‘जनयुद्ध’को मोर्चामा गंगामाया

 प्रवीण बानियाँ

गंगामाया बस्नेत (७९) ले पढ्ने बेला गाउँमा स्कुलै थिएन । दिक्तेल–खोटाङ त्यो बेला पनि ‘पढे जेलनेल हुन्छ’ भन्ने शासन व्यवस्थाकै छायाँमा थियो । यद्यपि, खोटाङ कम्युनिस्ट राजनीतिको प्रभावभूमि मानिन्थ्यो । तर, कोरा जीवन बाँचिरहेकी गंगामायालाई त्यसबेला भूमिगत शैलीमा हुर्केको खोटाङ को कम्युनिस्ट राजनीतिले छोएन । छुने कुरा पनि भएन । समयक्रमसँगै गंगामायाको जिन्दगीको पन्ना सर्लक्कै पल्टियो । १२ वर्षको अबोध उमेरमै उनी ‘अर्काको घर जाने जात’को डोरीमा बेरिएर पराइघर पुगिन् । कापी–कलमसँग खेल्ने उनको रहरलाग्दो उमेर र बालापन कतिबेला–कहाँ छुट्यो, उनी स्वयंले पनि पत्तो पाइनन् । उनलाई अहिले यत्ति याद छ– बुबाआमाले दिदी दुर्गामाया र उनको एकै जग्गेबाट बिहे गरिदिएका थिए, २००७ सालमा ।

तर, मानबहादुर कटुवालसँग गंगामायाले जिन्दगीको गाडी धेरै गुडाउन सकिनन् । के ठीक, के बेठीक भनेर छुट्याउन नसक्ने उमेरमा उनले अप्ठ्यारो निर्णय लिनुपर्ने अवस्था आयो । सोचीसम्झी या त दुःखले थाकेर, बिहे भएको ६ वर्षपछि गंगामायाले श्रीमान्को घर छाडेर हिँडिन् । र, माइतमै गएर बसिन् । ‘अहिले धेरै कुरा याद गर्न सक्दिनँ,’ गंगामायाले पुराना कुरा सम्झिन्, ‘तर, त्यो बेला धेरै दुःख पाएँ, नसकेपछि घर छाडेर हिँडें ।’ २००७ सालको राजनीतिक आन्दोलन र त्यसको राप–ताप गंगामायालाई थोरबहुत थाहा छ । त्यसबेलाका घटनााक्रम अहिले पनि उनको सम्झनामा सिनेमाको रिलझैं फनफनी घुम्छन् । भलै, ती आन्दोलन र मुद्दालाई उनले राजनीतिक चेतनाको आँखीझ्यालबाट बुझिनन् होला । तर, राजनीति र आन्दोलनप्रति सुरुबाटै उनको एकसरो बुझाइ रह्यो– आन्दोलनले देशमा परिवर्तन ल्याउँछ, गरिब–दुःखीका दिन फिर्छन् ।

०००

२०१३ सालमा गंगामायाको जीवनमा नयाँ मोड आयो । गाउँकै नन्दबहादुर बस्नेतसँग उनको दोस्रो बिहे भयो, फिल्मी शैलीमा । भएछ के भने, बिहेपछि श्रीमान्को घर त्यागेर माइत बसेकी गंगामाया काम गर्न सानैदेखि माहिर । उनको काम देखेर गावैं छक्क पथ्र्यो । उनी कसैकहाँ काम गर्न गइन् भने लोग्नेमान्छेसरहको ज्याला पाउँथिन् । उनको त्यही काम देखेर लोभिएकी नन्दबहादुरकी हजुरआमाले एकदिन नातीलाई आदेश गरिन्, ‘त्यो देउजाकी छोरी काम गर्न मसुर छे । जा, त्यसलाई बोकेर ले ।’

नभन्दै नन्दबहादुरले पनि ठाउँको ठाउँ हजुरआमाको आदेश पालना गरे । र, अर्काकी श्रीमती गंगामायालाई त्यही दिन बाटोबाटै काँधमा हालेर घर ल्याए । अब घरमा उनका दुई श्रीमती भए । गंगामायालाई ल्याएपछि नन्दबहादुरलाई ‘जारी’ लाग्यो । एकदिन कम्मरमा दुई हात लामो खुकुरी भिरेर नन्दबहादुर जारी तिर्न हिँडे, एक्लै । अर्काकी श्रीमती ल्याएबापत उनले जारको घरैमा पुगेर त्यसबेलामै खनखनी ८ हजार रुपैयाँ जारी तिरे । र, गंगामायालाई आफ्नी बनाए । त्यसबेला नन्दबहादुरले अर्काका छोरी–चेली.बुहारी बोक्ने काम खुबै गरेछन्, अर्काका लागि । यतिसम्म कि, उनले वल्लो गाउँ–पल्लो गाउँसम्म यो सेवा दिन्थे । ‘उहाँले धेरैका लागि यस्तो काम गर्नुभयो,’ गंगामायाले ठट्टिँदै सुनाइन्, ‘गाउँमा कसैले कसैका छोरी–चेली मन परायो र बिहे गर्नुप¥यो भने बोक्न उहाँलाई नै लैजान्थे ।’

०००

राजनीतिक मुद्दा र आन्दोलनप्रति गंगामाया कहिलेबाट आकर्षित भइन् भन्ने उनी स्वयंलाई पनि ठ्याक्कै यकिन छैन । तर, २०३४ सालमा परिवार बसाइँ सरेर मोरङको डाँगीहाट आएपछि उनले थोरबहुत राजनीति बुझ्न थालिन् । ०१७ सालको राजनीतिक घटनाक्रम देखेकी उनले ०३६ सालको जनमतसंग्रह भोगिन् । ०४६ सालमा बहुदलको पक्षमा भोट हालेकी गंगामायालाई लाग्यो– अबचाहिँ देशमा परिवर्तन आउँछ । ‘सायद त्यसैबेलादेखि मैले अलिअलि राजनीति र आन्दोलन बुझ्न थालें,’ उनले दर्शाइन् । ०४६ सालमा देशमा बहुदल आएपछि गंगामाया हुनसम्म खुसी भइन् । तर, बिस्तारै बहुदल पनि उनलाई ‘केही हैन रैछ’ भन्ने लाग्न थाल्यो । र, उनमा निराशा बढ्दै गयो । त्यसैबेला नेकपा माओवादीले ०५२ सालदेखि राजतन्त्रविरुद्ध ‘जनयुद्ध’ सुरु ग¥यो । क्रमशः माओवादी आन्दोलन देशैभरि फैलियो । त्यसबेला ‘माओवादीले गरिबलाई हेर्छ’ भन्ने मात्र सुनेकी गंगामाया एकाएक माओवादी आन्दोलनप्रति आकर्षित भइन् ।

विस्तारै गाउँघरमा पुलिस–प्रशासनको आँखा छलेर गंगामायाले माओवादीका लागि काम गर्न थालिन्, भेला–बैठकमा लुकी–लुकी जान थालिन् । अन्ततः एकदिन गाउँमा माओवादीले मध्यरातमा राखेको बैठकमा गएर उनले पार्टीको सदस्यता लिइन् । र, महिनैपिच्छे पार्टीलाई लेबी तिर्न थालिन् । ‘सबैले तलाईं मार्छन् भनेर डर देखाउँथे,’ उनले सुनाइन्, ‘तर, मैले कसैको कुरा सुनिनँ, राति बैठकमा गएर पार्टीमा नाम लेखाएँ ।’ सुरु–सुरुमा त माओवादीमा लागेको भन्दै उनलाई परिवारका सदस्यले गर्नु गाली गरे । छरछिमेकीका लागि उनी छलफलको विषय बनिन् । तैपनि, उनलाई गाउँमा सबैले माया गर्थे । त्यसबेला ‘बस्नेतनी आमै’ भनेपछि उनलाई जो कोहीले माओवादी भनेर चिन्थे । ‘धन्न’ पुलिस–प्रशासनसम्म उनको नाम पुगेन ।

गंगामाया माओवादीका लागि घरमा गाउँभरिबाट मकै बटुलेर राति–राति चना–मकै भुट्थिन्, सातु बनाउँथिन् । र, भोलिपल्ट सबेरै माओवादी सेनाका लागि ठाउँ–ठाउँमा पठाउँथिन् । अरुले थाहा पाउलान् भनेर उनले कतिपटक रातमा घर फेरी–फेरी मकै भुटिन् । उनले त्यसरी भुटेका मकै र सातु बोरा कसेर थुप्रैपल्ट इलाम, पाँचथरसम्म पठाइन् । ‘मैले पार्टीका लागि सकेजति गरें,’ गंगामाया भन्छिन्, ‘आन्दोलन सफल होला र भनेजस्तो व्यवस्था आउला भन्ने सपना थियो ।’

पछि माओवादी शान्ति प्रक्रियामा आएपछि गंगामायाले शान्तिको लामो सास फेरिन् । लगत्तै सुरु भएको ०६२–०६३ को दोस्रो जनआन्दोलनमा उनी सक्रिय हुन थालिन् । त्यसताका दिनहुँ हुने आन्दोलन र प्रदर्शन उनले सायदै छुटाइन् होला । पूर्व क्षेत्रमा जहाँ–जहाँ माओवादीको प्रदर्शन–आमसभा हुन्थ्यो, उनी त्यहाँ पुग्थिन् । यसरी कति बुझेर–कति नबुझेर, गंगामायाले लामो समयसम्म माओवादीको झण्डामुनि बसेर अधिकारका निम्ति मुठ्ठी उठाइन्, गणतन्त्रका सुरिला नाराहरु घन्काइन् । ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा माओवादी देशकै ठूलो पार्टी भयो । तब भने गंगामायालाई लाग्यो– अब त पक्कै देशमा परिवर्तन आउँछ, गरिब–दुःखीले अधिकार पाउँछन् । माओवादीले चुनाव जितेर ठूलो दल हुनुलाई उनले सिंगो आन्दोलनै सफल भएको भन्ने अर्थमा बुझिन् । र, भोलिपल्ट उसैगरी उनी विजय ¥यालीको अग्रपंक्तिमा देखिइन् । ‘पार्टीले चुनाव जित्दा मैले मेरा सपना पूरा भएजस्तै ठानेकी थिएँ,’ उनले सुनाइन् ।

समयक्रमसँगै गंगामायाका आदर्श पात्र प्रचण्ड–बाबुरामहरु गणतान्त्रिक मुलुकका प्रधानमन्त्री–मन्त्री भए । देशको जिम्मा तिनैको हातमा पुग्यो, जसलाई हिजो उनले भुटेका मकै र सातु खुवाएकी थिइन् । गर्दै–भन्दै जाँदा महिना–वर्ष बिते । माओवादी पटक–पटक सरकारमा पुग्यो, राज्यको बाघडोर सम्हाल्यो । तर, गंगामायाले केही पाएको अनुभूत नै गर्न पाइनन् । न त उनले सोचेजस्तो गरिब–दुःखीका दिन नै फिरे । सर्वथा उनीभित्र आन्दोलनले रोपेको परिवर्तनको भरिलो सपना केवल सपनै रहँदै आयो । बरु, त्यसको सट्टा एउटा माओवादी फुटेर छवटा पार्टी भए । हिजो युद्धकालमा पार्टी र नेताले देखाएका सपना त कता छुटे कता ! फेरि पनि गंगामायालाई आन्दोलनको मर्मअनुसार देशमा परिवर्तन भएन, आफूले केही पाइनँ भन्दा पनि पार्टी फुटेको कुराले गहिरो चोट पु¥याएछ । ‘हिजो जे भयो–भयो, अब हिजो फुटेर गएकाहरु मिले हुन्थ्यो,’ उनले इच्छा जाहेर गरिन्, ‘मेरो जीउ छँदै कम्निस्टहरु मिलेको हेर्ने मन छ ।’

०००

जीवनको ७९औं देउराली उक्लिरहेकी गंगामाया अहिले कान्छा छोराको हेरचाहमा बसेकी छन् । उनका श्रीमान् नन्दबहादुर गतवर्ष बिते । बाँकी जिन्दगी जसोतसो चलिरहेछ । नचलेको त लयहीन राजनीतिले डामेको उनीभित्रको मन मात्र हो । यद्यपि, यो उमेरमा पनि गंगामाया देश सोच्छिन्, पार्टी र आन्दोलन सोच्छिन् । तर, हिजो पार्टी र आन्दोलन भनेर हत्ते गरेर लागेकी गंगामाया आज खिन्न छिन् । चुनाव आउँदाबाहेक माओवादीका कुनै नेता उनलाई भेट्न उनको घरसम्म पुग्दैनन्, कसैले सम्झिँदैन । तैपनि, माओवादी आन्दोलनप्रतिको उनको आशा अझै मरिसकेको छैन । अहिले पनि उनी कतै माओवादीको आमसभा–जुलुस छ भन्ने थाहा पाइन् भने दौडिहाल्छिन् । यसलाई लहड भन्ने कि आस्था ? अब गंगामायासँग कुनै ठूला र क्रान्तिकारी सपना छैनन्, छ त एउटा सानो इच्छा–आफ्ना आदर्श नेता प्रचण्ड (जो अहिले देशको कार्यकारी प्रधानमन्त्री छन्) सँग भेटेर हात मिलाउने । र, मनमा लागेका केही कुरा भन्ने । उनको मनमा के छ, त्यो उनैलाई मात्र थाहा छ । उनको यो इच्छा छिट्टै पूरा होस् ।

सोमबार, ०५ पुष, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर