विराटनगर । १४ औं महाधिवेनमा नेपाली काँग्रेसको सभापति पदमा दाबी पेश गरिरहेका नेता हुन् डा. शेखर कोइराला । तर, आफ्नै पार्टीको विधानबारे उनी बेखबर रहेछन् ।
उनले प्रदेश १ अधिवेशनको क्रममा भएको मतदानका क्रममा यसको प्रमाण दिएका छन् । काँग्रेस विधानमा प्रदेशमा कसले मतदान गर्न पाउने व्यवस्था प्रष्ट उल्लेख हुँदाहुँदै उनले ‘भविष्यमा जटिलता आउने’ भन्दै मतदान गरेनन् । डा. कोइराला आफ्नै दलको विधानको व्यवस्थाबारे बेखबर बन्दाको मार भने युवा नेता गुरुराज घिमिरेलाई परेको छ । घिमिरे प्रदेश सभापति पदमा उद्धव थापासँग दुई मतले पराजित बनेका छन् । यद्यपि मतगणनामा असन्तोष जाहेर गरेर उनले पुनः गणनाको माग गरेका छन् ।
पार्टी विधानको प्रावधान थाहा नपाए झैं गरेर कोइरालाको जस्तै मतदान छल्ने अर्का नेता हुन् महेश आचार्य । पार्टी उपसभापति पदमा दाबी गरिरहेका आचार्यले पनि मतदानमा भाग लिएनन् । नेतृ सुजाता कोइरालाले पनि मतदान गरिनन् । उनीहरुले केन्द्रीय सदस्यले मतदान गर्न पाउने –नपाउने कुराबारे ‘अन्योल रहेको’ दाबी गर्दै मत नहालेका हुन् ।
तर, यसबारे कांग्रेस विधानको १३ औं नम्बरको १ ख मा प्रष्ट उल्लेख छ । सो बुँदामा भनिएको छ ‘सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका सदस्य एक अवधिका लागि प्रदेश अधिवेशनका सदस्य’ हुने उल्लेख छ । ‘प्रदेश अधिवेशनको सदस्य हुनु भनेको मताधिकारसहितको अधिकार हो भन्ने कुरा उनीहरुले बुझेनन् कसरी भन्नु ?’ काँग्रेसका एक नेताले भने ।
यसरी आफ्नै समूहका तीन शीर्ष नेताले मतदान नगर्दा पार्टीको प्रदेश १ सभापति पदमा नेता घिमिरे पराजित भएका छन् । यदि शनिबार विराटनगरमा भएको मतदान कार्यक्रममा डा. शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्य मात्रै सहभागी भइदिएका हुन्थे भने गुरूले चुनाव जित्ने नतिजाले देखाएको छ । झापाका थापाले ८४४ मत प्राप्त गर्दा मोरङका गुरूले भने ८४२ मत पाए ।
प्रदेश १ मा संस्थापन पक्ष र सिटौला पक्षबाट उद्धव थापा र संस्थापन इतरबाट गुरू घिमिरे प्रतिष्पर्धामा थिए । संस्थापन पक्षका नेताहरू उपसभापति विजय गच्छदार, कृष्णप्रसाद सिटौला, अमृत अर्याललगायतले मतदान गर्दा निर्वाचनस्थलमै रहेका शेखर, सुजाता र महेश आचार्यले भने मतदान गरेनन् । कार्यक्रममा उपस्थित नेता बलबहादुर केसी पनि मतदानमा सहभागी भएनन् ।
सिटौला र देउवा पक्ष मिलेर झापामा आफ्नो उम्मेद्वार हराएका कारण संस्थापनसँग रूष्ट बनेका प्रवक्ता विश्वप्रकाश शर्माको पनि गुरूलाई नै समर्थन थियो । तर, शर्मा पनि मतदान गर्न भने विराटनगर आएनन् । उनीहरू सबैले केन्द्रका नेताले प्रदेशमा मतदान नगर्ने भन्दै बसेको कांग्रेस मोरङका एक नेताले बताए ।
‘यसै पनि हाम्रो संख्या कमजोर थियो,’ पौडेल–कोइराला पक्षका ती नेताले भने ‘तै पनि ठूलै अन्तरले गुरूले जित्ने आंकलन गरेर नेताहरू भोट हाल्न गएनन् । अन्ततः दुई मतले हार्नुप¥यो ।’ यही विषयले कोइराला निवासमा सोमबार बिहानैदेखि कार्यकर्ता र नेताबीच चर्काचर्की भएको कांग्रेस स्रोतको भनाइ छ । नेपाली कांग्रेस प्रदेश १ सभापति पदमा घिमिरेलाई उम्मेद्वार बनाउन डा. शेखर कोइरालासहितका नेताहरू जोडतोडले लागेका थिए । प्रदेश १ कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र घिमिरेले दाबी पेश गर्दा राजीवको पक्षमा सुजाता कोइराला र प्रदेश १ संसदीय दलका नेता केदार कार्की मात्रै उभिए ।
शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाललगायतका नेताहरु घिमिरेको पक्षमा उभिएका थिए । प्रदेशका अधिकांश शीर्ष नेता गुरुको पक्षमा उभिएपछि उनले उम्मेद्वारी पाएका थिए ।
आफ्नै उम्मेद्वारलाई शीर्ष नेताले मतदान नगर्दा अन्ततः गुरू पराजित भएको भन्दै कार्यकर्ताले रोष प्रकट गरिरहेका छन । रक्षामन्त्रीसमेत रहेका डा. मिनेन्द्र रिजालले भने मतदानमा सहभागिता जनाएका थिए । ‘गच्छदार, सिटौला सबैले भोट हाल्दा हाम्रा नेताहरु ठूलो मान्छे भएर मतदानमा नआउनु आपत्तिजनक रह्यो,’ कोइराला समूह मोरङका एक नेताले भने, ‘यो एकदमै अराजनीतिक र अपरिपक्व कदम थियो ।’
मतदान हुने दिन शनिबार बिहान महेश आचार्यले आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उपसभापति पदमा उम्मेद्वारी घोषणा गरेका थिए । त्यहीँक्रममा उनी भन्दै थिए, ‘मेरो १० बजे फ्लाइट छ । काठमाडौं जानुछ ।’ उनी १० बजेका लागि काठमाडौं उड्दै गर्दा विराटनगरमा भने दुई बजेतिर मात्रै मतदानको तयारी हुँदै थियो । उनीबाहेक अरू सबै शीर्ष नेताहरु विराटनगरमै थिए । तर, कसैले पनि मतदान नगरिदिँदा घिमिरेले प्रदेश सभापति पदमा दुई मत अन्तरले पराजय व्यहोर्नुपरेको हो ।