तारामणि सापकोटा
नेकपा एमाले विभाजितपछि माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) नामको पार्टी बनेको छ । सरकारले अध्यादेशमार्फत संशोधन गरेको राजनीतिक दल सम्बन्धी ऐनमा राष्ट्रपतिबाट लालमोहर लागेलगत्तै नयाँ पार्टी गठन भएको हो । माधव नेपालको नेतृत्वमा नयाँ पार्टी दर्तापछि फरक–फरक टिप्पणी आएका छन् । एमाले अब समाप्त हुने, एमालेलाई केही फरक नपर्ने, कम्युनिष्ट आन्दोलन समाप्त हुने, नयाँ विचारका साथ माधव नेपालको नेतृत्वमा कम्युनिष्ट आन्दोलन ध्रुवीकरण हुने । कसैले माधव नेपाल अर्र्को सिपी मैनाली हुने टिप्पणी गरेका छन् । कुनै बेलाका तिलश्मी नेता सीपी मैनाली अहिले गुमनाम छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा माले र त्यसको प्रभावशाली व्यक्तित्व सीपीको पछिल्लो अवस्थामा माधव नेपाल पुग्ने टिप्पणी हुन थालेको छ । नेपाल दोस्रो सीपी मैनाली हुने यात्रामा अघि बढेको विषयमा केन्द्रित भएर विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।
आफ्नैले साथ दिएनन्
माधव नेपालले तेस्रो तहका नेताको साथ लिएर नयाँ पार्टी दर्ता गरे । उनीपछिका दोस्रो तहका पदाधिकारी र स्थायी समिति सदस्यले साथ दिएनन् । नेपाल निकट मानिएका वामदेव गौतम, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, युवराज ज्ञवाली, भीम आचार्य, रघु पन्त लगायतका नेताले साथ छाडे । दोस्रो तहको साथ नपाएका नेता नेपालले तेस्रो तहका नेताको बलमा नेपाल अघि बढेका छन् ।
एजेण्डा
पार्टी सञ्चालन गर्न एजेण्डा चाहिन्छ । एमाले समाजवादीले नाम समाजवादी राखेपनि त्यसका एजेण्डा के हुन् भन्ने टुङ्गो लागेको छैन । नेपाल समूहसँग नयाँ वैचारिक एजेण्डाको आधार पनि देखिँदैन । ओलीले गरेको प्रतिगमनकारी कदमको विरोध वैचारिक एजेण्डा हुन सक्तैन । ओलीको प्रतिगमन सर्वाेच्च अदालत र उनी विरोधी सडक आन्दोलनबाट सच्चिएको छ । नागरिकले ओलीले लोकतन्त्र र संविधानविरुद्ध गरेको हर्कतको हिसाबकिताब निर्वाचनबाट लेलान् । तर, ओली प्रवृत्तिको विरोधलाई विचार भन्न सकिँदैन । विचारबिनाको कम्युनिष्ट पार्टी अघि बढ्नै सक्तैन । त्यसमा पनि जनताको बहुदलीय जनवादलाई पार्टी विचार बनाउने हो, पार्टीको नाम पनि यस्तै राख्ने हो भने दुई वटा एमाले किन चाहियो ? भन्ने प्रश्न पनि छ । यसको जवाफ नेपाल समूहले दिनुपर्नेछ ।
कमजोर संगठन
नेकपा बन्नुभन्दा अघिसम्म एमाले राम्रो सांगठानिक संरचना भएको पार्टी थियो । एमालेमा गुटको गहिरो प्रभाव थियो । टोलका पार्टी सदस्य पनि गुटबाट संरक्षित र प्रशिक्षित थिए । तरपनि एमाले बलियो पार्टी थियो । गुटलाई पार्टीमा हुने निर्वाचनले व्यवस्थित बनाएको थियो । गुटहरुबीच प्रतिस्पर्धा हुन्थ्यो । विचारको प्रतिस्पर्धा भएको भए एमाले कम्युनिष्ट पार्टी हुन्थ्यो । तर, गुटको प्रतिस्पर्धा हुने भएकाले एमाले नामधारी कम्युनिष्ट पार्टी थियो र छ । जे भएपनि निर्वाचनले गुट व्यवस्थापन र एमालेलाई सक्रिय बनाएको थियो । गुटले एमालेलाई जीवन्त बनाएको थियो । नेपाल समूह अलग हुँदा त्यो संरचना पुरै भत्किएको पनि देखिँदैन र सम्भावना पनि छैन । नेपालको विचार समूहका धेरै कार्यकर्ता अब ओली समूहका हुने भएका छन् ।
एमाले समाजवादीमा सहरी कार्यकर्ताको केही सहभागिता देखिएपनि ग्रामीण क्षेत्रमा न्युन प्रभाव देखिएको छ । गाउँको कार्यकर्ता पङ्क्ति अलिक बढी स्थिर छ । दोस्रो तहका नेताको साथ नहुँदा त्यसको पनि प्रभाव पर्ने निश्चित छ । ओलीले भन्दै आएको ‘रुखका पात झरे जस्तै’ हुने प्रबल सम्भावना छ ।
सिपी मैनाली पथमा
पार्टी निर्माण हुन नीति, नेतृत्व, संगठन र वस्तुगत परिस्थिति आवश्यक हुन्छ । तर, नेपाल समूहसँग अहिले ओली प्रवृत्ति विरोधी वस्तुगत परिस्थिति भएपनि नीति, नेतृत्व, संगठन कमजोर छ । यसले माधव नेपाल अन्ततः सीपी मैनालीको पथमा हिँड्नपर्ने अवस्था आउने धेरै विश्लेषण छ । २०५४ सालमा भारतसँगको महाकाली सन्धिको विषयमा एमाले विभाजित हुँदावामदेव गौतम र सीपी मैनालीको नेतृत्वमा माले जन्मियो । २०५६ सालको निर्वाचनमा मालेले एक सिट पनि जित्न सकेन । र, राष्ट्रिय पार्टी पनि भएन । राष्ट्रिय पार्टी पनि नहुने र अनुमान गरेभन्दा धेरै कमजोर भएपछि वामदेव गौतम समूह एमालेमा मिसियो भने सीपी मैनालीको समूहले मालेलाई निरन्तरता दियो ।
वामदेव त एमालेमा पुनः नेता भए । तर, सीपी ओरालो लाग्दै–लाग्दै अहिले सानो कोटरीमा सीमित भएका छन् । पञ्चायतकालको मालेका संस्थापन हुन्, सीपी मैनाली । पञ्चायतकालमा नख्खु जेल ब्रेक र भूमिगत सीपीका बारेमा सुनिने तिलश्मी किस्सा आश्चर्य लाग्दा हुन्थे । २०४६ सालमा माले खुला हुँदा पनि सीपी निकै पछि मात्र खुला भए । उनलाई हेर्ने र उनका कुरा सुन्नमा ठूलै आकर्षण थियो । एउटा प्रभाव थियो । निष्ठा र संघर्षका प्रतिक थिए, सीपी । २०३९ सालमा पार्टीमा वैचारिक संघर्ष हुँदादेखिको उनीसँग विचार समूह थियो । २०४९ सालमा एमाले महाधिवेशमा मदन भण्डारीले जनताको बहुदलीय जनवाद र सीपीले परिमार्जित नौलो जनवादको दस्तावेज ल्याएका थिए । मदन भण्डारीको प्रभावशाली व्यक्तित्व भएपनि सीपीको जस्तो संघर्षको इतिहास थिएन । त्यसमा वामदेव गौतम स्वयम् बहुदलीय जनवादका आफूलाई हिमायती ठान्दथे । उनको पनि महाकाली सन्धिकाविरोधी पक्षधर ठूलै कार्यकर्ताको पङ्क्ति थियो ।
२०५४ सालमा पार्टी विभाजन हुँदा कार्यकर्ताको विशाल समूह मालेमा लाग्यो । तर, निर्वाचन परिणाममा जनताले साथ दिएनन् ।वामदेव एमालेमा फर्किए भने सीपीले मालेलाई निरन्तरता दिए । कयौं कार्यकर्ता निस्क्रिय भए भने कयौँ कार्यकर्ता माओवादीमा लागे । सीपी र उनको नेकपा माले वैचारिक, नेतृत्व, सांगठन र राजनीतिक रुपमा पनि अत्यन्तै कमजोर अवस्थामा छ । माधव नेपालले एमाले समाजवादीलाई ठूलो पार्टी त्यति सजिलै बनाउन सक्ने सम्भावना छैन । कांग्रेस, माओवादी लगायतसँगको ताममेलमा एउटा निर्वाचनमा पार्टी त होला । तर, एमालेलाई जत्नेगरी ठूलो पार्टी हुने सम्भावना कम छ । नेता नेपालसँग एमाले समाजवादी, प्रचण्डको माओवाद केन्द्र, उपेन्द्र यादवको जसपा लगायतसँग पार्टी एकताको सम्भावना पनि छ । यस्ता विकल्प तयार भए पार्टीको आधार तयार होला । अन्यथा माधव नेपाल र एमाले समाजवादीको भविष्य सीपी मैनाली र उनको माले जस्तो नहोला भन्न सकिन्न ।