अध्यनशिल र लेखक शिवकुमार डाँगी

 गणेश लम्साल

प्रदेश १ को विकट पहाडी जिल्ला संखुवासभाको चैनपुरमा २०३० सालमा जन्मिएका हुन् शिवकुमार डाँगी । निम्नवर्गीय परिवारका सदस्य उनले कठोर परिश्रमसँगै पहाडमै स्कुलको पढाई पुरा गरे । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौ पुगे । आरआर क्याम्पसमा भर्ना भए । अनि पढाइसँगै विद्यार्थीको राजनैतिक गतिविधिमा सहभागी हुन थाले ।

किशोर उमेरका डाँगी पहिलो पटक २०४६ सालको आन्दोलनमा होमिएका थिए विद्यार्थी बनेर । त्यसपछि उनले कहिल्यै पनि बिश्राम लिएका छैनन् । एमाले अखिलबाट बिद्यार्थी राजनीतिमा सक्रृय भएका उनी माले अखिल हँुदै माओवादीको अखिल क्रान्तिकारीको पदाधिकारी बने । माओबादीले सुरु गरेको शसस्त्र जनयुद्धमा विद्यार्थी नेता, पत्रकार, राजनैतिक कमिसार हँुदै पार्टी नेताका रुपमा सक्रिय भएर सफल जिम्मेवारी निर्वाह गरे । हाल डाँगी सुनसरी माओवादी केन्द्रको सह–ईन्चार्ज छन् ।

राजेन्द्र राई र योगेश भट्टराईहरुसँगै राजनीति

एमालेदेखि मालेसम्मको विद्यार्थी राजनीतिमा हुँदा त्यो बेला डाँगीले विशाल भट्टराई, यज्ञराज सुनुवार, राजेन्द्र राई (हाल प्रदेश १ का मुख्यमन्त्री ) योगेश भट्टराईहरुसँगै बसेर काम गरेका थिए । तत्काल उनीहरु काठमाण्डौको आरआर क्याम्पसमा अखिलको एउटै कमिटीमा बसेर काम गर्थे । एमालेमा हुँदा डाँगी २०५३ मा अखिलको काठमाण्डौ जिल्ला कमिटीमा थिए । २०५४ मा एमाले बिभाजन भएपछि उनी अखिलको केन्द्रीय सदस्य र बाग्मती अञ्चल कमिटी अध्यक्ष बने । २०५७ मा बिभाजनभएको माले, एमाले फेरि एक हुनेभयो । यसैले जुझारु र क्रान्तिकारी धार भएका डाँगीहरुले कृष्ण केसीको नेतृत्वमा अलग्गै अखिल निर्माण गरे । देववेन्द्र पराजुली र कृष्ण केसी नेतृत्वको अखिलको एकता भयो । उक्त एकताले नयाँ अखिल क्रान्तिकारी विद्यार्थी संगठनको जन्म भयो । २०५८ मा विराटनगरमा सम्पन्न बाह्रौ राष्ट्रिय सम्मेलनबाट डाँगी केन्द्रीय सचिवालय सदस्य बने ।

पक्राउ परेपछि एक वर्ष वेपत्ता

माओवादी पार्टीको कार्यकर्ता बनेर भुमिगत राजनीतिमा सक्रिय भैरहेका डाँगी २०५८ चैतमा पक्राउ परे । तत्कालिन प्रहरी प्रशासनले उनलाई एक वर्ष कैद र बेपत्ता बनायो । त्यही बेला हो हाल प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलसँग भेट भएको । जेलमा उनीहरुको भेट प्रेममा बदलियो । र, पछि उनीहरुले प्रेमलाई प्रगतिशील बिबाहमा परिणत गरे । दुवैको दाम्पत्य सफलरुपले चलिरहेको छ । दोस्रो वार्ताकालमा उनीहरु छाडिए । छाडिए लगत्तै उनले अखिल क्रान्तिकारी विद्यार्थी संगठनको मेची–कोशी संयोजकको जिम्मेवारी पाए । उनकी पत्नी सारदा (सरस्वती) पनि सँगै पार्टी काममा सक्रिय भइन् । दुवै जना भूमिगतकालमा मारिनबाट पटक–पटक जोगिएका छन् ।

जनविद्रोह साप्ताहिकको सम्पादकदेखि कमिसारसम्म

जनयुद्ध उत्कर्षमा पुगेको थियो । पार्टीका गतिविधि र विचारहरुलाई आम जनतामा सूचना प्रवाह गर्ने सबै सञ्चार माध्यम तात्कालिन प्रहरीप्रशासनले बन्द गराएको थियो । विचारमा आवद्ध हुने धेरै पत्रकाहरु पक्राउ गरिएका थिए । कृष्णसेन इच्छुकहरुको हत्या भैसकेको थियो । पार्टीलाई सूचना जनतासम्म पुरयाउन प्रकाशन प्रसारण माध्यमको एकदमै खाँचो थियो । यसैले पुर्वीकमाण्डले पत्रिका प्रकाशन गर्ने योजना बनायो । २०६१ मा डाँगीकै सम्पादनमा भूमिगत रुपले जनविद्रोह साप्ताहिक प्रकाशन हुन थाल्यो । कहिले प्रहरी थानाको अगाडी रहेको प्रेसबाट त कहिले जंगलको बिचमा बसेर पत्रिका निकाल्थे सम्पाक डाँगी र उनका साथीहरु । उनको प्रधान सम्पादनमा सुरु भएको जनविद्रोह साप्ताहिक शान्ति प्रकृयापछि विराटनगरबाट जनविद्रोह दैनिकका रुपमा प्रकाशित भयो । हाल जनबिद्रोह दैनिक नाम परिवर्तन गरेर हाम्रोमत दैनिकका नाममा रंंगिन कलेवरमा पूर्ण व्यवसायिक रुपले प्रकाशित भैरहेको छ ।

पत्रकारिता गर्दागर्दै २०६१ मंसिरमा शिवकुमार डाँगीले सहकमिसार, बटालियन कमिसार हुदै कमिसारको जिम्मेवारी पाए । त्यो बेला माओवादीले ‘ढाटमा टेकेर टाउकोमा हान्ने’ रणनीति अपनाएको थियो । दुश्मनको दमन तीब्र थियो । फेला पर्नासाथ गोली हान्थ्यो । यसैले युद्धका गतिविधिहरु निरन्तर तीब्र रुपले गरिरहनु पर्दथ्यो । कठिन परिस्थिती आएपनि नत डाँगीले अरुले जस्तो पार्टी छाडेर भागे नत आत्मसमपर्ण नै गरे ।

अध्ययनशिल र लेखक शिवकुमार डाँगी

राजनीतिमा सधै सक्रृय रहन रुचाउने र आफुले बनाएका योजनाहरु सधै सफल बनाउने क्षमता भएका जुझारु युवा डाँगीले नेपाली प्रगतिशिल बिद्यार्थी संगठनहरुको इतिहास बोकको निक्कै मोटो ‘संघर्षका साठी बर्ष’ नामक पुस्तक लेखेर प्रकाशन गरेका छन् । यति मात्र हैन उनले जनयुद्धका शहिदहरुको कथा र विवरण उल्लेख भएका ‘शहिद’ किताबको सम्पादन गरेका छन् । संखुवासभाका पुराना क्रान्तिकारी योद्धा स्वर्गीय शहिद वासु शाक्यको बारेमा लेखिएको ‘अविश्रान्त योद्धा’ र तेह्रथमुका भक्तराज कन्दङवाको ‘लिम्बुवानका प्रणेता’ नामक स्मृतिग्रन्थ पनि सम्पादन गरेका छन् । डाँगी समाजलाई मार्ग प्रशस्त गर्न समसामयिक रुपले पत्रपत्रिकाहरुमा लेखहरु लेखिरहन्छन् ।

नयाँ विराटनगरका योजनाकार

सोझै सँधै सबैखाले मानिसहरुको जनसम्पर्कमा बसिरहन रुचाउछन डाँगी । सबैसँग सहजै घुलमिल हुने उनको बानी छ । छलफल र अन्तक्र्रियामा सक्रिय रुपले भाग लिइरहन्छन् । आवश्यक परे पत्रपत्रिकामा लेखहरु पनि लेख्छन् ।समाजिक काममा पनि खटिरहन्छन् । पार्टीको नीति र विकासलाई सँधै पछ्याइरहने क्रान्तिकारी धारका डाँगी विराटनगरमा रहँदा महानगरको ईन्र्चाज पनि भए  । त्यो बेला उनले पुराना वामपन्थीहरुलाई खोजेर सक्रिय मात्र गराएनन् पार्टीमा आवद्ध पनि गराए । उनीहरुलाई सम्मान गरेर उर्जा भर्ने काम गरे । पार्टीको नीतिलाई सफल बनाउन विराटनगर नागरिक समाज स्थापना गराएर शुसासनका गतिविधिहरुमा सक्रिय गराए । त्यो बेला डाँगीले नयाँ विराटनगर नामको पुस्तक प्रकाशन गराए । जसमा नयाँ विराटनगर कस्तो हुने भन्ने प्रस्ट खाका थियो । जसले उद्योगी व्यपारी र बुद्धिजिवी र नागरिक समाजमा अध्यधिक चर्चा पाएको थियो । प्रदेश १ सरकारले वृहत विराटनगर निर्माणका लागि बनाएको विधेयक त्यही अवधारणा भित्ररहेको छ ।

आशावादी र ऊर्जाशील युवा

काम र कर्तव्य र अनुशासनलाई गतिशिलता मान्ने डाँगी जहिल्यै आशाबादी हुन्छन् । उनी निराश कहिल्यै भएनन् । हुदैनन् । केही न केही गरिरहने उनको बानी छ । यसैले पार्टीमा विचलन आएपनि उनले संस्थापन पक्षलाई कहिल्यै छाडेनन् । विचलनले गर्दा पार्टी बिभाजन भएपछि उनकी जिवन साथी सारदा (हाल प्रदेश १ उपसभामुख) मोहन बैद्यको पार्टीमा गइन् । बैद्यमा जाँदा उनीहरुको पाँच बर्ष बोलचाल समेत भएन । डाँगी प्रचण्डले नेतृत्व गरेको माओबादी पार्टीको नीति अनुसार दोस्रो संविधान सभाको निर्वाचन गराउन सक्रिय हुन्थे । तर उनकी पत्नी सारदा आफनो पार्टीको नीति अनुसार भण्डाफोर गर्ने , बम हान्ने र चुनाव असफल गराउन सक्रिय थिइन । त्यो बेला साना लालावाला भएकोले पारिवारिक बिचलनको अवस्था पनि आएको थियो । तर, त्यो बेला पनि धैर्यशाली र दुरदर्शी योद्धा डाँगी बिचलित नभै पार्टीको काममा सक्रिय भएर लागिरहे । पछि बैधमा गएकी सारदा रामबहादुर थापा बादलको नेतृत्वमा पुन प्रचण्डले नेतृत्व गरेकै माओवादी पार्टीमा फर्केर आइन् । हाल उनी समानुपातिकबाट प्रदेश सांसद निर्वाचित भएर प्रदेश १ सभामा उपसभामुख छिन् ।

राजनीतिमा अब्बल योजनामा सफल

आशावादी कर्मठ योद्धा डाँगीमा योजना बनाउन सिपालु मात्र छैनन् त्यसलई सफल कार्यान्वयन गराउन पनि प्रतिबद्ध हुन्छन् । सुनसरीको तरहरामा सञ्चालन भैरहेको शहिद स्कुललाई सफल बनाउनुमा उनकै मुख्य देन छ  । उनले आफू अध्यक्ष भएर जङ्लमा झाडी फाँडेर बाँसको टाटी र फुसको छानोको एउटा छाप्रो बनाएर स्थापना गरेको शहिद स्कुल अहिले पक्की भवनमा मावि तहमा आवाशीय रुपले सञ्चालन भैरहेको छ । उक्त स्कुलमा शहिद र वेपत्ता परिवारका सन्तानहरुले पढेर भविष्य बनाउन अवसर पाएका छन् । उनी नभएको भए शहिद स्कुल टिक्नै सक्ने थिएन । डाँगीले स्कुलमा दाताहरु खोज्न र भवन निर्माण गराउन अथक मेहनत गरेका छन् । स्थापनाकालदेखि शिक्षकको रुपमा कार्यरत (हाल प्रिन्सिपल) रिता फुयाँल भन्छिन्, ‘डाँगी कमरेड नभएको यो शहिद स्कुल यहाँसम्म आउन सक्ने नै थिएन भन्नेले जे–जे भनुन् ।,’ यस्तै हाल धरानमा व्यवसायिक रुपले सञ्चालन भैरहेको रेडियो गणतन्त्रलाई जोगाउने हुर्काउने काम पनि डाँगीले नै गरेका हुन् । उनी लामो समय रेडियोको अध्यक्ष बने । आइपरेका अनेकौ आर्थिक संकट पार लगाएर रेडियोलाई टाट पल्टिनबाट बचाउन सफल भए । यस्तै भूमिगत कालमा उनले सुरु गरेको जनविद्रोह साप्ताहिक शान्तिप्रकृयामा आएपछि दैनिक बन्यो । विराटनगरमा डाँगी सम्पादन मात्र गरेनन् सहकारीको अध्यक्ष बनेर पत्रिकालाई समूहसँग जोडेर बचाउने काम पनि गरे । उनी नभएको भए जनविद्रोह दैनिक उहिल्यै बन्द भइसक्ने थियो । हाल जनविद्रोह दैनिक नाम परिवर्तन गरेर हाम्रोमत दैनिकका रुपमा रंगिन कलेवरमा पूर्ण व्यवसायिक रुपले प्रकाशन भैरहेको छ । तत्काल माओवादी पार्टीले सञ्चालन गरेका रेडियो र पत्रिकाहरु हाल गणतन्त्र रेडियो र हाम्रोमत दैनिक बाहेक देशभर कतै पनि निरन्तर टिकेर प्रकाशन प्रसारण हुन सकेका छैनन् ।

पत्रकारका नेता डाँगी

जुझारु प्रस्ट प्रखर वक्ता मात्र नभएर अध्यनशील डाँगीले प्रदेश १ मा पत्रकारहरुको विभाग पनि हेर्दै आएका छन् । पत्रकारिताको रुची र अनुभव अनि लेखनमा दख्खल भएकोले उनले क्रान्तिकारी पत्रकार संघदेखि प्रेस सेन्टरसम्म आउँदा प्रचार विभाग प्रमुखको जिम्मेवारी पाइरहेका छन् । उनकै नेतृत्वमा हालसम्म प्रदेश १ का सबै जिल्लामा पहिलेका क्रान्तिकारी पत्रकारहरु हाल पूर्ण व्यवसायिक बनेर अरु भन्दा बलियो संगठनका रुपमा प्रेस सेन्टर उदाउन सफल भएको छ । पत्रकार महासंघका निर्वाचनहरुमा पनि योजना बनाएर आप्mनो संगठनका पत्रकारहरुलाई अवसर दिलाउन डाँगी सक्रिय भएर खट्ने गर्दछन् ।

सहकारीको झण्डा सगरमाथामा फहराएर किर्तिमान

डाँगी सहकारी भावनालाई आत्मसाथ गर्छन् । यसैले उनले कुनै पनि काम एक्लै गरेर जसलिनु भन्दा सामुहिक गरेर समूहलाई जस दिन रुचाउँछन् । माओवादी पार्टी प्रदेश १ मा डाँगी सहकारी विभाग प्रमु्ख पनि भए । अहिले पनि डाँगी राष्ट्रिय सहकाहरी महासंघको सञ्चालक छन् । सहकारीताका लागि उनले धेरै देशहरु भ्रमण मात्र गरेका छैनन् सहकारीको झण्डा सगरमाथाको चुचुरोमा फहराएर किर्तिमान पनि बनाइसकेका छन् ।

यसैले माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा विश्वस्त

मंसिर २५ देखि २७ गतेसम्म मोरङको विराटचोकमा आयोजना भएको माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि २७१ जना सदस्य मात्र चयन ग¥यो । २९ मंसिरमा विराटनगर तीनपैनी स्थित प्रदेश कार्यालयमा बसेको कार्य समितिलाई पनि अध्यक्ष सहित ९ जना पदाधिकारी चयन गर्न साह्रै सकस प¥यो । एक व्यक्ति एक पदको नीति पालना गर्न दबाब बढेपछि अध्यक्षका आकांंंक्षी रहेका केन्द्रीय सदस्यहरु सुरेश राई, हेमराज भण्डारी र इन्द्रबहादुर आङ्बो तीनै जना दाबीबाट पछि हटेका छन । पार्टीले अजम्बर काङबाङको नेतृत्वमा पदाधिकारी छान्ने कार्यदल बनाएको छ । जसमा पहिले अध्यक्षका आकांक्षी रहेका तीनै जना सदस्य छन् । उनीहरुले दिएको प्रतिवेदनका आधारमा पार्टीले अध्यक्ष सहित नौ जना पदाधिकारी चयन गर्नेछ । प्रदेश १ मा अध्यक्षका लागि तीन जना चल्तापुर्जा अगुवाहरु सुनसरी इटहरीका शिवकुमार डाँगी, धरानका मुक्साहाङ मेयाङ्बो (मुकेश), पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), झापाका मणिकुमार साम्पाङ (विजय), उदयपुरका मोहनबहादुर खत्रि (हेनरी) र विराटनगरका हेम कार्की (विशाल) दावेदारका रुपमा देखापरेका छन् । सबै जना जनयुद्धकै पृष्ठभूमीबाट आएका अगुवाहरु हुन् । तर, २०६६ मा माओवादी पार्टीको सुनसरी जिल्ला सचिव बनिसकेका शिवकुमार डाँगी आफूमा सबैलाई मिलाएर लान सक्ने मात्र नभएर योजनालाई सफल बनाउन सक्ने दुरदर्शी क्षमता पनि भएकोले माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा आफूलाई बलियो दावेदारका रुपमा प्रस्तुत गर्छन् । भन्छन्, ‘मैले ३० वर्षदेखि राजनीतिबाहेक अर्को कुनै काम गरेकै छैन । तन, मन र धन सबै पार्टीलाई नै दिएको छु, यसैले ७ पुसमा म सर्वसम्मत रुपले अध्यक्षमा निर्वाचित हुनेछु भन्नेमा विश्वस्त छु ।’

बिहिबार, ०१ पुष, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर