विमल लामिछाने
‘सुविधा सिद्धान्तको व्याख्या हुँदै जाँदा वर्गसंर्घष कम्युनिष्टको राजनीतिक आत्मा हो भन्ने कुरा माओवादी नेता र कार्यकर्ताले बिर्सिंदै गए । जसका कारण पार्टीले बोकेको वर्गीय चरित्र नै धरासायी र विचलित जस्तो भयो । हिजो कार्यकर्ता गाउँमा संगठन बनाउँन पुगेका बेला पार्टी र संगठन बलियो थियो, विचार पनि स्थापित थियो । अहिले कार्यकर्ता गाउँ छोडेर चोकमा बस्न थाले ‘चोके’ भए, पार्टी पनि कमजोर भयो, संगठनपनि निम्छरो बन्यो’ ।
गत मंसिर २५ र २६ गते मोरङको सुन्दरहरैचामा भएको नेकपा माओवादी (केन्द्र)को प्रथम अधिबेशनको बन्दसत्रलाई सम्बोधन गर्दै झापा क्षेत्र नं. १ का सांसद एवम् माओवादी नेता सुरेन्द्र कार्की (पार्थ) ले गरेको भाषणको एक अंश हो, यो । के साँच्चै माओवादीका नेता ‘चोके’ र संगठन निम्छरो भएकै हो त ? हरेक मानिसको जीवनको मार्गचित्र राजनीतिक पार्टीको जस्तै कुनै न कुनै सिद्धान्त वा दर्शनद्वारा निर्देशित हुन्छ । त्यो जानेर वा नजानेर, थाहा पाएर वा नपाएर जे होस् सहज बुद्धिका सरल मान्छेहरुले थाहा नपाएका पनि हुन सक्छन् । कठिन आदर्शवादी बन्ने इच्छा रहँदा रहँदै पनि धेरैले सहज बाटो रोज्छन् । सिद्धान्तद्वारा डोरिँदा पनि जो कोही सामान्य अवस्थामा संगठनहीन भने त्यसै बन्दैन । कहिले ऊ प्रतिक्रियाले गर्दा त्यता हेलिन्छ, कहिले सुविधाको सिद्धान्त गढ्दा मौलिक सिद्धान्तबाट चिप्लन्छ । अहिले नेकपा माओवादीको सैद्धान्तिक पक्ष लर्वराएको छ र ब्यवहारिक पक्ष पनि चिप्लिँदै गएको छ ।
हरेक सिद्धान्तले एउटा आफ्नै आचरण, संस्कृति बनाएको हुन्छ र त्यसैमा ढालिनुपर्छ । चाहे त्यो राजनीतिक, आर्थिक होस् या धार्मिक सिद्धान्त किन नहुन्, मान्छेले फेर्न अत्यन्तै कठिन भनेको स्वभाव र संस्कृति हुन् । हुनत दार्शनिकहरु भन्छन्– सिद्धान्तहीनता हुनु पनि एउटा आफैंमा सिद्धान्त हो । कुनै पनि विधिन मान्ने अराजकतावादी हुन् या आफैँलाई केन्द्रमा राखेर वा आफैँ र आफंै वरिपरिलाई मात्र सोच्ने व्यक्तिवादीहरु किन नहुन्, हरेक क्रियाकलापलाई दार्शनिक मान्यता र त्यसैको वरिपरि व्याख्या विश्लेषणको घेरामा कैद गर्ने श्रेय भने शास्त्रीय कम्युनिष्टले जति अरुले पाएका र जानेका हुँदैनन् ।
नेपालको सन्दर्भमा एकखाले माओवादीलाई आफ्नै गौरब बोझ बन्दै गएको अनुभूति हुन्छ । जनयुद्ध मनोयुद्धमा फेरिँदै जाँदा संसद भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो, यसलाई फेर्नुपर्छ भनेर फेर्न गएका स्वयं फेरिँदै गए, कसैलाई रापतापले उम्किनै दिएन । तर, यो एकै दिनमा फेरिने क्रम पूरा भएको भने होइन । विद्रोहका राप र ताप सेलाँउदै जाँदा, शान्तिप्रक्रिया टुंगो लाग्न ढिलाइ हुँदै जाँदा, छिमेकमा सांस्कृतिक फाँसीवादले हुँकार छाड्दै जाँदा बहससमेत फेरिँदै गए । स्वयं कर्ता नै भ्रष्टीकरण हुनथाले । यसले संगठनलाई निम्छरो बनाउँदै लग्यो ।
एक्काइसौं सताब्दीको राजनीतिक पार्टी भनेको सामाजिकवर्ग, चिन्तन र अभ्यासका प्रतिनिधि र नागरिक समाजको अगुवा नेतृत्व पनि हो । तर, यहाँ सिद्धान्तको राजनीतिक सुविधाको सिद्धान्त भन्ने अन्यौलता कायम नै छ । सुविधाको सिद्धान्त हो भने मार्गदर्शक सिद्धान्त नै फेरिएको भन्ने हिम्मत अब पार्टी, नेता र कार्यकतासमेतले गर्नुपर्छ । होइन भने आचरण सुधार्न सक्नुपर्छ ।
परिवर्तनका पक्षधर मानिएका कम्युनिष्ट पार्टीका लिडरसिपहरु यो पटक केहि सेलेक्सन र केही इलेक्सनबाट नेतृत्वमा आएका छन् । देशभर नै यी दुई प्रक्रियाबाट नेतृत्व निर्माण भएको छ । एक नम्वर प्रदेशको सन्दर्भमा पनि थोरै भएपनि जनवादी प्रक्रियाको अभ्यासबाट नेतृत्व आएको छ, यो सकारात्मक पक्ष हो । प्रदेश १ को सन्दर्भमा हर्कबहादुर नेम्वाङ (मिक्सो), शिवकुमार डाँगी, मणिकुमार साङ्पाङ, देवान चाम्लिङ, गणेश उप्रेती, रचना राई, सागर किराती, ऋषिराम ढुंगाना र रेवतराज पुरीसहितको नेतृत्वको टिमले समाज परिवर्तनमा भूमिका निर्वाह गर्न सक्नुपर्छ र नेता राम कार्कीका भाषामा भनिएका चोके नेताको निम्छरो संगठनलाई दरिलो र जनपक्षीय बनाउन यसको प्रमुख भूमिका रहनुपर्छ, अपेक्षासहित बधाई ।