जोखिमबाट जोगिने चुनौती

 सम्पादकीय

अन्ततः नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमित भेटिएका छन् । गएको सोमबार दुई जना संक्रमितमा ओमिक्रोन भेरियन्ट फेला परेको पुष्टि भएपछि संसारलाई चिन्तामा पारिरहेको नयाँ भेरियन्टले नेपाल प्रवेश पाएको प्रमाणित भएको हो । मंसिर ३ गते नेपाल आएका एक जना विदेशी र उनको सम्पर्कमा आएका अर्का विदेशीमा पनि ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । केही दिन अघिसम्म अफ्रिकी मुलुकहरुमा मात्रै देखिएको कोरोनाको यो नयाँ अवतारले नेपाललाई पनि छोएको घटना चिन्ताजनक छ । यसर्थ सरकारी र नागरिक दुवै तहबाट पर्याप्त सजगताको खाँचो अत्यावश्यक छ । सरकारले स्वास्थ्य सेवा, खोप र सार्वजनिक कडाइमा जोड दिँदा नागरिकले सतर्कता अपनाएर योगदान गर्नुपर्ने खाँचो छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले अहिले संसारको ध्यान तानेको छ । झन्डै दुई वर्षअघि फैलिएको कोरोना महामारी मत्थर हुँदै गएका बेला केही साताअघि दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रोनले संसारभरि फेरि अनिश्चितता ल्याएको छ । यसअघि फैलिएका भेरियन्टबाट ठूलो क्षति व्यहोरेका मुलुकहरूले अहिले ओमिक्रोनलाई निकै चनाखो भएर हेरिरहेका छन् । कतिले विदेशी प्रवेशलाई प्रतिबन्ध गरेका छन् भने देशभित्र पनि भ्याक्सिन लगाउने र स्वास्थ्य मापदण्डमा कडाइ गरिरहेका छन् ।

विज्ञहरुका अनुसार कोरोनाको यो नयाँ भेरियन्ट अघिल्लो लहरकोभन्दा बढी संक्रामक देखिएको छ । अघिल्लो लहरको दाँजोमा यो कति खतरनाक छ भन्ने चाहिँ पुष्टि भइसकेको छैन । यद्यपि अफ्रिकी मुलुकका संक्रमितमा कुनै पनि जटिलता नदेखिएका कारण आत्तिन नपर्ने अपिल विश्व समुदायमा गरिएको छ । जटिल स्थितिमा पुग्ने कि नपुग्ने भन्नेतिर भन्दा पनि नेपाल जस्ता मुलुकहरुले यसको संक्रमण फैलिनै नदिनेतिर बढी जोड दिनुपर्ने खाँचो छ । यसअघिका लहरमा पटक–पटक लकडाउनको मार, मानवीय क्षति र त्यसले निम्त्याएको कहालीलाग्दो आर्थिक–सामाजिक असरलाई सम्झेर पनि सबैले उच्च सकर्तकता अपनाउन जरुरी छ ।

नेपालमा ओमिक्रोन यस्तो बेलामा भित्रिएको छ, जतिबेला नेपालका अधिकांश राजनीतिक दलहरु ठूला सभा र भेलामा केन्द्रीत छन् । महाधिवेशन भर्खरै सकाएका र अब आयोजनाको तयारीमा लागेका दलहरुले देशैभरी भेला तथा सम्मेलनहरुलाई पनि निरन्तरता दिएका छन् । यसबाहेक हाम्रा शैक्षिक संस्थाहरु सुचारु छन् । अन्य जमघटयुक्त गतिविधिहरु पनि चलेकै छन् । यही अवस्थालाई कसरी निरन्तरता दिने र फेरि लकडाउनको मारमा नपर्ने भन्ने प्रश्नको उत्तर हामीले कति स्वास्थ्य सतर्कता देखाउँछौं भन्नेमा निर्भर हुनेछ । यसर्थ नयाँ भेरियन्टको जोखिमबाट जोगिन भौतिक दुरी कायम गर्ने, मास्क तथा फेस सिल्डको उपयोग गर्ने, साबुन पानीले हात धोइरहने, सेनिटाइजरको प्रयोग गर्ने जस्ता सतर्कता जारी राख्नुपर्नेछ । नागरिकले यति सजगता देखाइरहँदा सरकारले खोप अभियानलाई तीव्रता दिने, बुस्टर डोजको प्रबन्ध गर्ने, स्वास्थ्य संस्थाहरुलाई हरदम तयारी अवस्थामा राख्ने कामलाई प्राथमिकतामा राख्नुपर्छ ।

बिहिबार, २३ मंसिर, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर