विराटनगर । मोरङको रंगेली नगरपालिका–२ का २१ महिने बालिकालाई खाडल खनेर हत्या गरेको आरोपमा एक दम्पती पक्राउ गरेका छन् ।
चन्द्र उराँवको २१ महिनाको छोरी युनिशा उराँवको हत्या गरेको आरोपमा रंगेली २ का ४६ वर्षीय सैनी उराँव र २५ वर्षीय संगीता उराँव पक्राउ परेका हुन् । पक्राउ परेका सैनी र संगीता श्रीमान्, श्रीमती हुन् । उनीहरू मृतकका नातामा फुप, फुपाजु पर्दछन् ।
इलाका प्रहरी कार्यालय रंगेलीले बालिकाको हत्या आरोपमा दुवै जनालाई पक्राउ गरि सोमबार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका निमित्त कार्यालय प्रमुख डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
२१ महिनाका युनिशा २६ मंसिरमा घरदेखि हराएकी थिइन् । हराएको तीन दिनपछि घरदेखि करिब १ सय मिटर टाढा २ फिट गहिरो खाडल खनिएको अवस्थामा शव भेटिएको थियो । खनिएको खाल्डोमा कपडा भेटिएको थियो । कपडा भेटिएपछि प्रहरीले अनुसन्धान गरिररहेको थियो ।
प्रारम्भीक अनुसन्धानदेखि घटनामा संलग्न आफन्त रहेको खुलेपछि उराँव दम्पतीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । उनीहरूले बालिकालाई हत्या गर्नुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
‘घटनामा संलग्न देखिएको प्रक्राउ गरि अनुसन्धान सुरु गरिएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘थप अनुसन्धानपछि कारण खुल्नेछ ।’ बालिकाको कुन दिन हत्या भयो त्यो पनि थप अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।