उमेरले युवा कि विचारले ?

 गोकुल पराजुली

राजनीतिक नेतृत्वमा नयाँ पुस्ताको उदय हुन प¥यो भन्ने चाहना यतिबेला व्यापक रुपमा उठिरहेको छ । सामाजिक सञ्जाल र सञ्चार क्षेत्रमार्फत यस्ता भावनाहरु व्यक्त भइरहेका छन् । समकालीन राजनीतिक गतिविधिबाट असन्तुष्ट हुँदै गरेका व्यक्तिहरुले यसलाई बिकाउ नाराको रुपमा अगाडि सार्ने गरेका छन् । र, यो कुरा ठिकै पनि हो ।

पुनरोत्थानवादी शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनबाट कमल थापालाई पाखा लगाउँदै उनीभन्दा युवा उमेरका राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएपनि यो विषय अझ सशक्त रुपमा उठ्न थाल्यो । मानिसहरुले भन्न थाले कि पार्टीहरुको नेतृत्व युवा पुस्तामा आउनुपर्छ । यद्यपी उनी उमेरले मात्र युवा हुन् । विचारले पुरातनवादी सोचकै सेवा गरिरहेका छन् ।

नेपालका राजनीतिक दलहरुले एकल नेतृत्वको अभ्यास छोडिसकेका छन् । दलहरु सामुहिक नेतृत्व प्रणालीमा अभ्यस्त हुँदै गएका छन् । त्यसो हुँदा प्रमुख नेता युवा नै हुनुपर्छ भन्ने कुरा कति सहि हो ? यो बहसको विषय छ । फेरि युवा उमेरले हुने हो कि सोचले भन्ने पनि बहसकै विषय छ । उमेरले युवा भएपनि उसको सोच अग्रगामी र परिवर्तनकारी छैन भने, उसको व्यवस्थापकीय शैली पुरातन छ भने के गर्ने ? के युवा हुँदैमा परिवर्तन आउँछ ? यदि युवाहरुले परिवर्तन गर्ने थिए भने अहिले स्थानीय तहमा पुगेका कयौं युवा प्रमुखहरुले त्यो क्षमता देखाउन सके ? यस्ता प्रश्नहरु पनि हाम्रासामु छन् । यद्यपी नयाँ युगको नेतृत्व युवाहरुले नै गर्ने हो र गर्नुपर्छ ।

भर्खरै नेपाली काँग्रेसको १४ औं महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । महाधिवेशनबाट ७८ वर्षे वृद्ध शेरबहादुर देउवा सभापति बनेका छन् । अधिकांश युवाहरुको मतबाट उनी सभापति चुनिएका हुन् । देउवा उमेरले बुढो भएपनि युवाहरुले देउवाभन्दा कम उमेरका युवालाई पत्याएनन् । किन ? सामुहिक नेतृत्वमा चल्ने पार्टीमा मुल नेतृत्व युवा नै हुनुपर्छ भन्ने छैन भन्ने युवा पुस्ताको निष्कर्श हुनुपर्छ । त्यसैले उनीहरुले महामन्त्रीमा दुई सशक्त युवाहरुलाई पठाए, सहमहामन्त्रीमा युवाहरुलाई पठाए र मुल नेतृत्वमा अनुभवी र पाका नेताकै आवश्यकता ठाने । जसले युवा जोसकै कारण ठूलो कमजोरी हुन नपावस् भनेर सचेत भए ।

नेकपा एमालेको अधिवेशनबाट निर्वाचित भएकाहरुको प्रसंग अली फरक छ । विगतमा प्रत्यक्ष निर्वाचनको अभ्यासलाई बहुदलीय जनवादको अपरिहार्य आवश्यकता भन्दै हिडेको एमालेले यसपटक कुनै सैद्धातिक धरातलमा आधारित भएर नेतृत्व निर्वाचित गरेन । चरम महत्वकांक्षी, गुटवादी र अनुदार नेतृत्वका अगाडि एमालेमा चुनिएका युवाहरुले खासै परिणाम दिन सक्ने अवस्था केही समयका लागि छैन ।

निकट भविष्यमा राष्ट्रिय सम्मेलन गर्न गइरहेको नेकपा माओवादीमा युवाहरुको स्थान के होला भन्ने चासो यतिबेला हुन थालेको छ । सामाजिक सञ्जालहरुमा पनि त्यो विषय प्रकट भइरहेका छन् । ३० वर्षदेखि पाार्टी नेतृत्व गरिरहेका प्रचण्डको बिदाइको चाहना पनि सञ्जालहरुमा भेटिन्छ । तर, यसै सम्मेलनबाट प्रचण्ड नेतृत्वबाट बिदाइ हुने सम्भावना न्यून छ । प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रमा प्रचण्ड स्वयं अन्य समकालीन प्रमुख नेताहरुभन्दा उमेरमा कान्छा छन् । उनले नेतृत्व गरेको पार्टीको पदाधिकारी र केन्द्रीय कमिटीमा अक्सर युवाहरुकै बाहुल्यता छ । अग्रगमन र परिवर्तनको मुद्दामा प्रचण्डले सोच्ने कुरा धेरै युवाहरुको ध्यान कमै पुगेको हुन्छ । उनी सोचमा पनि युवा नै छन् ।

अर्को कुरा माओवादी केन्द्रको भर्खरै सम्पन्न प्रदेश अभिवेशनहरुबाट गण्डकी र कर्णाली प्रदेशको नेतृत्व युवा उमेरका महिलाहरुले लिएका छन् । बागमती र लुम्बिनीको नेतृत्व ४० वर्ष पुगनपुगका युवाहरुले लिएका छन् । पार्टी कमिटीहरुमा न्यूनतम २० प्रतिशत कोटा ४० वर्षमुनिका युवाकै लागि छुट्याएको छ र त्यसै अनुसार वडादेखि प्रदेशसम्म नयाँ नेतृत्व निर्वाचित गरिसकेको छ । यस अर्थमा राजनीतिमा युवा नेतृत्व चाहियो भन्नेहरुका लागि पछिल्लो समय माओवादीले गरेको अभ्यास एउटा गतिलो अध्ययनको विषय हुनसक्छ । तर, परिणाम भने हेर्न बाँकी छ । नेतृत्वमा युवालाई अवसर दिँदा र नदिँदा परिणाममा कत्तिको प्रभाव रहन्छ भन्ने कुरा केही समयपछि मात्र अनुभूति होला ।

निष्कर्शमा भन्नुपर्दा युवाको माग हुनु भनेको परिर्वनको माग हुनु हो । निरन्तरतामा क्रमभंगको खोजी जनताले गरेका हुन् । निरन्तरतामा क्रमभंग बिचार र दृष्टिकोणबाट मात्र सम्भव छ । केवल उमेरले युवा हुँदैमा उसले परिवर्तन र नयाँ दृष्टिकोणहरु अगाडि सार्न सक्दैन । त्यसकारण हामी केवल युवाको मात्र खोजी नगरौं । बिचार सहितको, दृद्ध इच्छाशक्ति, राजनीतिक लक्ष्य लिएको परिवर्तनकारी युवाको खोजी गरौं । जसले हाम्रो राजनीतिलाई सही मार्गदर्शन गर्न सकोस्, विकास र समृद्धिको अभिष्टलाई पुरा गर्ने कुशल व्यवस्थापकको भूमिका निर्वाह गर्न सकोस् ।

Supported only between 1944-2022