कुमार लुइँटेल
हैन ! यो झुत्ता–झुत्ता झुन्डिएको जरे सिमी हो ? कस्तो रहरलाग्दो गरी फलेको । ‘होइन, कहाँ जरेसिमी हुनु नी ! भटमास हो यो’ छिमेकी दाईको जिज्ञासा मेटिदिएँ । विराटनगरमा पनि यस्तो मजाले भटमास फल्दो रहेछ, उहाँले थप्नुभयो । ‘पाँच वर्ष भयो हामीले करेसाबारीमै फलाईरहेका छौं । हरियो कोसा उसिनेर र पाकेपछि चुटेर दाना भुटेर खान मिल्छ,’ मैले भने । काइदा रहेछ अब म पनि ट्राई गर्छु, दाईले कुराकानीको बिट मार्नुभयो ।
खासमा बर्खा शुरु हुँदै गर्दा यो पटक पनि आमाले हरेक वर्ष झैं करेसाबारीको अलि उचा र बलुौटे भागमा भटमासको दाना रोप्नुभएको थियो । असोज दोस्रो साता लाग्दा नलाग्दै भटमासको कोसा उसिनेर खानयोग्य भईसकेका थिए । कात्तिक दोस्रो साता त कोसा पंहेलो भई बोटमै पाकेर छोडाएर सुकाउने बेला भईसकेको थियो । हरियामा भटमास कोसा उसिनेर पनि खान मिल्छ । नुन छर्केर उसिन्दा झन् स्वादिलो हुन्छ । लगभग दोस्रो र असोज तेस्रो सातादेखि नै धनकुटा र अन्य पहाडी क्षेत्रबाट भटमासको कोसा विराटनगर झार्न थालिन्छ । तर, अलि महंगोमा खरिद गर्नुपर्छ । त्यसबेला गुदरी बजारमा पनि हरियो कोसा किन्न पाइन्छ । तर, हामी विगत २–४ वर्षयता करेसाबारीकै खाईरहेका छौं ।
यो पटक बारी डुबान भएको छेउका केही बोट सेतो ढुसी लागेर सुके । कोसा (फल) चाउरी परे । तर, उचा भागका बोटबाट भने राम्रै उत्पादन मिल्यो । कोसा उसिनेर खाई बचेका बोटबाट चार कुरुवा जति दाना निस्कियो । यसलाई अब मकैसँग एक दुई मुठी भुटेर खान सकिन्छ । तोरीको गुन्द्रुकको झोल खान परे तेलमा भटमास फुराएर हाल्दा झन् स्वादिलो हुन्छ । भटमासमा धेरै प्रोटिन पाइन्छ । सकाहारीका लागि भटमासको अझ धेरै महत्व छ । भटमास मात्र होइन । सहरभित्रै घर वरिपरिको सानो क्षेत्रमा परिवारलाई पुग्नेगरी तरकारी लगाउन सकिने रहेछ । जमिनको क्षेत्रफल कम हुनेले छतमै पनि कौसी खेती गर्न सकिन्छ । यद्यपि विराटनगरमा गनेचुनेका केही मानिसबाहेकले कौसीखेती गरेको पाइन्न । यसको खास कारण हो, यहाँ सहज रुपमा र सस्तो रुपमा उपलब्ध हुने तरकारी नै हो ।
सुनसरीको देवानगंज, कटहरी र भारतको जोगबनीतिरबाट दैनिक ठूलो परिमाणमा तरकारी आउनु र सजिलै खरिद गर्न पाइनु । फेरि अन्यत्रका सहरभन्दा यहाँ तरकारी सस्तो हुुनेगर्छ । करेसाबारी र कौसीखेतीतर्फ यहाँ त्यति धेरै आकर्षण देखिदैन । तर, आफैले फलाउनु र हाटबजारमा खरिद गर्नुमा भने अलिकति फरक पर्ने रहेछ ।
आफैले फलाएका टमाटर, खोर्सानी, बोडी, कांक्रा अनि गाँजर धाराको पानीले एक पटक पखालेर सोझै चपाउन कुनै हिच्किचाहट हुँदैन । तर, बाहिरबाट खरिद गरी ल्याएका यिनै चिजबिज पखालेरै सोझै मुखमा हाल्न सोच्नैपर्छ । ‘कहाँ उत्पादन गरेको होला ? कति विषादी हाले होलान् ? पक्कै धेरै राशायनिक मल पनि लगाएको होला !’ मनमा यस्तैयस्तै आशंका उब्जिरहन्छ । पकाएर खाँदा पनि मनमा अनेकन शंका भईरहन्छ ।
तर, घरमा भने पूर्णत अर्गानिक ढंगले उत्पादन गर्न सकिने रहेछ । विगत पाँच वर्षदेखि करेसाबारीमा मौसमी तरकारी लगाउँदा बाहिरबाट खरिद गर्नुपर्ने बाध्यता ८० प्रतिशत घटेको छ । आलु प्याजबाहेक धेरै किन्नु परेको छैन । यस्ता सागसब्जी गमला र प्लाष्टिककै थैलीमासमेत फल्ने रहेछन् । तर, थोरै समय र मेहनत भने चाहिने । साँझ बिहान एक घण्टा करेसाबारीलाई छुट्याए शारीरिक व्यायाम र अर्गानिक उत्पादन एकसाथ पाइने । बारीका पातपंतिगर र भान्छाबाट निस्कने तरकारीका बोक्राछिल्काबाट मनग्गै अर्गानिक मल बनाउन सकिन्छ । बजारमै पनि यस्तो मल खरिद गर्न पाइन्छ ।
खासमा अहिले कृषिका आधुनिक विधिबारे जानकारी लिन सामाजिक सञ्जाल र अनलाइनहरुमा उपलब्ध सामग्री नै पर्याप्त छन् । विशेषज्ञहरुको राय अनि सरसल्लाह पनि सजिलै गरी पढ्न, हेर्न र सुन्न पाइन्छ । त्यसैले पनि परम्परागत विधिमा थोरै आधुनिक प्रविधि मिसाएर फुर्सद निकालेर बारी वा घरको छतमा मेहनत गर्ने हो भने अर्गानिक तरकारी उत्पादन गर्न सकिन्छ । यति भए आफू, आफ्ना सन्तान र परिवारले विषसहितका तरकारी खानुपर्ने बाध्यताबाट मुक्ति मिल्नेछ ।