस्यद्वय कमरेड सुरेश आलेमगर र कुलप्रसाद केसी कमरेड सोनाम पटनामै पक्राउ परे । मोहन वैद्य कमरेड किरण सिलिगुढीमा पक्राउ परे । यसपछि उनीहरुलाई क्लिनिकले उपचार गर्न नसक्ने जनाउ दियो र क्लिनिकबाट निकालियो । अन्ततः नेम्बाङ सहित तीन जना नेपाल फर्कने निश्कर्षमा पुगे ।

जतिबेला नेपाल आउन लागेका थिए, उनीहरुसँग पैसा थिएन्, पार्टीसँग सम्पर्क थिएन् । नेम्बाङले महिनौँदेखि पार्टीबाट प्राप्त भारु १ हजार ५ सय लुकाएका थिए । त्यही पैसाले सर्लाहीसम्म आइपुगे । गाडी चढ्न नमिल्ने भएकाले साना गाडी, गोरुगाढा चढेर कष्टपूर्ण रुपमा उनीहरु सर्लाही आए ।

त्यहि बेला नेपालमा दोस्रो चरणको सरकार–माओवादी शान्ति बार्ता चलिरहेको थियो । नेम्बाङको काठमाडौँको जोरपाटी मेडिकल कलेजमा उपचार भयो । यसपछि उनी बैशाखी टेकेर हिँड्न सक्ने भए । सहयोगी यादवकै इशारामा उनी सर्लाहीमा आए र चुरे क्षेत्रमा बसे । ‘त्यहाँका जनताको माया र त्यहाँका कामरेडहरुको माया र श्रद्धा कहिल्यै भुल्न सक्दिन् । मेरो इच्छा छ एक दिन त्यहाँ पुग्नेछु । उहाँहरुलाई भेट्नेछु’ नेम्बाङ भन्छन् ।

एक वर्षभन्दा बढी समयसँगै रहेका माझी र यादवलाई छोडेर नेम्बाङ पूर्व आए । युद्धविराम सकिन लाग्दा पाँचथरमा आई उनी सेनामै जोडिए । तन्दुरुस्त थिएनन्, वैशाखी टेकेर हिँड्थे । उनी डेढ वर्षपछि पाँचथर आइपुगेका थिए । युद्धविराम बाँकी नै छँदा पाँचथरको आङसराङको मेहेलबोटेमा सुरक्षाकर्मीद्वारा निहत्था माओवादी कार्यकर्ता र जनमुक्ति सेनाको हत्या ग¥यो ।

नेम्बाङ नजिकै यासोकको खाल्डेमा थिए । युद्धविराम भङ्ग भएपछि उनलाई हतियार बनाउने टिममा पठाइयो । उनले बैशाखी छाडेका थिएनन् । ताप्लेजुङका विभिन्न गाँउमा केही समय बसे । तर पार्टीले नेम्बाङलाई पाँचथरकै सङ्गठनमा जिम्मेवारी दिनु पर्ने निश्कर्ष निकाल्दै जिल्ला बोलायो ।

आफैंद्वारा सङ्गठित कमरेडहरु नेता

जब उनी पाँचथर आए, उनैले सङ्गठित गरेका कमरेडहरुलाई नेता मान्नुप¥यो । ‘शारीरिक अवस्था साह्रै कमजोर थियो । तैपनि पार्टीको जिम्मेवारीलाई मैंले ग्रहण गर्नुको विकल्प थिएन् । आपैmंले सङ्गठित गरेका कमरेडहरुलाई नेता मानेर क्रान्तिमा निरन्तर लागेँ’ नेम्बाङ भन्छन्, ‘ब्यक्तिगत हिसाबमा त अप्ठ्यारो हुन्थ्यो नै तर त्यो पार्टीको मूल्याङ्कन र जिम्मेवारी थियो यसैले मैंले पार्टीको निर्णयलाई अन्यथा ठानिंन ।’

सुरुमा नेम्बाङलाई जिल्ला कमिटीको सदस्य र एरिया सेक्रेटरी बनाइयो । तर, उनको सक्रियता र क्षमताले कुनै पनि पदमा लामो समय रहनु परेन । लगत्तै एरिया इन्चार्ज, केही महिनामै जिल्ला सेक्रेटरी र जिल्ला सेक्रेटरी भएको १५ दिनमै जिल्ला इन्चार्ज बनाइयो । ‘एक त सङ्गठन उठ्न सकेको थिएन् । अर्को जनमुक्ति सेनाका कमरेडहरुले मलाई जिम्मेवारी दिनुपर्छ भने स्वतस्फुर्त दबाव दिए’ नेम्बाङले भने ।

सहयोगी कमरेड शाहदत हुँदाको पीडा

नेम्बाङ र कमल माझी घाइते रहँदा एक वर्षभन्दा बढी समय नुहाइदिने, कपडा धोइदिने, दिसा पिसाब गराउने अनि खाने बस्ने कुराको प्रवन्ध गर्ने ब्यक्ति थिए सर्लाहीका कमरेड रामत्रिपाल यादव । उनीहरुको उपचारपछि जिल्लामै पार्टीमा जोडिएका उनको मृत्युको खबरले नेम्बाङलाई असाध्यै पीडा दियो । ‘हामीलाई निसंकोच त्यतिधरै सहयोग गर्ने मान्छेको शाहदतले म साह्रै मर्माहत भएँ’ नेम्बाङ भन्छन् ‘उनको मानवीयता, सहयोगी भावना र महानता जीवनभर बिर्सन सक्दिंन ।’

सङ्गठन निर्माणको जिम्मेवारी

राजनीतिक रुपमा उनी निरन्तर छलाङ मार्दै नेतृत्वमा आइपुगे । सामूहिक नेतृत्वमा विश्वास गरे, अरु नेता कार्यकर्तालाई उत्तिकै जिम्मेवार बनाए । पाँचथरका धेरै स्थान माओवादीका आधार इलाकाको रुपमा तयार हुँदै जाँदा छिमेकी जिल्ला तेह्रथुमको अवस्था निक्कै नाजुक थियो । त्यतिबेला विद्रोही माओवादीमा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराई पक्षबीच तीब्र दुइलाइन सङ्घर्ष थियो ।
तेह्रथुममा लाइन सङ्घर्ष अत्यन्तै पेचिलो भएपछि एकले अर्को पक्षलाई बहिष्कार र निषेध गर्ने अवस्था आएको थियो । त्यही बेला नेम्बाङलाई पाँचथरबाट तेह्रथुम इन्चार्ज बनाइयो । ‘तेह्रथुममा जम्मा छ महिना काम गरेँ । अन्तरसङ्घर्ष शून्यमा झारेँ । बहस भए पनि पार्टी कमिटीमा समस्या देखिएन् । पार्टीले अपेक्षा गरेअनुसार सङ्गठनको सहि ब्यवस्थापन, सङ्गठन निर्माणमा त्यहाँ मैंले ठूलै लगानी गरेँ । सफल पनि भएँ’ नेम्बाङले दावी गरे ।

यसपछि उनलाई धनकुटा पु¥याइयो । त्यहाँ सङ्गठन अत्यन्तै कमजोर भएको, नेतृत्वको अभाव भएको, जनमुक्ति सेना उत्पादनको अवस्था कमजोर रहेका कारण नेम्बाङलाई जिम्मेवारी दिइयो । ‘धनकुटाका कमरेडहरु चाँही साह्रै जागरुक हुनुहुन्थ्यो । मलाई फुल्ली सहयोग गर्नुभयो । त्यहाँ पार्टी एकदमै राम्रो बनेर गयो’ नेम्बाङले सम्झे । शान्ति प्रक्रियाको सुरुआत हुँदा उनी धनकुटा जिल्ला इन्चार्ज नै थिए । शान्ति प्रक्रियापछि उनले सङ्गठनका अतिरिक्त सामाजिक, आर्थिक, वौद्धिक हिसाबले प्रवुद्ध मानिसहरुसँग घनिष्ठ सम्बन्ध बनाए, उनीहरुलाई माओवादीमा जोडे । माओवादीका जनमुखी र अग्रगामी एजेण्डाहरुलाई ब्यापक रुपमा प्रचार–प्रसार गर्न खटिए ।

‘शान्ति प्रक्रियामा आएपछि साह्रै दरिलो सङ्गठन बनाउने प्रयत्न गरियो र सफल भइयो । त्यसैका आधारमा हामीले पूर्वी पहाडमा अन्यत्र चुनाव नजिते पनि धनकुटामा पहिलो संविधानसभाको निर्वाचनमा विजय हाँसिल गरियो’ नेम्बाङ सम्झन्छन् । २०६४ मा पाँचथरको जिल्ला इन्चार्जको रुपमा आएपछि नेम्बाङ अविच्छिन्न माओवादीको मुल खम्बाको रुपमा रहे । त्यसको परिणाम माओवादी विभाजनमा समेत देखियो । उनी मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा लाग्दा माओवादीको ठूलो हिस्सा उतैतिर गयो । त्यसले दोस्रो संविधानसभाको निर्वाचनमा असर पा¥यो । पछि उनी रामबहादुर थापा कमरेड वादलको नेत्रृत्वमा माओवादी एकता पक्षधर भएर माओवादी केन्द्रमा आए । त्यत्तिखेर पनि उनीसँग धेरै कार्यकर्ताहरु फर्किए ।

उनी सहितका नेताहरुको प्रभावस्वरुप पाँचथरबाट नेत्रविक्रम चन्द नेतृत्वको समूहमा जिल्ला तहका कुनै पनि नेता ध्रुविकृत भएनन् । गत स्थानीय तह निर्वाचनमा पनि यसैको प्रभाव प¥यो । पाँचथरमा माओवादी केन्द्रले एक स्थानीय तह र आठ वटा वडामा प्रमुख पदमा विजय हाँसिल ग¥यो । १४ वटा वडामा मुख्य प्रतिस्पर्धी भयो । दुई स्थानीय तहमा झिनो मतान्तरले पराजित भयो ।

घाइते योद्धामा डिप्रेसन

जिल्लाका दर्जनौँ घाइते, अपाङ्ग लडाकु उनको नियमित सम्पर्कमा छन् । तर कयौँ पटक कुरा उठाँउदा पनि पार्टीले समस्या हल गर्न चासो नदिएको उनीहरुको गुनासोले नेम्बाङ समेत खिन्न छन् । ‘घाइते योद्धा कमरेडहरुको उपचार, भरणपोषण र दीर्घकालीन व्यवस्थापन गर्ने सरकारी प्रवन्ध हुनुपथ्र्यो । हामीले सधैँ यही कुरा बोकेर हिँडिरहे पनि केन्द्रले चासो दिएको छैन’ नेम्बाङले भने, ‘धेरै कमरेडहरुमा डिप्रेसन नै हुन लागेको छ ।’ उनी सरकारले अविलम्ब घाइते तथा अपाङ्का लागि ठोस् कार्यक्रम अघि सार्नुपर्ने माग गरिरहेका छन् । ‘यहि ब्यवस्था ल्याउनु हामी लड्यौँ । घाइते भयौँ, अझै सरकारले बेवास्ता गर्ने कुरा त ठीक भएन् नि’ नेम्बाङले थपे ।

विवाहमा प्रतिकात्मक विद्रोह

पाँचथरको साविक लुङरुपा गाविसको फेजुङमा २०३७ मा गंगाप्रसाद नेम्बाङ र पृथिमाया नेम्बाङको कान्छो छोराको रुपमा जन्मेका नेम्बाङ काठमाडौँको आरआर क्याम्पसमा पढ्दैगर्दा माओवादीमा पूर्णकालिन भएका थिए । २०५७ मै उनी माओवादी सम्पर्कमा पुगेर सहयोग पु¥याउँदै आएका थिए । नेम्बाङको विवाह विद्रोहको प्रतीकको रुपमा रह्यो ।

नेम्बाङ तेह्रथुम जिल्लाको इन्चार्ज रहेका बेला २०६२ मा जिल्ला कमिटीकै सदस्य एवम् इलाका इन्चार्ज रहेको रमुना लकान्द्री कमरेड प्रगतिसँग उनीहरुको जनवादी विवाह भयो । उनीहरुले आपैmंले एक अर्कालाई मन पराएर विवाह गर्ने निधो गरेका थिए । दलित समुदायकी रमुनासँग विवाह गर्ने नेम्बाङको त्यो कदमलाई धेरैले विद्रोहको प्रतीकको रुपमा लिने गर्दछन् । उनीहरुका दुई छोरी र एक छोरा छन् ।

जनताको सेवा प्रधान

नेम्बाङको देब्रे खुट्टा दायाँ भन्दा तीन इन्च छोटो छ । खुट्टाको नलीहाड पूरै भताभुङ्ग भएका कारण अझै पनि नियमित उपचार र जाँच गराउनु पर्छ । अघि नै भनियो उनी लामो समय हिँड्न, उभिन सक्दैनन् । खुट्टा सुन्निई रहन्छ । आपैmं अरुको समस्या हल गर्ने निकायमा रहेका उनले कैयौँ कार्यकर्ताहरुको उपचारको प्रवन्ध मिलाए । कतिलाई ब्यवसायमा जोडे, कतिलाई रोजगारीमा । धेरैलाई पार्टीमा सक्रिय हुने वातावरण मिलाइदिए । तर नेम्बाङ आपैmं भने राजनीतिक रुपमा उपेक्षामा परेका छन् ।

उनी गत सङ्घीय निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेद्वार बन्न चाहन्थे । पार्टीले टिकट दिए पनि गठबन्धन बनेपछि उनको टिकट खोसियो । पछि पार्टी केन्द्रीय सदस्य वा जिल्ला अध्यक्ष बन्न चाहन्थे । उनीभन्दा जुनियर नेताहरु केन्द्रीय सदस्य भए, साविकको पार्टी संयोजकलाई अध्यक्ष वा सचिव बनाउने पूर्व माओवादी केन्द्रको निर्णयले उनी जिम्मेवारीविहीन बनाइए । तर नेम्बाङप्रति कार्यकर्ताको आशा र भरोसा उत्तिकै छ भन्ने कुरा उनको सक्रियताले स्वतः पुष्टी गर्छ ।
‘आफूले सोचेको जिम्मेवारी नपाउँदा निराशा पैदा हुनु सामान्य कुरा हो । तर त्यो क्षणिक हो, सामान्य कुरा हो’ नेम्बाङले भने, ‘मुख्य कुरा आन्दोलन हो, क्रान्ति हो, जनताको सेवा हो, पार्टी कार्यदिशा लागू गराउने सवाल हो ।’ जिम्मेवारी पाउनेहरु कमजोर नभए पनि आफूले पाँउदा बढी न्यायोचित हुन्थ्यो कि भन्ने मात्रै आफ्नो तर्क रहेको नेम्बाङ सुनाउँछन् । उनले थपे, ‘यो निरन्तर प्रक्रिया हो । हामीलाई पार्टी, नेता र जनताले निरन्तर मूल्याङ्कन गरिरहेकै हुन्छ । हामीले पूरा गुर्न पर्ने ऐतिहासिक कार्यभार र निर्वाह गर्नु पर्ने जिम्मेवारीहरु अझै धेरै छन् ।’

– द्वन्द्वका नमेटिने घाउहरू पुस्तकबाट साभार

शुक्रबार, ०९ पुष, २०७८, दिउँसोको १२:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर