दश विद्यार्थी पढाउन ३ शिक्षक भएको विद्यालयको दुर्दशा

विराटनगर । विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ । तीन जना शिक्षक छन् । विद्यार्थी चाँही जम्मा १० जना मात्र छन् । कक्षा कोठा अँध्यारो, असरल्ल फोहोर गोदाम जस्तो छ ।

चिसो सिमेन्टको भुईमा साधुरो पातलो कार्पेट ओद्दयाएर बालमैत्री कक्षामा पढ्छन्, विद्यार्थी । कक्षा कोठामा परेवाको गुँडैगुड छ । दिनभरि कोठैभित्र उड्छन्, परेवाहरु । शौचालयको दुर्गन्ध खपिसक्नु छैन । बाटैसम्म ह्रवास्सै आउँछ ।

यो दृश्य कुनै दुर्गम ठाउँको हैन । बरु अति सुगम जिल्ला मोरङको कानेपोखरी गाउँपालिका ४ मा रहेको थानेश्वर आधारभुत विद्यायको हो । दश कठ्ठा जग्गाको प्राङ्गण भएको र कम्पाउण्ड वालले घेरेको पक्की भवन पनि रहेको विद्यालयको शैक्षिक अवस्था भने भद्रगोल छ । विद्यालयको शैक्षिक बातावरण सुधार्न प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिले पटक्कै चासो दिएको छैन ।

जम्मा रहेका १० जना विद्यार्थीहरु पनि सबै स्कूल आउदैनन् । शैक्षिक अवस्था वालमैत्री नभएकोले शिक्षकहरु पनि उनीहरुलाई पढाउन चासो दिदैनन् । विद्यालय लागिसक्दा छुट्टी भैसक्छ ।

विद्यालयको कार्यालय पनि अस्तव्यस्त छ । कक्षाकोठमा पुराना भाँचिएका फर्निचर खाँदेर राखिएको छ । कक्षामा पढाउन व्लाकबोर्डसमेत छैन । पालिकाले एउटा कम्युटर दिएकोमा प्रधानअध्यापक मीना खड्काले आफ्नै घरमा लगेकी छन् । बिजुली नभएको र चोरी हुने डरले कार्यालयमा नराखी घरमा लगेको उनी बताउँछिन् ।

अनुमगनमा जानेहरुलाई प्रअ खड्का विद्यालयमा २५ जना विद्यार्थी भर्ना भएको तर धान काट्ने सिजन भएकोले सबै जना नआएको विवरण बताउँछिन् । स्थानीय युवा हरि अधिकारीका अनुसार पहिले थानेश्वर विद्यालय यस्तो लथालिङ्ग थिएन । तीन सय बढी विद्यार्थीहरु पढ्ने गर्दथे । तर, शिक्षकहरुले पढाईमा चासो दिन छाडेपछि र नीजि विद्यालयहरुको प्रभाव फैलिएपछि विद्यार्थीहरु भर्ना हुनै छाडे । पढाई राम्रो हुदैन भन्दै वरपरका अभिभावकले ऋणै काढेर भएपनि छोराछोरी नीजि विद्यालयमा पढाउन थालेका छन् ।

कानेपोखरी गाउँपालिका शिक्षा शाखाका सहायक रमेश काफ्लेले विद्यालयको नेतृत्वले परिवर्तन नचाहँदा स्कूलको शैक्षिक अवस्था बिग्रिएको बताए । उनका अनुसार प्रअका श्रीमान पनि विद्यालयका शिक्षक हुन् । उनी राजनीतिमा पडक राख्ने भएकोले चाहेर पनि प्रअलाई अन्यत्र सरुवा गर्न गाउँपालिकाले सकेको छैन ।

स्थानीयवासी तथा राष्ट्रिय शिक्षा अभियानका सदस्य श्रीमन्त भट्टराईले विद्यालयको नेतृत्व परिवर्तन गरेमा थानेश्वर विद्यालयमा सुधार आउनसक्ने बताए । भर्खरै ताप्लेजुङबाट सरुवा लिएर आएकी शिक्षिका विमला चोङबाङ विद्यालय सुधार्न सकिन्छ र सुधार्नुपर्छ भन्ने चाहिन्छन् । तर, प्रअ र व्यावस्थापन समिति अध्यक्ष कमला बस्नेतको कानमा तातो नलागेको स्थानीयको भनाइ छ ।

उनीहरुले पुरानो ऐतिहासिक स्कूल भन्दै अन्यत्र मर्ज गर्न पनि नदिएको गाउँपालिकाले जनाएको छ । सामुदायिक विद्यालय सुधार अभियान सञ्चालन गरिरहेका अभियानकर्मी श्रीमन्त भट्टराईले भने, ‘अरु धेरै ठाउँको विद्यालय सुधार गर्दै हिँडियो । तर, आफ्नै गाउँको विद्यालयको शैक्षिक अवस्था कन्तबिजोग नै रहेछ ।’ अब त्यसलाई सुधारका लागि चासो दिने उनले बताए ।

शुक्रबार, ०३ मंसिर, २०७८, बिहानको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर