विराटनगर । विश्वप्रकाश शर्मालाई रोक्न उनकै जिल्लाबासी नेता कृष्णप्रसाद सिटौला त लागे नै, प्रदेश सभापति उद्धव थापादेखि केशवकुमार बुढाथोकीसम्मले ज्यूज्यान लगाए । तर, युवा पुस्तामाझ लोकप्रिय विश्वप्रकाशले बलियो गुटको सहारा बेगरै प्रभावशाली जीत हासिल गरेका छन् ।
काँग्रेस महामन्त्रीसम्मको उनको यात्रा कम रोचक भने छैन । २०४० सालको हिउँद । झापा धुलाबारीको धुलाबारी माध्यमिक विद्यालयमा तनाव थियो । पञ्चायतविरोधी प्रदर्शन स्कुलमा चर्किएपछि प्रहरीको ठूलो समूह विद्यालय हाताभित्रै छिरेर धरपकड गर्दै थियो ।
प्रहरीको निशानामा थिए एक जना १३ वर्षे बालक, जसले स्कुलमा पञ्चायतविरोधी आन्दोलनको अगुवाई गरेका थिए । अन्ततः ती बालकलाई प्रहरीले कर्यापकुरुप पारेर गाडीमा हाल्यो र लगेर कष्टडीमा कोचिदियो ।
जब ती बालक कष्टडीबाट छुटेर स्कुल आइपुगे, त्यहाँ फूलमाला र अबिरले उनको भव्य स्वागत भयो । उनका गुरुहरुले त्यसबेला भनेका थिए ‘ओहो ! अब हाम्रो विशु पनि नेता भयो ।’
३८ वर्षअघिको हिउँदमा धुलाबारी माविको मैदानमा जसरी ती बालकको फूलमालाले स्वागत भएको थियो, बिहीबार काठमाडौंमा पनि उनको त्यसैगरी फूलमालाले स्वागत भइरहेको छ । त्यसबेला कष्टडीबाट छुटेको अवसरमा फूलमाला थापेका शिक्षक र साथीहरुका ‘विशु’ अर्थात विश्वप्रकाश शर्मा आज भने काँग्रेसको निर्वाचित महामन्त्रीका रुपमा बधाइ थापिरहेका छन् ।
‘आज मलाई त्यहीबेलाको सम्झना भइरहेको छ,’ विश्वप्रकाश शर्माका बालसखा इन्द्र बुढाथोकीले भने ‘ त्यसबेला १३ वर्षमै आन्दोलनको नेतृत्व गरेको साथीले पार्टीमा राम्रो जिम्मेवारी पाउँदा हामी हर्षित छौं ।’
स्कुल जीवनबाटै पञ्चायतविरोधी आन्दोलनमा विश्वप्रकाश होमिनलाई उनको घरेलु वातावरण पनि सहयोगी थियो । उनका बुबा परशुराम शर्मा भण्डारी र आमा सावित्री शर्मा दुवै शिक्षक थिए । तर, परशुराम शिक्षकभन्दा बढी राजनीतिक कार्यकर्ता थिए । पञ्चायतमै उनले जागिर छाडेर आन्दोलनमा होमिने निर्णय लिएका थिए ।
भर्खरै हुर्किँदै गरेका छोराछोरी र परिवार चलाउने बाध्यताका अघि आमा सावित्रीले शिक्षण पेशालाई निरन्तरता दिइन् । तर, उनले खेप्नु सास्ती पाइन् ।
२०२७ साल पुस ६ गते जन्मिएका विश्वप्रकाश त्यसबेला डेढ दुई वर्षका मात्रै थिए । पञ्चायतले आमा सावित्रीलाई धुलाबारीबाट बाहुनडाँगी सरुवा गरिदियो । कान्छा छोरा विश्वलाई पिठ्युमा बोकेरै निर्जन जंगलको करिब १५ किलोमिटर बाटो उनी घोडामा ओहोरदोहोर गर्थिन् ।
‘त्यसबेला सावित्री म्याम पिठयुमा नानी बोकेर घोडामा चढेर धुलाबारीबाट बाहुनडाँगी आउनुहुन्थ्यो,’ सावित्रीसँगैका शिक्षक केशवराज खनाल भन्छन् ‘ बच्चालाई क्यान्टिनमा राखेर उहाँ कक्षामा पढाउन जानुुहुन्थ्यो, बच्चा रोएको खबर पाएपछि उहाँ गएर फुल्याउनुहुन्थ्यो ।’
झापाका कहलिएका नेपाली शिक्षक तथा लेखक खनाल भन्छन् ‘आज उहाँ बाँचिरहनुभएको भए, छोराको राजनीतिक प्रगतिले खुसी बन्नुहुन्थ्यो होला ।’ खनालले भने जस्तै कान्छा छोराको राजनीतिक उपलब्धिमा खुसी व्यक्त गर्न आमा र बुबा दुवै भौतिक रुपमा उपस्थित छैनन् । तर, बाबुआमाको जिम्मेवारी लिएर अभिभावकत्व प्रदान गर्ने उनका दाई राज्यप्रकाश चाहिँ धुलाबारीस्थित घरमै छन् । ‘म त अहिले जंगलमा छु, फोन राम्ररी लागेको छैन,’ बिहीबार सम्पर्क गर्दा राज्यप्रकाशले भने, ‘भाईले जितेको खबर सुनेँ । जिन्दगीकै सबैभन्दा धेरै खुसी लागेको छ ।’
बा–आमाको देहान्तपछि घरबार सम्हालेर विश्वप्रकाशलाई राजनीतिक अभियानमा लाग्न स्वतन्त्र छाडिदिने राज्यप्रकाशलाई लाग्छ, ‘उसले पार्टीमा न्याय पाएको छ ढिलैगरी भएपनि ।’
उनलाई यस्तो लाग्नुका पछि प्रष्ट कारण छ । त्यो बेलादेखि काँग्रेस राजनीतिमा निरन्तर सक्रिय विश्वप्रकाश शर्मा पार्टीभित्र अन्यायमा परेका पात्रका रुपमा चिनिए लामो समय । ४० सालदेखि जेलयात्रा सुरु भएका उनी ४२ देखि ४६ सम्म पटकपटक प्रहरीको कष्टडीमा परे । ४६ सालमा एसएलसी सिध्याएर मेची बहुमुखी क्याम्पस भद्रपुर पुगेपछि नेपाल विद्यार्थी संघको इकाइ सभापतिका रुपमा उनको राजनीतिक यात्रा अघि बढ्यो ।
उनका सहपाठीहरुका अनुसार मेची क्याम्पसमा त्यसबेला नेविसंघ कमजोर अवस्थामा थियो । ‘त्यसबेला मेची क्याम्पसमा एउटा टाइसिट जस्तै थियो,’ शर्माका सिनियर पुष्प पौडेलले सम्झिए ‘स्ववियु निर्वाचन हुन्थ्यो, नेविसंघ हाथ्र्यो र नेविसंघ अखिलसँग झैं झगडामा उत्रिहाल्थ्यो । तर, विश्वप्रकाश इकाइ सभापति भएपछि दृश्य फेरियो ।’ उनका अनुसार त्यसबेला पनि चुनाव अखिलले जित्यो । तर, चुनावकै दिन विश्वप्रकाशले नेविसंघको कार्यालयमा बोलाएर अबिर लगाएर विजेताहरुलाई शुभकामना दिए ।
‘हामीलाई नेविसंघले आफ्नो कार्यालयमा बोलाएपछि शंका बढेर हामीले वरिपरि आफ्ना केटाहरु परिचालन गरेका थियौं,’ त्यसबेलाको घटना सम्झि,ँदै तत्कालीन अखिलका सदस्य रामचन्द्र तिवारीले भने ‘तर, विश्वप्रकाशले विजेता टोलीलाई अबिर लगाएर शुभकामना दिए । त्यसबेलादेखि क्याम्पसमा दुई संगठनबीच मारमुंग्री बन्द भएको हो । यसको श्रेय उनैलाई दिनुपर्छ ।’
२०४८ मा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी २०५७ मा संघको केन्द्रीय सभापति भए । २०५९ मा सभापतिबाट बिदा लिएपछि झापा काठमाडौं गरिरहे । पार्टीमा लामो समय जिम्मेवारीबिहीन झ,ैं बनाइए ।
कुशल वक्ताका रुपमा देशव्यापी पहिचान बनाएका शर्मा १२ औं महाधिवेशनमा पार्टीको झापा सभापतिमा उम्मेद्वार भए । तर, कृष्णप्रसाद सिटौलासहितका नेताहरु एकातिर , शर्मा एक्लै अर्कातिर भए । उनी पराजित भए । संविधानसभाको दोस्रो र २०७४ को चुनावमा पनि उनी झापा १ मा पराजित भए । पार्टीको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित बनेपछि उनलाई चुनावपछि सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी दिए । ‘काँग्रेसलाई देखिने र सुनिने बनाउँछु’ भन्ने प्रतिबद्धता व्यक्त गरेका उनलाई महाधिवेशन प्रतिनिधिहरुले महामन्त्रीका रुपमा पुरस्कृत गरिदिएका छन् ।
यसपटक पनि पार्टी संस्थापन पक्षबाट महामन्त्रीको उम्मेद्वार बन्ने अन्तिम क्षणमा त्यो समूहमा कृष्णप्रसाद सिटौलाको प्रवेश भयो, जो शर्माका सधैंका अवरोधक भनेर चिनिएका थिए । घरी शेखर कोइराला प्यानलबाट अनि घरी देउवा प्यानलबाट महामन्त्री बन्ने हल्ला चलिरहेका बेला उनको नाम दुवै समूहबाट छुट्यो । उनले एक्लै उम्मेद्वारी दर्ता गराए । र, अन्तिममा प्रकाशमान सिंह समूहमा उनी पुगे ।
‘बलियो समूहमा नपरेका कारण नतिजा जस्तो पनि हुन सक्ने सम्भावना थियो,’, काँग्रेस युवा नेता गोविन्द पोखरेल भन्छन् ‘तर, महाधिवेशन प्रतिनिधिले लगभग स्वतन्त्र झैं उम्मेद्वारी दिएका शर्मालाई जिताएर उनको भूमिकाको कदर गरेका छन् । अब त्यसमा खरो उत्रिने दायित्व शर्माका अघि उपस्थित छ ।’