पराजुलीबाट नडराऊ शेखर

 अनन्तराज न्यौपाने

महाभारतको युद्ध सकिए पनि भीष्मले प्राण त्यागिसकेका थिएनन् । उनलाई आफ्नै पिता शान्तनुको इच्छामृत्युको वरदान प्राप्त थियो । उनी स्वर्गारोहणको शुभसाइत पर्खिएर शरशय्यामै आफ्नो कष्टकर जीवन बिताइरहेका थिए । भीष्मजस्ता महामनाले शरशय्याको कठिन जीवनमा पनि लोककल्याणकारी कर्तव्य गरिरहे । उनले उठेर गर्नसक्ने केही थिएन तर वाणीका माध्यमबाट संसारलाई मार्गदर्शन गरे ।

भर्खर युद्ध जितेर राजा भएका युधिष्ठिर आफ्ना चारै भाइ र पत्नी द्रौपदीसहित भएर शरशय्यामा सुतेका भीष्मसित भेट गर्न निरन्तर गइरहे । त्यस मौकामा भीष्मले राजधर्मलगायत विभिन्न धर्मका बारेमा प्रशस्त उपदेश गरेका छन् । महाभारतका अनुशासन पर्व र शान्ति पर्वमा यिनको उल्लेख पाइन्छ ।

एक प्रवचनमा महामना भीष्मले फल्ना अपराधलाई फल्ना प्रायश्चित्त वा धार्मिक कर्मले काट्न सकिन्छ, त्यो अपराधको भारलाई यो धार्मिक कृत्यले हटाउन सकिन्छ भन्दैभन्दै धेरै थरी अपराध र तिनको पाप हटाउने कर्मका बारेमा व्याख्यान दिए । भन्दैभन्दै एक ठाउँ पुगेपछि भने भीष्म टक्क रोकिए । उनले भने, ‘संसारमा सम्पूर्ण अपराधका फल नाश गर्न सक्ने प्रायश्चित्त, स्नानदानयज्ञ, व्रत, पूजा र जपादि धार्मिक कृत्य छन् तर एक अपराधको फल भने कुनै धर्मकर्मले मेट्न सकिन्न । त्यो भोग्नैपर्छ ।’

‘त्यो कुन अपराध हो पितामह ?’, युधिष्ठिरले प्रश्न गरे ।

‘त्यो अपराध हो कृतघ्नता’, आफ्नो कम्पित स्वरलाई किञ्चित् उँचो बनाउँदै भीष्म बोले, ‘कृतघ्नी व्यक्तिले जतिसुकै धर्मकर्म, स्नानदान, पूजा, जपतप, वा जे गरे पनि छुट पाउँदैन । कृतघ्नताको फल उसले भोग्नै पर्छ ।’

‘पितामह’, भीष्मका कुरा सुनेपछि अर्जुनले जिज्ञासा राखे, ‘कृतघ्नता भनेको के हो ? कसलाई भन्ने कृतघ्न ?’

भीष्मको उत्तर संक्षिप्त र सूत्रात्मक थियो, ‘आफूलाई उपकार गर्ने व्यक्तिलाई उल्टै अपकार गर्नु नै कृतघ्नता हो । यस्ता बैगुनीलाई भनिन्छ कृतघ्न । र, कृतघ्नताको कुनै प्रायश्चित्त छैन । उसले आफ्नो अपराधको फल भोग्नै पर्छ ।’

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन भर्खरै सकिएको छ यद्यपि सबै केन्द्रीय सदस्यको मतपरिणाम भने आउन बाँकी नै छ । महाधिवेशन सकिएलगत्तै विराटनगरका मेयर भीम पराजुलीको वक्तव्य आयो, ‘मलाई मेयरमा शेखर कोइरालाले टिकट दिलाएका होइनन् । कृष्ण सिटौलाको पहलमा मैले टिकट पाएको हुँ ।’

लसुन–प्याज पनि खाँदिन भनेर आफूलाई प्रचार गर्न रुचाउने र आफूलाई धार्मिक मानवका रूपमा चिनाउन खोज्ने मेयर पराजुली यति सारो कृतघ्न होलान् भन्ने कसैलाई लागेको थिएन । एक दिन सबैको सच्चा अनुहार देखिन्छ भन्ने लोकोक्ति यस पटक प्रमाणित भएको छ । पराजुलीले आफ्नो खास स्वरूप दुनियाँलाई देखाएका छन् र दुनियाँले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिइसकेको छ ।

नेपाली काङ्ग्रेसको ऐतिहासिक परम्परा के रहँदै आएको छ भने, केन्द्रमा नेतृत्वमाझ जतिसुकै झगडा भए पनि स्थानीय तहमा टिकट वितरण गर्दा जनकपुरका सवालमा निधि परिवारकै, डडेलधुरामा देउवाकै, झापामा सिटौला र शर्माकै, काठमाडौंमा प्रकाशमानकै र विराटनगरमा कोइरालाकै खेमाका कार्यकर्तालाई प्राथमिकता दिने गरिन्छ । २०७४ मा मात्र किन, २०४४ मा पञ्चायतको स्थानीय निकायको चुनावमा भाग लिँदा पनि काङग्रेसले काठमाडौंमा गणेशमाननिकट हरिबोल भट्टराई र विराटनगरमा कोइरालानिकट लक्ष्मण बस्नेतलाई प्रधानपञ्चको टिकट दिएको हो । यही परम्पराका आधारमा पराजुलीले टिकट पाए । त्यस बेला उनको पहिचान कोइरालापन्थी नै थियो । टिकट वितरणका क्रममा परम्परा तोड्दै पार्टी सभापति देउवाले विराटनगर महानगरका लागि आफू नजिकका एक नेता रोजेका थिए । तर डा. शेखर कोइरालाले भीमका लागि आफू अनशन बस्नेसम्मको चेतावनी दिए । यही चेतावनीका कारण पराजुलीको टिकट सम्भव भएको थियो ।

होला, यस प्रकरणमा रामचन्द्र, सिटौला लगायतकाले पनि पराजुलीकै नाम लिए होला । तर पराजुली कोइराला क्याम्पका भनेर नचिनिएका भए र शेखरले अनशनको धम्की नदिएका भए भीमको टिकट चिप्लन पनि सक्थ्यो । पराजुलीले डाक्टर शेखरको यो गुनलाई अहिले चटक्कै बिर्सेका छन् । भर्खरै सकिएको महाधिवेशनमा उनले कतिसम्मको कृतघ्नता प्रदर्शन गरे भने उनी शेखरका विरूद्धको क्याम्पेनिङमा सक्रिय सहभागी भए । खुलेआम देउवा क्याम्पमा लागे र देउवा क्याम्पबाट सदस्यमा उम्मेदवारी पनि दिए ।

त्यसोत, उनी देखावटी साधुमात्र हुन् भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । किनकि उनी मद्यमांसका व्यवसायी पनि हुन् । उनी मद्यमांस विक्री हुने विराटनगरको एक ठुलै रेस्टुरेन्टका मालिक हुन् । र, मद्यमांसबाट उपार्जन भएको तामसी सम्पत्तिले आफ्नो जीवन यापन गर्ने व्यक्ति कदापि साधक, साधु, महात्मा वा धार्मिक हुन सक्तैन । हिन्दु धर्मशास्त्रले सात्विक उपार्जनबाट मात्र जीवनयापन गर्न निर्देश गर्छ, तामसी र राजसी उपार्जनले होइन । त्यसैले उनको कथित साधुता, धार्मिकता र उपासनाका बारेमा प्रश्न गर्ने प्रशस्त ठाउँहरू छन् ।

मूलतः हरेक व्यक्ति धार्मिक हुन्छ । दिनभरिमा १ सेकेन्ड होस् वा १ घण्टा, उसले आफ्नो इष्टदेवलाई सम्झिएकै हुन्छ । तर म धार्मिक छु भनेर कसैले आत्मप्रचार गर्छ वा गर्न लगाउँछ भने चाहिँ त्यो ढोँग हो, पाखण्ड हो । आफ्नो कथित उपासनाको प्रचार गर्न रुचाउने पराजुली यही वर्गमा पर्छन् । तर डाक्टर शेखरले मूसाप्रवृत्तिका भीमसित नआत्तिए र नडराए हुन्छ । किनभने १५ औँ महाधिवेशनमा शेखरको पल्ला भारी देखे भने भीम फेरि कोइरालातिरै हाम्फाल्ने छन्, जसरी यस पटक देउवा–सिटौला क्याम्पमा गए ।

Supported only between 1944-2022