विराटनगरका ‘हेभिवेट’ काँग्रेसीले हारेपछि…

 गणेश लम्साल

पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद र नेतृ नोना कोइरालाको निधनपछि राजनैतिक शक्ति गुमाउँदै गएका विराटनगरका काँग्रेसजन, एलिट र उद्योगी व्यापारीहरु १४आंै महाधिवेशनको निर्वाचनपछि चकित बनेको चर्चा चलेको छ । काँग्रेसका संस्थापक नेता विपी कोइराला, उनका दाजु मातृका र गिरिजाप्रसाद कोइरालाको गृहनगरका रुपमा चर्चित तथा लामो समय शासनको शक्तिशाली केन्द्र रहँदै आएको विराटनगरका ‘हेभिवेट’ सबै काँग्रेस नेताहरुले १४ औं महाधिवेशनमा पराजय भोगेका छन् ।

गिरिजाप्रसाद कोइराला जिवित रहुन्जेल विराटनगर नेपाली राजनीतिको मात्र नभएर शासनको पनि शक्तिशाली केन्द्र थियो । संस्थापक नेता विपी र मातृका शक्तिमा रहँदा पनि विराटनगरले राजनैतिक शक्ति र केन्द्रीय शासनमा राम्रो पहुँच बनाएको थियो । राजनैतिक शक्तिकै कारण विराटनगरको अस्पताल चौकमा रहेको कोइराला निवासले धेरै वर्ष काठमाण्डौसम्म सहजै सोझो शासन चलायो । तर, ७ चैत २०६६ मा गिरिजाप्रसादको निधनपछि सधै कार्यकर्ताको भीडभाडले भरिने कोइराला निवास पनि सुनसान बन्न पुग्यो । गिरिजाप्रसाद शक्तिमा रहँदासम्म उनी देशमा केही नयाँ तरंग ल्याउनुपर्यो भने विराटनगर आएर बोल्ने गर्दथे । उनी गृहनगरलाई औधी माया पनि गर्दथे । विराटनगर आएको बेला राजनैतिक कार्यकर्ताहरु मात्र नभएर उद्योगी व्यापारी, नागरिक समाज, कर्मचारीहरु सबैको कुरा सुन्ने गर्दथे । र सोही अनुसार देशमा शासन गर्दथे । यसैले विराटनगरले सधै देशमा चर्चा पाईरहन्थ्यो । त्यो बेला भनाइ नै चलेको थियो ‘विराटनगरले जे बोल्छ देशमा त्यही हुन्छ ।’

पछिल्लो समय नोनाका कान्छा छोरा डा.शेखर कोइरालाले आफ्नो राजनैतिक शक्ति तीब्र बनाउँदै कोइराला निवासलाई राजनैतिक रुपमा चलायमान बनाउँदै लगेका थिए । तर, सुनसान बन्न पुगेको काँग्रेसीहरुको तीर्थ भनिने कोइराला निवासले शक्ति भने आर्जन गर्न सकेको थिएन । डा.शेखरले सभापतिमा जित हासिल गरेमा निवासको गुमेको पुरानो शक्ति पुनः प्राप्त गर्नेमा विराटनगरका काँग्रेसीहरु आशावादी थिए ।

तर, भर्खरै काठमाडौंमा सम्पन्न १४ औ महाधिवेशनबाट डा.शेखर कोइराला संस्थापन पक्षका उम्मेदवार शेरबहादुर देउवासँग पराजित भए । उनी मात्र नभएर संस्थापन इतर समूहका विराटनगरका ‘हेभिवेट’ नेता महेश आचार्यले उपसभापतिमा निक्कै कम मत पाएर हार बेहोरे । सभापतिको दाबी गरेर पछि उपसभापतिमा प्रतिस्पर्धा गरेकी गिरिजापुत्री सुजाता कोइरालाले लज्जास्पद पराजय भोगिन् । विराटनगरकै डा.मिनेन्द्र रिजालले महामन्त्री पदमा निक्कै कम मतसहित पराजय बेहोर्नुपर्यो । हार बेहोरेपछि उनले रक्षामन्त्री पदबाट पनि राजीनामा दिएका छन् । विराटनगरसँग सोझो सम्बन्ध राख्ने र आफ्नो शक्ति सधै विराटनगरबाटै प्रदर्शन गर्ने विजय गच्छदारले पनि दुई मतको झिनो मतान्तरले उपसभापतिमा हार बेहोर्नु पर्यो । शेखर कोइरालाले सभापतिमा र अन्य नेताहरुले उच्चपदस्थ पदमा जित हासिल गरेको भए विराटनगर पक्कै पहिले झै काँग्रेसको राजनैतिक शक्तिका रुपमा चलायमान हुनेथियो । कोइराला निवासले पनि आफ्नो गुमेको चमक पक्कै फर्काउने थियो । तर, शेखरसँगै अन्य ‘हेभिवेट’ पनि धमाधम हार बेहोरेपछि विराटनगरका काँग्रेसीजन पक्कै चकित मात्र नभएर चिन्तित पनि बन्न पुगेका हुन् ।

यद्यपी बलियो प्रतिष्र्पीका रुपमा डा.शेखर काँग्रेसमा शक्तिशाली नेताका रुपमा उदाएकोले विराटनगरले राजनैतिक विरासत गुमाउनुको साटो बढाएर लाने केही काँग्रेसीहरुको दावी छ । किनकी पराजित भएपनि शेखर केन्द्रीय सदस्य हुनेछन् । अनि उनको टिमका युवा नेताहरु पदाधिकारीमा विर्नाचित भएका छन् । यसैले उनले चाहे भने विराटनगरका लागि ‘पुल’ बनेर केन्द्रिय शासनमा काँग्रेसको शक्ति बढाउँन सक्छन् ।

आम विश्लेषकहरु चाँही सभापतिमा डा.शेखरले आफ्नो शक्ति बढाउन सफल भएपनि विराटनगरका काँग्रेसीहरुको राजनैतिक शक्ति बढ्न नसक्ने तर्क गर्छन् । किनभने हार्ने विराटनगरका सबै ‘हेभिवेट’ हरु कोइराला समूहकै हुन् । उनीहरुको हारले समग्र काँग्रेसको अवस्था र विराटनगरको विकासमा केही फरक पर्नेछैन । किनभने हिजोका दिनमा न त गिरिजाप्रसादले, न त महेश आचार्य र मिनेन्द्र अनि सुजाताहरुले विराटनगरको विकासमा केही गरे । उनीहरुले गरेको सोझो सम्बन्ध राखेर विराटनगरमाथि शासन मात्र हो । हो, विराटनगरका काँग्रेसीजन, एलिटहरु र उद्योगी व्यापारीहरुलाई आफ्नो पहुँच बनाउन चाँही सहज थियो । यसैले उनीहरुको पराजयले मात्र विरासत र गुटको पसलमा मात्र असर पर्ने तर्क सँस्थापन पक्षका काँग्रेसीजनहरुको छ ।

हुन त देउवा समूहबाट विराटनगरका अमृत अर्यालले केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गरेका छन् । सिटौला देउवा समूहबाट विराटनगर महानगरपालिका मेयर भीम पराजुली र उपमेयर ईन्दिरा कार्की पनि मैदानमा छन् । उनीहरुको जितहारले पनि विराटनगरका काँग्रेसीहरुको केन्द्रीय शासनको पहुँचलाई पक्कै केही न केही असर चाँही पार्नेछ । शेखर समूहबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् । तर, ‘हेभिवेट’ नेताहरुको हारले चाँही विराटनगरको काँग्रेसको राजनैतिक शक्तिलाई सोझो पहुँचबाट निक्कै टाढा बनाइदिएको छ । अनि सधै चर्चामा रहने र सोझै केन्द्रमा शासन गर्नसक्ने विराटनगरले पनि आफ्नो पहुँच घटाएकै छ । किनकी अन्य पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा विराटनगरका ‘हेभिवेट’ नेताहरु छैनन् । जनता समाजवादीमा विराटनगरका उपेन्द्र यादव अध्यक्ष भएपनि उनले काँग्रेसले जस्तो सत्तामा सधै पहुँच बनाइसकेका छैनन् । बरु उनी त अझै शक्ति र मुक्तिका लागि संघर्षमा छन् ।

सोमबार, ०५ पुष, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर