अनन्तराज न्यौपाने
बहुुदलीय व्यवस्थाको पुनःस्थापनापछि २०४७ सालमा नेपाली काङ्ग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला देश–दौडाहामा थिए । उसो त, कोइराला एकैठाउँ बसिरहने र साँघुरो कोठाबाट राजनीति सञ्चालन गर्ने खालका नेता थिएनन् । पञ्चायत कालमा २०३७ साल वैशाखमा जनमत सङ्ग्रहका सन्दर्भमा पनि उनी आफ्नो घर विराटनगर वा काठमाडौंमा बढीमा ७ दिनका लागि बस्थे होला । सधैँ जिल्ला भ्रमणमा दौडिरहन्थे । कोइरालाले यो सक्रियतालाई आफ्नो जीवनको अन्त्यसम्म पनि निरन्तरता दिइरहे ।
काङ्ग्रेस र वाममोर्चा मिलेर २०४६ सालमा संयुक्त जनआन्दोलन गरेपछि प्रजातन्त्रको पुनःस्थापना भयो । यसपछि गिरिजा तत्काल देश दौडाहामा निस्किए । यही क्रममा पश्चिम नेपालको एक जिल्लामा कोइरालाले भाषण गर्दा भने, ‘कम्युनिष्टहरू असभ्य हुन्छन् ।’
कोइरालाको यो भाषण भाइरल नै भयो । त्यतिबेला अहिलेको जस्तो सामाजिक सञ्जालको चलन थिएन । हातहातमा मोबाइल थिएनन् । साप्ताहिक पत्रिका पढेर खबर थाहा पाउनुपथ्र्यो । तर, देशका सबैखाले पत्रपत्रिकाले कोइरालाको यो भाषणलाई कपीपेस्ट गरे । तिनताक, कोइरालाको छवि पनि तीव्र कम्युनिष्टविरोधीका रूपमा थियो । भलै, आफ्नो जीवनको अन्तकाल उनले वामपन्थीसित सहकार्य र एकता गरेर खर्चिए ।
यो भाषणपछि कोइराला कम्युनिष्टको आक्रमणको तारो भए । उनी जहाँजहाँ जान्थे, वामपन्थी कार्यकर्ता कालो झन्डा देखाएर उनीमाथि मुर्दावादको नारा लगाउँथे । तर, पनि उनले आफ्नो अडान छाडेनन् । त्यही क्रममा एक भाषणमा उनले भने, ‘माले, मसाले र मण्डले एकै हुन् ।’
यो आलेखको प्रसङ्ग चाहिँ कम्युनिष्टहरू असभ्य हुन्छन् भन्ने कोइरालाको कथनसित जोड्न चाहन्छु । वास्तवमा त्यस समयका वामपन्थी, विशेष गरेर एमालेका कार्यकर्ता अत्यन्त उदण्ड र उच्छृङ्खल थिए । तर, आजसम्म आइपुग्दा के काङ्ग्रेस, के माओवादी, के एमाले, के समाजवादी वा के जसपा सबै एकैखाले भइसकेका छन् ।
तर, मोरङका सवालमा भन्नुपर्दा चाहिँ यहाँ, यहाँका पत्रकारहरूका लागि सबैभन्दा असभ्य र अशिष्ट नेपाली काङ्ग्रेसका कार्यकर्ता भएका छन् । नेपाली काङ्ग्रेस मोरङ अहिले पनि अधिवेशनका चटारेमा छ । एक महिनाअगाडि वडाको अधिवेशनको क्रम सुरु भएको थियो । त्यो अझै जिल्ला तहमा जारी छ । तर, दुःखका साथ भन्नुपर्छ काङ्ग्रेसको यत्रो महापर्वको समाचार सङ्कलन गर्न पत्रकारहरूले ज्यादै दुःख गर्नुपर्यो ।
कहाँ कति मतदाता छन्, कहाँको चुनावको परिणाम कस्तो आइरहेको छ, कुन–कुन ठाउँमा सर्वसम्मति भयो वा हुन सकेन, निर्वाचित हुनेको सिट सङ्ख्या कति हो, त्यसका लागि कतिले उम्मेदवारी दिए ? यस्ता धेरै प्रश्नहरू लिएर पत्रकारहरू कहिले पार्टीको जिल्ला कार्यालयतिर दौडिएको देखिन्थ्यो भने कहिले जिल्ला नेताहरूलाई फोन घुमाइरहेको पाइन्थ्यो । तर, भनेका बेलामा सूचना पाउन कठिन भइरहेको थियो ।
वास्तवमा मोरङ काङ्ग्रेसलाई सूचना संयन्त्रमा सघाउन प्रेस युनियन आबद्ध सञ्चारकर्मीहरू पछि हटेका पनि थिएनन् । काङ्ग्रेसमै सूचना प्रविधिमा दखल भएका सयौँ कार्यकर्ता काम नपाएर बसिरहेका छन् । तिनलाई परिचालन गरेको भएपनि हुन्थ्यो ।
मोरङ काङ्ग्रेसले वडादेखि जिल्लासम्मको अधिवेशन गराउन नियुक्त गरेका निर्वाचन आयोगका कुनैपनि अधिकारी पत्रकारमैत्री थिएनन् । पत्रकारले गरेको फोन उनीहरूले हतपत रेस्पोन्स गरेनन् । सूचना प्रविधिको अहिलेको उन्नत युगमा मोरङ काङ्ग्रेस सूचना प्रवाहबाट भाग्न खोज्यो । समाचारको खेती गरेर हातमुख जोर्ने सञ्चारकर्मीहरू काङ्ग्रेसको भूमिकाबाट दुःखी हुन विवश भए ।
अर्को एउटा गजबको उदाहरण बारम्बार घटित हुनेगर्छ । सबै ठाउँमा जस्तो मोरङमा पनि राजनीतिक दलका भेला, समारोह र कार्यक्रमहरू भइरहने गर्छन् । तर, काङ्ग्रेसले गरेका यस्ता कार्यक्रममा पत्रकारहरूले अत्यन्त दुःखका साथ समाचार सङ्कलन गर्नुपर्छ । कार्यक्रममा कुर्सीहरू राखिएका हुन्छन् । तर, भरसक पत्रकारका लागि ठाउँ छुट्याइएको हुँदैन । पत्रकारका लागि केही कुर्सी छुट्याइएको छ भने पनि त्यहाँ पत्रकार बसेको हुँदैन । पार्टी कार्यकर्ता गजक्क परेर बसेको हुन्छ । पत्रकारहरू आउँछन्, आफ्ना कुर्सीमा कुनै गण्यमान्य काङ्ग्रेसी बसेको देख्छन् र शिष्टतापूर्वक त्यहाँबाट बाहिरिन्छन् । असभ्यताका साथ पत्रकारका कुर्सीमा बसेका ती स्वनामधन्य काङ्ग्रेसीलाई पत्रकारका आँखामा आँखा जुधाउँदा कुनै लज्जाबोध हुँदैन । बरु गर्वले फुलेल देखिन्छन् । वीरेन्द्र सभागृहका धेरै काङ्ग्रेसी कार्यक्रममा पत्रकारहरूले बाहिर चौरीमा बसेर वा पूर्वको ढोकामा उभिएर भाषण नोट गर्नुपरेको छ ।
यसका विपरीत एमाले, नेकपा समाजवादी र माओवादीका कार्यक्रममा भने कुनै पत्रकार आउनासाथ ती पार्टीका कार्यकर्ता आफू कुर्सीबाट उठेर बस्न दिन्छन् । पत्रकारका लागि छुट्याइएका कुर्सीमा पार्टी कार्यकर्ता बस्तैनन् । भर्खरै मात्र पाञ्चाली कार्यालयमा ओली आउँदा वा विष्णुमाया पुस्तकालयमा माधव नेपाल आउँदा, त्यहाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताले अत्यन्त सम्मानका साथ आफू उभिएर भएपनि पत्रकारलाई बस्न दिए । त्यसैले म दिवङ्गत गिरिजाबाबुलाई यतिबेला सोध्न चाहन्छु, मोरङका सवालमा काङ्ग्रेसजन असभ्य कि कम्युनिष्ट असभ्य ?